Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कक्षा-१२ को रुटिन सार्वजनिक, परीक्षा डेढ घण्टाको मात्रै हुने

हाम्रो कोशी आवाज
कार्तिक १४ २०७७, शुक्रबार
कक्षा-१२ को रुटिन सार्वजनिक, परीक्षा डेढ घण्टाको मात्रै हुने

धरानः स्थगित भएको सात महिना पछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षाको रुटिन सार्वजनिक गरेको छ । आगामी मंसिर ९ गते देखि परीक्षा सञ्चालन गर्ने गरी बोर्डले बुधबार रुटिन सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ बजे देखि साढे ९ बजे सम्म डेढ घण्टा मात्रै हुने छ ।
गत बैशाख २१ गतेका लागि तोकिएको परीक्षा कोरोना भाईरस कोभिड–१९ को संक्रमण जोखिमका कारण चैत २५ गते स्थगित गरिएको थियो । अहिले सार्वजनिक गरिएको रुटिनमा पनि कोभिड संक्रमित विद्यार्थीको परीक्षा पछि लिने व्यवस्था गरिएको छ । संक्रमितहरूलाई कोरोना मुक्त भए पछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डको सूचनामा उल्लेख छ ।
‘कोभिड ( १९ संक्रमित भई उपचाररत परीक्षार्थीहरु परीक्षामा सहभागि नहुन अनुरोध गरिन्छ’ बोर्डको सूचनामा भनिएको छ, ‘त्यस्ता परीक्षार्थीहरूका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाद्वारा परीक्षण गरिएको ल्याव रिपोर्टको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिने छ ।’
कोभिडका कारण आफू अध्ययन गरेको विद्यालय रहेको जिल्ला भन्दा फरक जिल्लामा रही आफ्नो विद्यालयमा उपस्थित भई परीक्षामा सहभागी हुन असमर्थ परीक्षार्थीहरुले यस अघि पेश गरेको विवरणका आधारमा परीक्षामा सहभागी हुन सक्ने व्यवस्था मिलाईएको बोर्डले जनाएको छ । यस प्रयोजनका लागि काठमाडौं उपत्यकाका तीन जिल्लालाई भने उउटै जिल्ला मानिएको छ । यसका लागि बोर्डले गत भदौमा विद्यार्थीको विवरण संकलन गरेको थियो ।
अन्य विद्यार्थीका हकमा पनि सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको बोर्डको भनाई छ । यो परीक्षा ४० प्रतिशतको लागि मात्रै गर्न लागिएको हो । बाँकी ६० प्रतिशत मध्ये ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने गरी बोर्डले कार्यविधि निर्माण गरेको छ । यसका लागि कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिक तर्फ प्राप्त विषयगत प्राप्तांकलाई सतप्रतिशत मानी ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने छ । यसैगरी कक्षा १२ मा अध्ययनका क्रममा विद्यालयबाट गरिएको आन्तरिक मूल्यांकनको अङ्कभार सैद्धान्तिक तर्फको कूल पूर्णाङ्कलाई सतप्रतिशत मानि २० प्रतिशत हुने कार्यविधिमा उल्लेख छ ।

प्रकाशित मिति: कार्तिक १४ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend