Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मिडियामा किशोरी र महिलाको पहुँच

हाम्रो कोशी आवाज
असोज २४ २०७७, शनिबार
मिडियामा किशोरी र महिलाको पहुँच

मिडियाले भूमिका खेलिदिए समाज बदलिन्छ । भनौं मिडिया महत्वपूर्ण छ । जसले हाम्रा समाजमा भएका विकृति, विसङ्गति चिरेर अघि बढिदिन्छ । अहिले मिडिया क्षेत्रमा किशोरी र महिलाको उपस्थिति नै कम हुने गरेको मैले पाएको छु । रेडियोमा सुन्छु, टेलिभिजनमा हेर्छु, पत्रपत्रिकाबारे बुझ्छु तर त्यहाँ महिलाको सहभागिता कम हुने गरेको छ ।
हाम्रो नगरपालिकामा पनि मैले देखेको छु, मिडियामा महिलाको संख्या कम नै छ । यदि किशोरीलाई सानैदेखि मिडियामा पहुँच पुरयाउन वा ल्याउन तालिम दिनेजस्ता अन्य कुरा गर्न सकिन्छ । मिडियामा किशोरी र महिलाको सहभागिता बढी रहने हो भने महिला हिंसाका घटना (हत्या, बलात्कार, यौन दुरव्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष खुवाउने, एसिड खन्याएर कुरूप बनाउने, आत्महत्या गर्न बाध्य पारिने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, सम्मान नगरिने खालका शब्द प्रयोग गरिने) कम हुन सक्छन् भन्ने मेरो धारणा हो ।
अहिले हेर्ने हो भने पुरुषको तुलनामा किशोरी र महिला सोसल मिडियामै पनि कमै उपस्थिति हुन्छन् । सोसल मिडिया प्रयोगकर्ताले नकारात्मक कार्य गरिरहे पनि धेरैजसो सकारात्मक काम पनि गरिरहेको हामीले महसुसस गरेका छौं । अहिले किशोरीलाई विभिन्न किसिमका जोखिमहरु छन् । लागूऔषध दुव्यसनमा लाग्ने, यौन दुव्यवहार, छाउपडी, बालविवाह, बेचबिखन, बलात्कार जस्ता भयावह रुप लिने खालका जोखिम भएपनि अहिले सोसल मिडियाको प्रयोग गरेर धेरै किशोरकिशोरी र महिलाले आफ्नो प्रतिभा उजागर गरेका छन् । सोसल मिडिया (फेसबुक, इन्ट्राग्राम, टिकटक आदि) मा महिलाको उपस्थिति बढ्दै जाँदा उनीहरूमा लुकेर रहेको प्रतिभा बाहिर निस्किरहेका छन्, यो खुशीको कुरा हो ।
मैले देखेको र बुझेको भन्नुपर्छ अझै पनि कक्षा–७ देखि नै सोसल मिडियाको पहुँचमा रहने पुरुषका अगाडि महिलालाई चलाउन हुँदैन भनिन्छ । अहिले कक्षा–७ मै पढ्ने बालबालिका किन नहोस् उसले पनि सामाजिक सञ्जाललाई सही तरिकाले प्रयोग गर्दै आफ्नो प्रतिभा उजागर गर्ने काम गरिरहेका छन् । हो, यो पढ्ने बेला मोबाइलमा सामाजिक सञ्जालको लतले पढाइतर्फ ध्यान जाँदैन भनिन्छ तर विद्यालय र घरबाट राम्रो शिक्षा पाउने हो भने १० कक्षाबाट पुरुष र महिलाले मोबाइल चलाएर आफ्नो केही प्रतिभालाई सोसल मिडियामार्फत् बाहिर ल्याउन सक्छन् ।
वास्तवमा किशोरी भनेको बाल्यावस्थाबाट वयस्क अवस्थातर्फ बढ्दै गरेको तर युवा नभइसकेको अवस्था हो । किशोरावस्था मानिसको जीवनको महत्वपूर्ण अवस्था हो । यो अवस्थामा उनीहरुले प्राप्त गर्ने माया, सहयोग, संस्कार, शिक्षा आदिले उनीहरुको भविष्यको आधार तय गर्दछ । त्यसैले उचित शिक्षा दिनु आजको आवश्यकता हो ।
मिडियामा महिला र पुरुषको उत्तिकै सहभागिता आजको आवश्यकता हो । गाउँघरतिर मिडियामा महिलाको सहभागिता कम रहेको पाइन्छ । सहरी क्षेत्रमा महिला पत्रकारको उपस्थिति तुलनात्मक रूपमा बढ्दै गएपनि महिलाका विषय भने अझै प्राथमिकतामा पर्न सकेको हामीले महसुस गरेका छौं । किशोरी उमेरमै किशोरीलाई मिडियासम्बन्धी शिक्षा दिने हो भने उनीहरूको चेतनास्तर माथि उठ्न सक्छ । भनौं किशोरी र महिलाको मिडियामा सहभागिता बढ्दै जाने हो भने त्यतिबेला महिला आफैं लड्न सक्छन् । चेतनास्तर माथि उठेपछि उनीहरू आफू र किशोरीका घटना र आवाजलाई बुलन्द पार्न सक्छन् ।
महिला हिंसाका घटना कम गराउन पनि किशोरी र महिलाको मिडियामा पहुँच हुन आवश्यकता । मिडियामा किशोरी र महिलाको पहुँच बढाउन स्थानीय सरकारले तालिम साथै उचित बजेट व्यवस्थापन गर्नुपर्छ ।
(‘विश्व किशोरी दिवस’को अवसरमा शुक्रबार हाम्रो कोशी आवाज डटकम र प्लान इन्टरनेशनल नेपालले आयोजना गरेको ‘गल्स टेक ओभर’ अनलाइन कार्यक्रममा मनिषा रसाइलीले ‘एक्टिङ इडिटर’को जिम्मेवारी निर्वाह गर्दै प्रकाशित लेख)

प्रकाशित मिति: असोज २४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend