फुङलिङः ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय सोमबारदेखि १५ कात्तिकसम्म निषेधाज्ञा जारी गरेको छ ।
सबै स्थानीय हतमा लागू हुने गरी साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल,बजार र छोटो दुरीका यातायातका साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा जारी पत्रमा उल्लेख गरिएको छ ।
लामोदुरीका सवारी साधन भने सञ्चालनमा प्रतिबन्ध लगाइएको छैन । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईद्धारा जारी निषेधाज्ञामा जिल्लाभरका सबै मठमन्दिर, गुम्बा, चर्चहरुमा दैनिकरुपमा गरिने नित्य पूजा, प्रार्थनाबाहेक सामूहिकरुपमा भेला भई पूजा, प्रार्थना, भजनकिर्तन, बली पूजा, मूर्ति बिर्सजन लगायतका कार्य गर्न नपाइने भएको छ ।
यस्तै, चाडपर्वको रुपमा सामूहिक रुपमा भेला भई शुभकामना आदानप्रदान र चियापान जस्ता कार्यक्रमहरु समेत गर्न नपाइने भएको छ । सामूहिकरुपमा कार्यक्रम आयोजना गरी गरिने शिलान्यास, उद्घाटन, प्रशिक्षण, सभा सम्मेलन जस्ता कार्यक्रम गर्नमा समेत निषेधाज्ञाले रोक लगाएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० र संक्रामक रोग ऐन २०२० बमोजिम कोभिड–१९ को बढ्दो जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।