विराटनगरः मोरङको विराटनगरबाट ठूलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर–१५ का ३८ वर्षीय मुन्ना भन्ने सत्यजीत साह, ३८ वर्षीय बैजनाथ साह र विराटनगर–१७ का ४२ वर्षीय जगदीश साह रहेका छन् ।
पक्राउ परेका तीनै जनाले युएइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको विशेष सूचना पाइएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई १३ गते राति पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको साथबाट नगद ६० हजार रुपैंयाँ, १ थान ल्याप्टप, ३ थान मोबाइल र एकथान मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरूले अनलाइनबाट कुन टिमको हारजीत हुन्छ भनी बाजी मार्नका लागि रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका तीनैजना उपर कानुनी कारबाही अगाडि बढाइएको सो कार्यालयले जनाएको छ ।