Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कक्षा-१२ को परीक्षा छठलगत्तै

हाम्रो कोशी आवाज
कार्तिक ४ २०७७, मंगलबार
कक्षा-१२ को परीक्षा छठलगत्तै

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा छठपछि गर्ने तयारी थालेको छ । त्यसका लागि सरकारले सहमति प्रदान गरेको छ । विभिन्न विकल्पसहित कक्षा १२ को वार्षिक परीक्षाका लागि बोर्डले मन्त्रिपरिषदमा प्रतिवेदन पेश गरेको थियो । सोही प्रतिवेदनलाई कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
सरकारले सहमति दिएसँगै बोर्डले परीक्षाको तयारी थालेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सरकारको सहमति पाएसँगै मंसिर दोस्रो सातामा परीक्षा लिने गरी तयारी थालिएको बताए । परीक्षा आधा घण्टादेखि डेढ घण्टासम्म दिने व्यवस्था मिलाइने उनको भनाइ छ । ‘परीक्षा छठलगत्तै गरिनेछ’, उनले भने ।
परीक्षाका लागि विभिन्न तीन विधिलाई अपनाइने भएको छ । उनका अनुसार ४० प्रतिशतका लागि छोटो परीक्षा सञ्चालन गरिने, ४० प्रतिशत कक्षा ११ कै मूल्याङ्कनलाई गणना गरिने र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई समावेश गरिनेछ । विद्यार्थीको हाजिरी, विद्यालयले बेलाबखत लिएको आन्तरिक फरीक्षा, गृहकार्य, अतिरिक्त त्रियाकलाप आदिलाई आन्तरिक मूल्याङ्कनको आधार बनाइने छ र यसका लागि फाराम तयार गरी विद्यालयमा पठाइने भएको छ ।
बोर्डका अध्यक्ष डा. पौडेलले लिखित ४० प्रतिशतको प्रश्नपत्रको ढाँचालाई विगतकोभन्दा खुम्च्याइने बताए । उनले विद्यार्थीलाई तिहारपछि विद्यालयसम्म फिर्ता हुनका लागि समय दिने उद्देश्यले आगामी मङ्सिरमा परीक्षा सञ्चालन गर्न लागिएको बताए । उनले लिखित परीक्षा कक्षाकोठाभित्र सञ्चालन गरिने स्पष्ट गरे ।
बोर्डले दसैंलगत्तै प्रश्नपत्र निर्माण गर्ने, उत्तरपुस्तिका सम्बन्धित जिल्ला पठाउने, केन्द्राध्यक्षहरूलाई तालिम दिने लगायतका काम गरेर छठलगत्तै परीक्षा सञ्चालन गर्ने बताएको छ ।
कोरोना संक्रमित भएको खण्डमा पनि परीक्षा दिन पाउने उनको भनाइ छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र परीक्षा सञ्चालन गरिने उनी बताउँछन्, ‘कोही संक्रमित विद्यार्थी भएको खण्डमा त्यसका लागि पनि परीक्षा दिने व्यवस्था मिलाउँछौं ।’
गत वैशाख ८ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा गत चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण स्थगन भएको थियो। परीक्षामा कूल ४ लाख ३२ हजार विद्यार्थीले आवेदन दिएका थिए । बोर्डले यही भदौ २६ गते सूचना प्रकाशन गरी कक्षा १२ का परीक्षाका लागि आवेदन दिएका विद्यार्थी कोरोना महामारी वा अन्य कारणले अन्य जिल्लामा बसाइँ सराइ भएको भए ७ दिनभित्र विवरण मागेको थियो। बोर्डलाई उक्त विवरणसमेत प्राप्त भइसकेको छ ।

प्रकाशित मिति: कार्तिक ४ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend