Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अधोगतिमा हिँडेका बेलायती ‘राईहरु’ !

हाम्रो कोशी आवाज
कार्तिक १७ २०७७, सोमबार
अधोगतिमा हिँडेका बेलायती ‘राईहरु’ !

सन् २००४ मा स्थापना भएको ‘किरांत राई यायोक्खा बेलायत’ खुट्टा लरबराउँदै १६ वर्षको जवानीमा हिंडिरहेको छ । तर, १६ वर्षे बैशालु जवानीसम्म आइपुग्न डार्विनको विकासवादी सिद्धान्तझैं विभिन्न आरोहअवरोह पार गर्दै आइरहेको दिउँसोको सूर्य झैं प्रष्ट देखिन्छ । अनि यहाँसम्म आइपुग्न संस्थाभित्र काम गर्ने मानिसहरु धन्यवादका पात्रहरु हुन् भन्न सायद कसैको दुईमत नहोला ।
तर, अहिले आएर संस्थामा सानातिना समस्या देखापरेका छन् । निक्कै लामो समयसम्म सामाजिक सञ्जाल र धारावाहिक आउने विद्युतीय पत्रहरु पढिसकेपछि केही लेख्ने जमर्को गरिरहेको छु । हुन त ‘मेरो क्षमता’ भन्दा बाहिर गएर संस्थालाई मार्गदर्शन गर्न नसक्ने अवस्था उत्पन्न भएको बेला ‘किरात राई यायोक्खा’ बाट राजिनामा दिएर मार्गप्रशस्त गरेको ज्वलन्त उदाहरण इतिहासमा साक्षी छ । त्यसैले संस्थादेखि भारी थन्क्याइसकेको भएपनि ‘किरात राई’ बाट थन्क्याएको चाहिं अवश्य पनि होइन ।
किनभने म राई भएर जन्में र राई भएर नै अन्तिम सास फेर्ने धोको छ । सम्भवतः यो मेरो रोजाइमा परेको होइन, तर म त्यसैमा खुशी छु । मैले यसो भनिरहंदा पौल उथोको यी मुनी लेखिएका एउटा हरपले मेरो ह्दयलाई किन किन विक्षिप्त बनाइरहेको छ । त्यसैले हृदयको एउटा कुनाबाट केही अक्षर निकालेर सिर्जित गर्ने प्रयत्न गरेको हु ।
‘यदि तिमी समस्या समाधान गर्न भाग लिएनौ भने तिमी आफैं समस्याको हिस्सेदार हुनुपर्छ ।’
किराया बेलायतको पूर्व अध्यक्ष भएको नाताले भन्दा पनि प्रजातन्त्रको जननी राष्ट्रमा बसेर यो लेख लेख्दै गर्दा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास पनि गरिरहेको हुँ । तर मैले यहाँ विचार राख्दै गर्दा पाउने अपशब्ददेखि उपनाम सहितको नकारात्मक टिप्पणीले मेरो शरीर जाडो महिनाको सिरकले झैं गरल्याम्मै ढाक्नेछन् भन्नेमा केही हदसम्म चेतनशील छु ।
किनभने नेपाली समाजशास्त्रीहरुले कल्पना गरेर बनाएको हाम्रो समाजको निर्माण नै त्यही प्रकारले भएका छन् । तर त्यस्तो प्रश्न गर्ने मनुवालाई भोल्टेयरले, ‘उसको उत्तरको सट्टामा, उसले गरेको एउटा प्रश्न निर्णायक हुन्छ’, भनेर तर्क गरेका छन् । किनभने कुनै पनि ब्यक्तिले गर्ने प्रश्नले उसको बौद्धिक क्षमताको राम्ररी प्रस्तुत गर्दछ ।
अब किराया बेलायतको प्रसङ्ग कोट्याउने छु । संस्थाले अहिले केही समस्या झेलिरहेको हामी सबैलाई विधितै छ । तर ‘जहाँ समस्या हुन्छ, त्यहाँ सामधानका उपाय पनि हुन्छन् ।’ त्यसैले हामी सबैले आ–आफ्नो साधन, श्रोत, क्षमता र शक्तिले भ्याइन्जेलसम्म दिनरात समाधानका उपाय खोज्न प्रयत्न गरिरहेका छौं र रहने छौं ।
तर ‘ब्ल्याक होलको निर्माण’ सम्बन्धी सर रोजर पेनरोजले जति सजिलो यो वर्षको भौतिक शास्त्रमा नोबेल पुरस्कार पाए, हामीलाई किराया बेलायतको समस्या समाधान गर्न त्यो भन्दा ज्यादै कठिन भइरहेको तितो सत्य हो । तै पनि कोरोनाको यस्तो कहरमा हामी पटक्कै हारेका छैनौ । र, हरेस पनि खाएका छैनौं । यस अर्थमा हाम्रा अथक प्रयासहरु अहिलेसम्म जारी छन् । यद्यपि हामीले जति सजिलो सोचेका थियौं, त्यो भन्दा अवस्था जटिल छ । तितो यथार्थहरु यिनै हुन् । किनभने, ‘एउटा रूखलाई विद्वान र मुर्खले बेग्लै प्रकारले देख्ने गरेका हुन्छन्’, यो ऐतिहासिक सत्य हो ।
तर त्यसो भन्दै गर्दा म बिछट्टै विद्वान र बाँकी सबै पटमुर्ख हुन् भन्न खोजेको चाहिं पटक्कै होइन । बरु के चाहिं भन्न खोजेको हुँ भने हामी सबैको अध्ययन, सीप, तालिम र अनुभव चाहिँ निश्चय नै बराबर छैनन् । अनि स्वभावैले हाम्रो उमेर फरक होला । हामी कोहि फरक लिङ्गका हौंला ?
तर खोटाङ होस् वा भोजपुर नजाने मिरिक, नाम्ची, टाइमोसान, अल जुबायल, तेलअभिव, लुभेन, ज्याकसन हाइट र ग्याम्बल लेनका प्रकृति पुजकहरु सुन वा नुनका एक्कै ढिक्का हुन् । निश्कर्षमा ‘आखिर राई राई नै हौं’, र ‘एकता नै बल हो’, भन्ने कुरो हृदयदेखि हामी सबैले एकपटक मनन गर्नै पर्ने हुन्छ ।
अझै यसलाई थोरै प्रष्ट्याउने प्रयत्न गरौ । मेरो मुख्य अभिप्राय चाँही माक्सवादी भाषामा प्रयोग हुने तिनै शब्द कुनै बर्ग वा समूहलाई लक्षित गरेर गाली गलौज गर्ने चाहिँ निश्चय पनि होइन । कसैलाई मार्न, पार्न वा दिल दुखाउने रहर पनि पटक्कै गरेको छैन् । किनभने किरायामा मेरो पूर्वाग्रह कसैसँग छैन् र हुने पनि छैन । कथमकदाचित त्यस्तो भएछ भनेपनि अग्रिम क्षमाप्रार्थी चाहन्छु ।
अँ, बरु, ‘केही हुन्छ, सबै राम्रोको लागि नै हुनेछ ।’
वर्तमान मानव जीवनले स्वीकार गरेका यी माथिका हरफहरु हुन् । त्यतिमात्रै नभएर, अझैपनि चन्द्रमा पूर्वबाट नै उदाएका छन् र पश्चिममा अस्ताइरहेकै छन् । हामी माथिको आकाश खसेको अनुभूति कुनैपनि बेलायती राईहरुलाई भएको छैनन् ।
निशन्देहः हामीसँग केही समस्या छन्, तर आशा गरौं एक, दुई र तीन महिना रहन्छ, त्यसपछि बिस्तारै आफैं निराकारण हुँदै जानेछन् । किनभने विज्ञानको नियम नै मान्ने हो भनेपनि सबै कुराको लोप निश्चित समय पुगेपछि आंफै हुंदै जानेछन् ।
कुनैपनि सामाजिक संस्थामा त्यस्ता कुराहरु आउँछन् र बिस्तारै जान्छन् । झन जातीय संस्था भनेका एकाघरको परिवार जस्तै हुन् । त्यसैले झिनामसिना विवाद भइ नै रहेका हुन्छन् । तर, विवादले उग्ररुप लिन थाल्यो र लडाईं भयो भने जातीय संस्थाका लागि एकदम अहितकार पनि हुन्छ । यसै सन्दर्भमा कानूनको विद्यार्थी मेरी छोरीले भनेको एक हरप यहां उजागर गर्न मन लाग्यो ।
‘यदि राईहरु लडाईं नै गर्नु चाहनुहुन्छ भने पहिले दुश्मनको पहिचान गर्न आवश्यक हुन्छ ।’
मेरी छोरीले भनेझै ‘राईहरुको दुश्मन राई’ हुनै सक्दैन । यदि हामी सबै मिलेर लडाईं गर्ने नै हो भने जननायक रामप्रसाद राई, नारदमुनी थुलुङ, बलबहादुर राई र अशोक राईको सपना साकार पार्न सक्नुपर्छ । अझै यस विषयलाई हामी सबैले राम्ररी अध्ययन तथा अनुसन्धान गर्न उपयुक्त्त हुन्छ होला ? किनभने हाम्रो दुश्मन भनेको त्यो शक्त्ति हो जसले विगत दुईसय वर्ष देखि देश बाहिर जानपर्ने बाध्यता सिर्जना गरिरहेको छ ।
अनि अर्को दुश्मन को हो ? त्यो हो, जसले चुनावको समयमा ‘राईको सट्टा भट्टराई’ लाई जबरजस्ती मताधिकार प्रयोग गर्न पाठशाला खोलेर कण्ठस्त गराइरहेका हुन्छन् । अझ त्यो भन्दा दुःखद् कुरो त गैर किरातलाई मत दिन लगाउँछ र गैर किरातले जितेपछि ‘किरात प्रदेश’ माग राख्न शिर झुकाएर पठाउँछ । त्यो भन्दा ठूलो अन्याय हामी राईहरुलाई अर्को के हुन सक्छ होला ?
अनि विश्वभरि इमान्दारिता कमाएका हामी जस्ता सिधा साधा राईहरुलाई फँसाएर विषबृक्ष रोप्ने र कल्पवृक्षको आशावादी गराउने दुश्मनलाई चिन्न सक्नुपर्दछ । दुर्भाग्यवस त्यस्तो धुर्तले गरेको दुःखद् एवम त्रासदीपूर्ण कार्यलाई हामीले हेर्ने ऐनामा पाक्दै नपाकेको डण्डिफोर देख्यौ, तर फोहरी खेललाई कहिले छ्याङ्गै देख्न सकेनौं ।
मलाई यसैमा प्रख्यात भौतिकशास्त्री मिचियो काकुको भनाई जोडन मन लाग्यो, ‘डेमोक्र्यासी भर्सेस डेमोक्र्यासीको लडाई कहिले हुदैन ।’ उनका भनाईमा केही सत्यता अवश्य छ । किनभने संसारका धेरै इतिहासहरुमा केबल निरङ्कुसतावाद, साम्यवाद र राजा महाराजाबादको विरुद्ध मात्रै लडाईहरु भएका छन् ।
हुन त सायद भौतिकशास्त्रमा कानूनमा जस्तै ठोस प्रमाणहरु पेस गरिरहन नपर्ला तर काकुको भनाईबाट स्वाभाविक रुपमा के ज्ञान आर्जन गर्न सकिन्छ भने ‘राई भर्सेस राई’ झगडा नहुनुपर्ने देखिन्छ । यदि क्षणिक अवस्थाका लागि भइहाल्यो भनेपनि ‘हामी हामी’ भनेर तत्कालै भुसको आगो निभाई हाल्न उचित हुन्छ ।
अर्को कुरा जातीय संस्थामा राजनैतिक कुरा कहांबाट उदय भयो ? सरल मानवीय स्वभावका चर्म चक्षुहरुले निश्चय नै त्यो दृष्टिगोचर गर्न सक्छन् । तर कुरोको मुल जरो बिज्ञान र प्रविधिबाट शुरु गरौं । किनभने विज्ञानले साधरण मानवले सोचे भन्दा निक्कै धेरै अगाडि फड्को मारिसकेको अवस्था छ ।
जसले विज्ञान पछ्याउँदैनन्, उ गरिब हुन्छ । तर एउटा कुरा याद राख्नु होला, ‘स्वेच्छाले गरिब हुन चाहिं मज्जाले पाइन्छ ।’ तर, यो लेखको उदेश्य गरिब या धनी हुनु चाहिं पटक्कै होइन, मात्र राईहरुबीच एकता हुनु हो ।
अझै इस्यालु मनोविश्लेशक सिगमन्ड फ्रायडको ‘इड’ जस्तो कूटनीतिक ढङ्गले होइन, सरल भाषामा नै वर्णन गरौं । सबै राईहरु एकत्रित भयौ भने एउटा शक्ति तयार हुन्छ । त्यही शक्ति अधिकार प्राप्तिको लडाईमा उपयोग गर्न सकिन्छ । अन्तमा हाम्रो मुख्य मुद्दा भनेको नै अरु जतिकै ‘बराबर अधिकार’ पाउनु हो, बढि होइन । यदि त्यो कुरा एकजना अश्वेत महिला ‘रोजा पाक्र्स’ ले समयमा नै नबुझेर आफू बसेको बसको सिट छाडिदिएकी भए अहिलेसम्म अमेरिकन अश्वेतहरुको हालत के हुने थियो कल्पना गर्न सकिन्नथ्यो ।
फेरि एकपटक अमेरिकाकै कुरो गरौं । निल आर्म्सट्रङले चन्द्रमामा पहिलो पाईला टेक्त्तै गर्दा हृयुस्टनले ‘त्यहाँ बाट अमेरिकालाई कस्तो देखिन्छ ?’ भनेर अहिले प्रश्न सोधेको भए मैले त केबल ग्याम्बल लेनमा दुई हातले कुर्सी उचालेर राईहरुको भिडन्त हुन लागेको मात्र देख्न सके भन्ने जवाफ दिन्थे होला । तर, खयर केही छैन निलको मृत्यु भइसकेको छ । दुर्भाग्यवः हामी राईहरु चाँही अहिलेसम्म जीवितै छौ । तै पनि कुनै कुनै बेला हाम्रो घर झगडाले गर्दा आफ्नो अनुहार लुकाउने स्थिति उत्पन्न हुँदा मरेतुल्य भएका छौ । त्यसैले जति महँगो भएपनि ‘राई भाई’ मिलेर बस्ने वातावरण सिर्जना गरौं है ।
तर, हामी मिल्ने कसरी ?
‘स्टेफेन हकिङ्स’ ले भनेझैं मिल्ने हो । उनले भनेका छन्, ‘खुला आकाश हेर्ने हो, भुईंको खुट्टा होइन ।’ किनभने ग्याम्बल लेनमा सिली टिप्तै गर्दा उचालिएका हाम्रा खुट्टाको सरदर लम्बाई त एकफिट जति मात्रै हुन्छ । त्यसबाट केही देख्न सकिन्नँ । तर आकाश त विशाल छ ।
तपाईं आफै कल्पना गर्नोस् त, ‘ओर्ट बादल’ मा रहेको क्षुद्रग्रह यम नै ५ बिलियन किमी टाढा छ । र, त्यसपछिको तर हामी नजिकै रहेको ‘कुमारी सुपरक्लष्टर’ ६५ मिलियन प्रकाश वर्ष र अझै भर्खरै पत्ता लगाइएको ‘सरस्वती सुपरक्लष्टर’ त झन् ४ बिलियन प्रकाश वर्ष टाढा छ । त्यसैलाई सम्झे हामीलाई काफी पुग्नेछ ।
हामी सबैले हेर्ने आ–आफ्नो दृष्टिलाई विशाल बनाउने हो । र, हाम्रो मिलनबिन्दु भनेको त्यो हो, जहाँ हामीबीचको इष्र्या र दृष्टि सधैं एकअर्कामा लुकामारी खेलेर बसिरहेको छ । तर, त्यो कुरो परिवर्तन गर्न अति नै सानो शावक चरीको बच्चाको छाती जस्तो चाहिँ पटक्कै गर्नुहुन्नँ । नत्रभने एकदम गार्हो पर्नेछ ।
फेरि घुम्दै फेर्दै मूलबाटोमा फक्यौ । किरायाको निर्णायक तहमा बस्नु हुने सबै वर्तमान पदाधिकारीहरुले विधि, विधान, पद्धति र प्रकृयालाई आ–आफू परिभाषित गर्नुभएको छ । म तपाईंहरुको त्यो विचारलाई आत्मियताका साथ शिरोपर गर्दछु । तर बुझ्नुपर्ने कुरो चाहिं सिक्काको अर्को पाटो पनि हुन्छ । हामी सबैलाई थाहा भएकै हो, संसारको सबै विद्रोह पूर्व राज्यसत्ताले राखेका नियम र पद्दति विपरित गएर नै भएका हुन्छन् । त्यसकारण मैले के पनि बुझेको छु भने हामी त बिद्रोहमा पनि उत्रेका छैनौं ।
तर समग्रमा अहिलेसम्म जे हुदैछ, ठिक्कै हुदैछ र प्रत्येक दिन पाठ सिक्दै जाँदैछौ । हरेक नयाँ बिहानीको लालीसँगै उदाएका तपाईहरुको विभिन्न विचार नयाँ स्फुर्तका साथ हुर्किरहेका छन् । र कुनै कुनै सपनाहरु त्यतिक्कै खेर पनि गइरहेका छन् ।
अब एकपटक माथि भनेझैं शावक चरिको भन्दा विशाल छाती लिएर एकआपसमा भेट गर्नुहोला ? तपसिलका कुरामा हाम्रो आपतविपत रहेका छन् भनेर छलफल गर्नुहोला । आशा एवम भरोसा गरौं, सायद कुनै न कुनै निश्कर्ष त निस्केला ? यदाकदा संस्थाको काम गर्ने क्रममा कसैको केहि गल्ति भएका छन् भने त्यसलाई सुधार्ने अवसर दिनुहोला । ‘गल्ती गर्नु ठूलो कुरो होइन, माफ दिनु सबैभन्दा महान कार्य हो ।’
किनभने, ‘एकजनाले कहिले गल्ती गर्दैन भने उसले नयाँ कुरा गरिरहेको हुँदैन ।’ मैले भनेको होइन, आइन्सटाईनले भनेका हुन् । काम गर्ने क्रममा सबैले राम्रै गर्छु भनेका हुन्छन् । तर, सधैं त्यस्तो नहुन पनि सक्छ ।
‘अजम्बरी कोही पनि हुँदैनन्, सबै एकदिन मर्नै पर्छ ।’
विश्व बिजेता भनेर चिनिने अलेक्जान्डर महानले पनि आफ्नो मृत्युपश्चात् केही लगेका थिएनन् । र हामीले पनि के नै लानु छ र ? दुईदिन बाँच्दा सबै ‘राई भाई’ हाँसी खुशी भएर बाँचौं र अरुलाई पनि बचाऔं । बरु एउटा कुरा चाहिँ निश्चय नै हेक्का राखौं । किनभने हामी हरेकदिन आफ्नो मृत्युको नजिक नजिक गइरहेका हुनेछौं ।
त्यसैले हामी एकैदिन अगाडि मिल्न सकियो भनेपनि जिन्दगीको एकदिन अगाडिदेखि शान्तिको सास फेर्न सकिन्थ्यो कि ? यही अवसरमा टल्सटायले लेखेको एउटा कथाको पात्र पाहमलाई पनि जोड्न मन लागिरहेको छ । आखिर जति लोभ, इष्र्या, डाहा र रिस देखाएपनि मृत्यु पर्यान्त मानिसले पाउने भनेको त्यही ‘६ फिट जमिन’ मात्रै त हो ।
‘वैभवपूर्ण बाँच्न पाउँ ।’
आफू कलिलो उमेरमा मृत्युबरण भएपनि लामो जीवन बाँच्न पाउनेहरुको लागि फ्रेडरिक नित्सेको त्यो महानवाणी हाम्रो लागि एकदम काफी छ । समग्रमा हामी मिलेर वैभवपूर्ण तरिकाले अर्को वर्ष ग्याम्बल लेनमा सँगसँगै साकेला नाचौंला । नत्रभने सुम्नीमा र पारुहाङ्ले हामी सबैलाई धिक्कार्ने छन् ।
तर चन्द्रमा दाहिने होइन, देब्रे परेर हामी एकआपसमा छुट्टियौ भने अनि एकाघरको श्रीमान र श्रीमती फाल्टै फाल्टै दिन ग्याम्बल लेन पुग्यौ भने हाम्रो जीवनमा त्यो जतिको दुर्दशाको दिन अन्य कुनै दिन हुनेछैन । जुनकुरो किराया बेलायतको भावना, मर्म र धर्मको विपरित हुनेछ भन्ने मेरो ठम्याइ हो ।
मेरो लाटो बुझाइको जातिय संस्था भनेको एउटै जातभित्र आपसी हित जोडने दर्हो पुल हो, तोडने होइन् । आशा एवम भरोसा गरौं, सम्भवतः त्यस्तो कुदिन हाम्रो सामु नआउला, यदाकदा आउन खोज्यो भनेपनि आउन नदिनका लागि सम्पूर्ण राई बन्धुहरुमा यसै लेखमार्फत म हार्दिक अपिल गर्दछु ।
अन्तमाः अक्सफोर्ड युनिभर्सिटीको चर्चिल अस्पतालमा प्राध्यापक सर रिचार्ड फ्रेन्डसँग एकजोर मिर्गौला र एउटा आमाशय प्रत्यारोपण गर्न १० घण्टा समय खर्च गरेर साँझ घर फर्केका मेरो छोराले, ‘अधोगतिमा हिँडेका बेलायती राईहरु’ लाई तपाईंले के गर्नु भयो ? भन्ने प्रश्नको उत्तरमा मैले पनि उसलाई त्यही जवाफ फर्काइदिएँ ।
जुन जवाफ एथेनियनहरुबाट मृत्युदन्ड पाएका पश्चिमी दर्शनका पिता शुक्रोटिसले विषालु वनस्पतिको झोल ‘हेमलक’ पिउने बेला प्लेटोले उनको जीवनको भिख माग्दै गर्दा पाएका थिए ।
‘छोरा ! मलाई एउटा कुरो मात्र थाहा छ, केही थाहा छैन ।’
लेखक किरात राई यायोक्खाको पूर्व अध्यक्ष हुनुहुन्छ । बुइपा, खोटाङ, हालः बेलायत, अक्सफोर्ड

प्रकाशित मिति: कार्तिक १७ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend