Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नियात्राः सोहो, हाइगेट र कार्ल मार्क्सका ती ठाउँ

हाम्रो कोशी आवाज
कार्तिक २ २०७७, आइतबार
नियात्राः सोहो, हाइगेट र कार्ल मार्क्सका ती ठाउँ

जनवरी ९, १८६३ मा विश्वको पहिलो सुरुङमार्ग लण्डनमा उद्घाटन भएको दिन ३० हजार मानिसहरुले मार्क ब्रनेलको प्रशंसा गर्दै भूमिगत रेलद्वारा यात्रा गरेका थिएँ ।
त्यसको १ सय ५० वर्षपछि हामी तिनै भूमिगत रेलमार्ग हुँदै जनवरी २०१३ मा लेस्टर स्क्वायर स्टेसन पुगेका थियौं । त्यहाँ पुगेर स्टेसनको सिँढीमा टेक्दै गर्दा हाम्रा पाइतालाहरूले निकालेका टकटक आवाज सँगसँगै हामी बाहिर सडकमा निस्केका थियौं । तर सडकमा निस्किनेबित्तिकै आएको तातोतातो डिमसमको बासनाले हाम्रो नाकलाई एकछिन अलमल्याइरह्यो । हल्का भोक लागिरहेको समयमा त्यति मिठो डिमसमको सुगन्धले मेरो नाकलाई आकर्षण मात्र गरेको थिएन जाबो त्यति छोटो मेरो नाकको डण्डी नै झण्डै भाँचिएको थियो ।
डिमसमको बासना जुन दिशाबाट आइरहेको थियो । त्यसैलाई निशाना बनाएर लुखुरलुखुर हामी त्यसतर्फ अगाडि बढ्न थाल्यौं । हुन त त्यसबेला हामी लण्डनको प्रख्यात ‘सोहो’ क्षेत्रको चाइना टाउन नजिकै पुगिसकेका थियौं अनि सोहो, लण्डनमा पुगेर फटाफट चालिएका हाम्रा कदमहरूले ‘लिटल न्यू पोर्ट स्ट्रिट’ मा ड्याम्मै लगेर ठोक्काएको थियो । त्यसपछि आँखा चिम्लेर त्यति मिठो बासना आउँदै गरेको स्थान ‘जेराड स्ट्रिट’ भित्र छिरेका थियौं ।
जेराड सडकमा पुगेपछि सडकका दायाँबायाँ अनगिन्ती चाइनिज भोजनालयहरू देखापरेका थिएँ । सबै भोजनालयहरूलाई छाडेर हाम्रो सिधै अगाडि परेका ‘गोल्डन ड्रागन’ लाई ताराले स्वदिष्ट भोजनको लागि ‘एक नम्बर’ भन्दै त्यसैलाई छानिन् किनभने त्यसको बाहिरपट्टि क्यान्टोनिज र पेकिङनिज मात्र नभएर डिमसमको वैशिष्ट्य आहाराहरू पनि मिल्दछ भन्ने विज्ञापन टाँसिएका थिएँ । हामीले त्यसबेला बेलायतमा ‘महिलाहरूको अगाडि पुरुषको अधिकार मर्छ,’ भन्ने कुरोलाई ‘चाइना टाउन, लण्डन’ पुगेर एकपटक पुनः चरितार्थ गरेका थियौं ।
त्यसपछि, म सरासर हिँड्दै गोल्डन ड्रागनको ढोकानजिक पुगें । र, ढोकालाई कस्सेर घचेटेर घन्द्रङ्गै खोले । ढोका खोलेर भित्र पस्ने बित्तिकै भुलभुल उम्लिरहेको गोरुको आन्द्राभुँडी देखेर मेरो मुखमा सरर पानीको भेल छुट्न थाल्यो । जाबो ‘कुन्ताकी बुहारी, भटमास खाकी’ भन्दै बेसरम जिब्रोलाई मनमनै एकचोटी गाली गरिहेरें तर मेरो मनभित्रको त्यस्तो आवेगलाई ताराले केही चाल पाउन सकिनन् ।
भोजनालय भित्रपस्ने बित्तिकै, एकजना बेयरा हाम्रो अगाडि ठिङ्गै उभिरहेकी हामीले देख्यौं । उनीसँग मेरो आँखा जुध्ने बित्तिकै, ‘जी वेई ?’ भनेर मलाई प्रश्न गरिहालिन् । मैले प्रतिउत्तर दिने क्रममा ‘लियाङ ग रन,’ भनेर छोटो उत्तर फर्काइदिएँ । त्यति भनेपछि देब्रेहातले त्यतातिर जानोस् भन्दै कुनापट्टिको एउटा सानो टेबलतिर देखाइदिइन् किनभने उनको दाहिने हातमा केही मेनुहरू थियो ।

बेयराले भने बमोजिम म सरासर त्यसतर्फ लागें । तर ‘चाइनिजहरूको अशिष्ट व्यवहारलाई चाहिँ मान्नैपर्छ,’ भन्दै तारा केहीबेर भुनभुन गर्दै मेरो पछिपछि आइन् । निकै लामो समयपछि उनले मुख खोलेपनि मैले केही वास्ता गरेको थिइनँ किनभने ढोकादेखि भित्र पस्दै गर्दा देखिएको गोरुको आन्द्राभुँडीको स्वाद मेरो जिब्रोमा अघि नै परिसकेको थियो अनि कुर्सीमा बस्दै गर्दा उनले एक झलक हातेघडीमा यसो समय हेरिन् ।
‘ए खाना खाने समय त भइसकेको रहेछ ?’ मतिर फर्केर सुस्तरी उनी बोलिन् ।
हामीले गोल्डन ड्रागन, चाइना टाउनमा डिमसमदेखि सुरुगरेर तातोतातो गोरुको आन्द्राभुँडीसम्म खायौं । त्यसपछि सुस्तरी बाहिर निस्केर सडकको पेटी माथि माथि हिँड्न थाल्यौं । सबैभन्दा पहिले साफ्टस्बुरी एभेन्युलाई पार गरेर डिन स्ट्रिटभित्र छिरयौं । अनि सरासर ‘२८ डिन स्ट्रिट’ को सिधै अगाडि पुगेर त्यहीँ बाहिर खडा भइरह्यौं ।
५ मे १८१८ मा ट्रियर पर्सिया (हालको जर्मनी) मा जन्मेका कार्ल हेनरिक माक्र्स र धर्मपत्नी जेनी फन वेस्टफान पाँच वर्षसम्म तिनै घरमा बसेका थिए । उनीहरू त्यस घरमा बस्नुभन्दा अगाडि त्यो घर वेश्यावृतिको लागि प्रयोग भएका थियो । त्यस घरको मर्मत–सम्भार भएपछि उनीहरू त्यहाँ सरेका थिए । त्यस ठाउँमा अहिलेसम्म पनि निलो रङ्गको फलामे पातामा १८५१ देखि १८५६ सम्म कार्ल माक्र्स बसेका थिएँ भनेर ‘ब्लु प्लेग’ टाँसिएको थियो ।
ताराले तिनै ब्लु प्लेगलाई देखेपछि, ‘खै फोटो खिच्ने होइन ?’ भन्दै मलाई कोट्याउँदै सोधिन् ।
‘अहँ नखिच्ने’ टाउको उनीतिर फर्काएर क्षुद्र जवाफ दिएँ ।
किनभने त्यसघरको वरिपरि थुप्रै अन्य मानिसहरू हिँडिरहेका देखिन्थे । यदि उनीहरूको अगाडि हामीले तस्वीर लियौं भने प्रजातन्त्रको जननी राष्ट्रमा बसेर साम्यवादी व्यवस्थामा पिता बसेका घरमा तस्वीर लिन लागेको देख्छन् भनेर मैले हल्का अफ्ठ्यारो महसुस गरिरहेको थिएँ ।
डिन स्ट्रिट, सोहोको त्यसदिन जनवरीको जाडो महिना थियो । अझै थेम्स नदीदेखि लगातार उडेको पानीको बाफले लण्डनको आकाश कालो र मैलो देखिरहेको थियो । बिहानैदेखि मडारिरहेका त्यस्तो कालो बादलदेखि भर्खरै पानी चुहिएलाझैं भइरहेका थिए । त्यस्तो नराम्रो मौसमको बाबजुद पनि मैले डिन स्ट्रिटमा उभिएर त्यो घरको इतिहासलाई निक्कै लामो समयसम्म सोचिरहें ।
सन् १८४३ मा जेना युनिभर्सिटी जर्मनीबाट विधावारिधी गर्न पहिले बन र बर्लिन युनिभर्सिटीमा कानुन अध्ययन गरेका माक्र्सले त्यसैवर्ष आफूभन्दा चार वर्ष जेठी जेनीलाई बिहे गरेका थिए । उत्पीडित वर्गको आमूल परिवर्तनका पक्षपाती माक्र्सलाई पर्सियन सरकारले देश निकाला गरेपछि श्रीमतीसँग उनी पेरिस पुगेका थिएँ । फ्रेन्च सरकारसँग मिलेर पेरिसबाट पनि पर्सियनहरूले खेदो गरेपछि जीवन जोगाउँदै ब्रसेल्समा पुगेका थिएँ । त्यहाँ दुई वर्ष समय बिताउँदा पटक–पटक लण्डन आएर एङ्गेल्ससँग मिलेर १८४८ मा ‘कम्युनिष्ट घोषणापत्र’ निकालेका थिएँ ।

ब्रसेल्समा पनि बस्न नसकेपछि सन् १८४९ मा माक्र्स र जेनी सधैं सधैंका लागि लण्डन सरेका थिएँ । उनीहरू लण्डनमा सर्ने वित्तिकै दुई वर्ष जति चेल्सीमा जिन्दगी बिताएर त्यसपछि ‘२८ डिन स्ट्रिट’ सरेका हुन् । तर उनीहरु जहाँजहाँ जान्थे आफ्नो धाइआमा हेलेन डेमुथलाई पनि सँगसँगै लगिरहेका हुन्थे । माक्र्स डिन स्ट्रिटको यिनै घरमा सरेपछि ‘श्रमिकहरूको धर्मग्रन्थ’ दास क्यापिटल लेख्न शुरु गरेका थिए । उनले त्यो पुस्तकको पहिलो अध्यायलाई त्यहाँनजिकै रहेको ब्रिटिस सङ्ग्राहलयको पढ्ने कोठाको ‘जी ७’ कुर्सीमा बसेर घण्टौंसम्म लेखेका थिए ।
माक्र्स डिन स्ट्रिटमा सरेको त्यो वर्ष एउटा एकदम नराम्रो घटना घट्यो । एकाघरमा बसेकी तर विवाह नगरेकी धाइआमा हेलेन डेमुथ अचानक गर्भवती भइन् । उनी गर्भवती बनेपछि अब के गर्ने होला, भनेर माक्र्स चिन्ताको भुँमरीमा डुब्न थाले । एक बेलुकी नजिकै रहेको ‘रेड लाइन’ भट्टी पसलमा माक्र्स र एङ्गेल्स जाँड पिइरहेका थिएँ । त्यही समयमा हेलेन गर्भवती भएकी कुरो माक्र्सले आफ्नो प्रिय मित्रलाई बहुत दुःखी हुँदै सुनाएका थिए अनि आफ्नो प्यारी पत्नी जेनीको जिन्दगीको उसले एङ्गेल्ससँग भीख पनि मागे । यदि हेलेन गर्भवती भएकी कुरो जेनीले चाल पाइन् भने उनले आत्महत्याबाहेक अरु केही गर्ने छैनन् भनेर माक्र्सले बैराग्य हुँदै विलय पोखेका थिए ।
माक्र्सको कुरो सुनेर एङ्गेल्स धीर सोचाइमा परिरहे । एङ्गेल्सलाई त्यो कुराले ‘नखाऊ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’ झै भइरह्यो किनभने उनीहरू दुवैजना मिलेर पहिले त्यही भट्टी पसलको कुनामा बसेर ‘कम्युनिष्ट घोषणापत्र’ को दस्तावेज तयार पारेका थिए तर त्यसदिन एङ्गेल्स भट्टी पसलको कुनापट्टि बसिरहेका भएतापनि ठूलो छाङ्गाबाट बल्डङ्गै खसेझैं महसुस गरे ।
‘आ…ठीकै छ कुनै समस्या छैन’ भन्दै एङ्गेल्सले माक्र्सप्रति सहानुभूति प्रकट गरे । त्यसपछि एङ्गेल्सले हेलेनलाई भेटेर बच्चाको बाबु म हुनेछुसम्म भनिदिएँ । तर उसको अन्तिम नाम चाहिँ तपाईको नाम ‘डेमुथ’ नै राख्नुपर्छ, भनेर सल्लाह पनि दिए । हेलेन माक्र्सको श्रीमती जेनीलाई अति धेरै माया गर्दथिन् र विगत १० वर्षदेखि सँगसँगै बस्दै आएकी थिइन् । त्यसैले एङ्गेल्सको भनाइलाई उनले टाउको हल्लाएर स्वीकारोक्ति जनाएकी थिइन् । नभन्दै २३ जुन १८५१ मा हेलेनले सुन्दर छोरोको जन्म दिइन् र उसको नाम फ्रेडरिक एङ्गेल्सको सल्लाहबमोजिम ‘फ्रेडरिक डेमुथ’ नै राखिदिइन् तर त्यो सबै गुप्तीकुरो केवल माक्र्स, एङ्गेल्स र हेलेन बाहेक अरु कसैलाई थाहा थिएन ।
म त्यतिबेलासम्म डिन स्ट्रिटमा एकाछेउमा उभिएर हेलेन डेमुथको त्यो बाध्यात्मक परिस्थितिलाई सोचिरहेका थिएँ । २० औं शताब्दीको ‘जिसस क्राइष्ट’ भनेर चिनिने माक्र्सको त्यस कार्यप्रति मलाई थोरै हिनताबोध भइरहेको थियो । आफ्नै घरको धाई आमासँग राखेको अनैतिक शारीरिक सम्पर्कबाट जन्मेको बच्चाको विषयमा ब्रिस्टल युनिभर्सिटीका कानुन तथा दर्शनका प्राध्यापक टेरेल कार्टरले भनेका त्यो कुरा मैले तिनै कुनामा उभिएर झलझली याद गरिरहे । त्यस्तो दुखान्त इतिहासलाई मनन गरिरहँदा डिन स्ट्रिटमा अचानक फिसफिस्से पानी पर्न थालेको थियो । प्राध्यापक कार्टरले हेलेन डेमुथका छोरा फ्रेडरिक डेमुथका जैविक पिता चाहिँ कार्ल माक्र्स नै हुन् है, भनेर निचोड निकालेका त्यतिबेला झलझली सम्झिरहे ।

‘पुरुष आफ्नो भाग्य नियन्त्रण गर्दैन, महिलाको आफ्नो गुणद्वारा भाग्य निर्माण गरिदिन्छ’ भन्ने विचारका धनी माक्र्सले जेनीलाई मात्रै होइन, फ्रेड्डिलाई चाहिँ निक्कै ठुलै अन्याय गरेको जस्तो मलाई किन किन लागिरह्यो । तर अझै अचम्म चाहिँ के भएको थियो भने फ्रेड्डिले आफ्नो पिताको हुन् भनेर आफ्नो जिन्दगीभरि पत्ता लगाउन नपाउनु साह्रै ठूलो अन्याय हो ।’ भनेर माक्र्सका छोरी जेनी एलनोइरले भनेकी कुरोले म झनझन सोचाइमा परिरहेको थिएँ ।
‘होइन, तपाई पनि सानोखाले कार्ल माक्र्स नै हुन् आँटनुभयो कि के हो ?’
एकाध मनस्थति बनाएर सडकको कुनामा उभिरहेको समयमा ताराको उटफट्याङ प्रश्नले मेरो देब्रे छातीमा धनुषवाण प्रहार गरेझैं भयो । त्यसपछि, केही नबोली मैले आफ्ना कदमहरू सरासर अगाडि बढाउन शुरु गरेको थिएँ । म हिँडेपछि तारा पनि लुखुरलुखुर मेरो पछिपछि आउन शुरु गरिन् । हामी त्यहाँबाट यसो बायाँ लाग्यौं र ‘चमेरा मार्ग’ भित्र पस्यौं अनि केहीबेर सिधैं सिधैं अगाडि हिँडिरह्यौं । र, केही समयपछि ‘टोटनहाम कोर्ट’ ट्युब स्टेसन पुगेका थियौं ।
हामी त्यहाँ पुग्दा ग्रिनविचको समय दिउँसोको साँढे दुई बजिसकेको थियो । स्टेसनभित्र पस्नेबित्तिकै आएको पहिलो भूमिगत रेललाई हामीले समातिहाल्यौं । लण्डनको हरेक बिहानी र बेलुकीझैं दिउँसोको समयमा रेल त्यति ब्यस्त देखिएका थिएनन् । त्यसैले रेलभित्र छिर्नेबित्तिकै ढोका छेऊको एउटा सिटमा म थपक्कै बसिहाले । तारा पनि मसँग थपक्कै लपेसिन आइपुगिन् तर उनी आएर सिटमा बस्नेबित्तिकै उनका आँखाका ढकनीहरू गल्यामगुर्लुम बन्द भइहाले ।
ताराले आँखा चिम्लेपछि, सुक्ष्म दुःखी हुँदैहुँदै ‘देश निकाला’ सजाय पाएका माक्र्सको विषयमा म पुनः सोचेर घोत्लिरहें । उनले वर्गविहीन समाज मात्रै नभएर राज्यविहीन समाजको पनि कल्पना गरेका, केहीबेर सोचिरहे । त्यसैले गर्दा उनले जिन्दगीभरि बेलायती नागरिकता निकाल्ने रहर कहिले पनि गरेका थिएनन् । त्यसैले उनी प्रर्सियाबाट देश निकाला भएपछि आजीवन ‘राज्यविहीन’ रहेका थिएँ ।
सन् १८५६ मा ‘पुँजीवादले वर्गको विभाजन मात्र गर्दछ,’ भन्ने विचार लिएर माक्र्सले सधैं सधैंको लागि जोहोलाई छाडेर हिँडेको थिएँ । त्यसपछि, जेनी र आफ्ना प्यारी छोरीहरूसँग ‘४६ ग्राफ्टन टेरेस’ मा सरेका थिएँ । त्यसबेला माक्र्सले आफ२ बाँच्ने एउटै आधार भनेको केवल जेनी मात्रै हुन३ है, भन्ने निर्क्यौल पनि निकालि सकेका थिएँ । त्यसैले उनलाई असाध्यै प्रेम गर्दथे । कहाँ त्यति मात्रै हुनु र…? आफु बाचिन्जेलसम्म उनको याद आइरहोस भनेर पाँचैजना छोरीहरुको नाममा ‘जेनी’ भन्ने नाम जोडिदिएका थिएँ ।

कार्ल माक्र्स ग्राफ्टन टेरेसमा सरेपछि क्रमशः ‘दास क्यापिटल’ को पहिलो अध्याय लेख्नमा नै ब्यस्त रहेका थिएँ । त्यति धेरै कोसिस गरेको थिएँ कि कुनैकुनै बेला दिनको १२ घण्टासम्म उनी लेखिरहेका हुन्थे । त्यसरी पुस्तक लेखिरहने काम गर्दा उनको आम्दानीको श्रोत केही नभएर आर्थिक अवस्था झनझन नाजुक हुँदै गइरहेको थियो । जेनी र स–साना भाल्टाङभुल्टुङ नानीहरुको हरेक दिनरात दरिद्रताको गहिरो खाडलमा गुज्रिरहेका थिएँ । उनको घरको भाडा मात्र महिनामा ३६ स्टर्लिङ पाउण्ड लाग्दथ्यो । त्यसैले उसको त्यस्तो दयनीय अवस्था देखेर धनाढ्य बाबुको छोरा एङ्गेल्सले ३५० स्टर्लिङ पाउण्ड (अहिलेको ३५,००० पाउण्ड) जति उनलाई प्रदान गरेका थिए ।
‘चकफाल्म स्टेसन’ पुगेर भूमिगत रेल केही सेकेण्डको लागि रोकियो । रेलदेखि झरेपछि स्टेसनको कँक्रिट भुईंमा टकटक जुत्ताको आवाज निकाल्दै मुसाको दुलो जस्तो सुरुङबाट हामी सुस्तरी बाहिर निस्कियौं अनि हिँड्दै हिँड्दै मैटल्याण्ड पार्क रोडतर्फ लाग्यौं किनभने ४६ ग्राफ्टन टेरेस बाट मार्क्स त्यसपछि तिनै ‘४१ मैटल्याण्ड पार्क’ मा सरेका थिएँ । मलाई त्यो घरको सामुन्ने पुग्दा किनकिन केही हर्ष र केही विष्मतले छोइरहेको थियो । किनभने माक्र्सले धेरै मेहनत र परिश्रमपछि तिनै घरमा बस्दा ‘दाश क्यापिटल’ पहिलो अध्यायको जन्म दिएका थिएँ ।
कार्ल माक्र्स सन् १८७५ देखि १८८३ सम्म तिनै घरमा बसेका थिएँ भन्नको लागि फलामको पाता चुटेर बनाइएका एउटा गोलो तर खैरो रङ्गको ‘ब्राउन प्लेग’ घर बाहिरको भित्तामा लेखेर टालिएका थिएँ । जुन प्लेगलाई ‘क्यामडन नगर परिषद’ लण्डनले निर्माण गरिदिएका थिएँ ।
मैटल्याण्ड जनबगैंचाको तिनै घरमा सातजना बच्चालाई जन्मदिने ममतामयी आमा जेनीको सन् १८८१ मा कलेजो क्यान्सरबाट मृत्यु भयो । ‘बिचरीको आजसम्म रहेछ ।’ आफ्नो प्यारी श्रीमतीको मृत्युको बेला दुवै आँखाबाट अलिकति निस्केका र बुँढो नाकको डाँडीसम्म झरेका आँसुलाई एकचोटी पुछेर माक्र्स भित्तातिर फर्केका थिएँ, भन्ने सुन्नमा आएको थियो । उनको मृत्युले बनाएको खाली ठाउँमा भाँसिएर आकुल ब्याकुल बनेका माक्र्स अन्तमा उनको एकल छोरी एलनोइरसँग दुखित जीवन ब्यतित गर्न थाले ।
‘विश्वको सबैभन्दा प्रभावशाली र विवादस्पद राजनीतिक विचारका धोतक,’ दार्ही जुङ्गेले श्रीमतीको मृत्यु भएको दुईवर्ष पछि १८८३ मार्च १४, दिउँसोको २ः४५ बजे मैटल्याण्ड पार्कको त्यसघरको एउटा कोठामा अति प्रख्यात तर जताततै प्वाँल परेका कुर्सीमा आरामले बसेर सँधैसँधैको लागि आँखा चिम्लेका थिएँ ।
मैटल्याण्ड जनबगैंचा, केन्टिस टाउनदेखि तारासँग, हामी सिधै ‘हाइगेट समाधिस्थल’ लण्डन पुगेका थियौं । हामी समाधिस्थल पुगेर प्रवेशद्वारको पैसा तिर्दै गर्दा अचानक मौसम परिवर्तन भएर गड्याङ्गुडुङ् गर्न शुरु गरेको थियो । त्यस्तो मौसम देखेर ताराले मुख बिगार्दै, ‘तपाईको जिन्दगीका रहरहरुलाई पनि मैले मान्नैपर्छ ?’ भनेर सोधेको उनको प्रश्न मलाई अप्रासङ्गिक र बेठाउँमा आएको जस्तो लागेको थियो । तैपनि उनले मलाई लगातार साथ दिइरहेकी हुनाले मैले केही भन्न सकेको थिइनँ तर, जब हामी हाइगेट समाधिस्थलमा पुग्यौं, तब ताराको मन कताकता रोइरहेको मैले पनि भित्रभित्र महसुस गरिरहेको थिएँ ।
आफ्नो साथमा टिकट लिएर हामी प्रवेशद्वारबाट विस्तारै भित्र पस्यौं अनि कछुवा गतिमा पूर्वी हाइगेट समाधिस्थलतर्फ लाग्यौं । जहाँ बेलायतका सर्वाधिक लोकप्रिय ८५० महान ब्यक्तिहरुको समाधिस्थल रहेका थिएँ । जसमध्ये जर्ज एलिएट, क्रिश्चिना रोसेट्टी र डगलस एडम्स मात्र नभएर बामपन्थी नेता पौल फुट र राल्फ मिलिबेण्डको चिहानहरु पनि एकअर्कामा नजिकै देखिन्थे । माक्र्सको परिवारहरु जेनी, हेलेन र एलनोईरका (शेष आत्माहरु) चाहिँ १९५४ मा मात्रै नयाँ चिहान बनाएर त्यहाँ सारिएका थिएँ ।
साम्यवादका पिता ‘कार्ल हेनरिक मार्क्स’ को मृत्यु भएपछि ११ जना मलामिको साथमा उत्तर लण्डनको तिनै ‘पूर्वी हाइगेट समाधिस्थल’ को एउटा कुनोमा अन्तिम संस्कार गरिएका थिएँ । इतिहासकारहरुले माक्र्सका अन्तिम सँस्कारका लागि ११ जना मलामी भनेतापनि अक्सफोर्ड युनिभर्सिटिका सुबिख्यात ‘मार्क्सबादी’ प्राध्यापक डेभिड हार्भीले चाँही उपस्थित मलामीहरु जम्मा १३ जना थिएँ, भनेर उनीहरुको नामै उल्लेख गरिदिएका थिएँ ।

‘मानवजीवनको लागि सबैभन्दा बढी सोच्ने मानिसले आजदेखि सोच्न छाडिदियो’ कार्ल मार्क्सको अन्त्येष्टिको बेला एङ्गेल्सले अन्तिम श्रदाञ्जलीमा भनेका थिएँ । माक्र्सलाई जुन ठाउँमा गाडिएर राखिएको थियो, त्यसको सिधै दुईमिटर अगाडि डाक्टर हर्बट स्पेन्सरलाई राखिएका छन् । मलाई विकासवादी सिद्धान्तका दर्शनशास्त्री ‘हर्बट स्पेन्सर’ लाई त्यसस्थानमा राखिएको कताकता तर्कसङ्गत लागिरहेका थिएन । सम्भवत त्यसस्थानमा सबैभन्दा सुहाउँदिलो त ‘एडाम स्मिथ’ लाई नै राखिएका भए हुनेथियो । किनभने उनीहरुको दर्शन एकआपसमा ठीक विपरित ध्रुवका थिएँ । यदि त्यसो गरिएका भए, ‘पुँजीवादका पिता स्मिथ, र साम्यवादको पिता माक्र्स’ ले मरोणापरान्त पनि एकअर्कामा हेराहेर गर्दै विवाद गरिरहेको हुने थिए होला ? तर दुर्भाग्यवश, त्यसो नभएर अडाम स्मिथलाई एडिनवर्ग, स्कटल्याण्डमा राखिएको थियो ।
कार्ल माक्र्सको देहान्त भएको ७३ वर्षपछि १४ मार्च १९५६ मा ‘माक्र्स संरक्षण कोष’ ले त्यहाँ माक्र्सको स्मृतिस्तम्भ बनाइदिएका थिए । माक्र्सका त्यो चिहान स्तम्भको बनोट र रुपसज्जा चाहिँ प्रख्यात बेलायती शिल्पकार लरेन्स ब्राडसले गरेका थिएँ । कम्युनिष्ट शब्दबाट एकदमै वितृष्णा पैदा भएका विश्वभरिका मनुष्यहरु त्यहाँ पुगेर माक्र्सलाई नरसंहारका पिता ‘फादर अफ जेन्नोसाइड’ भन्दै पटकपटक स्मृतिस्तम्भमा बर्बता अपनाउने गरेका थिएँ ।
तर, कार्ल माक्र्सको चिहानमा बनेका स्तम्भलाई फोहरमैला नभएको समयमा हेर्ने हो भने उनको सिधै अगाडि छातीमा लेखिएका यिनै हरफलाई अहिलेसम्म मज्जाले पढ्न सकिनेछन् ।
‘विश्वभरिका मजदुरहरु एक हौं ।’
लेखकः बुइपा, खोटाङका हुनुहुन्छ र हालः बेलायतमा बस्नुहुन्छ ।

प्रकाशित मिति: कार्तिक २ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend