धरानः कोरोनाको कारणले सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उद्देश्यले नेपाल चलचित्रकर्मी महसंघ प्रदेश १ ले आगामी २०७८ बैशाखमा ‘नेपाली चलचित्र महोत्सव प्रदेश १’ आयोजना हुने भएको छ ।
चलचित्रकर्मी महासंघ प्रदेश १ ले चलचित्रसम्बन्धी अन्तक्रिया कार्यक्रम गरी आफ्नो आगामी दिनको कार्य योजनाहरु सार्वजनिक गर्दै सो जानकारी गराएको हो । प्रदेश न १ नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छायाङ्कनको लागि एकदमै उपयुक्त स्थान भएकोले यहाँको चलचित्रकर्मीहरुलाई उत्साहित गराउँदै प्रदेश न १ को पर्यटकीय स्थानलाई प्रवद्र्धन गर्ने उद्देश्यले नै चलचित्र महोत्सव आयोजना गर्न लागिएको महासंघका अध्यक्ष अरुणकुमार प्रधान जानकारी दिए ।
‘महोत्सवमा प्रदेश न १ का चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्नको लागि प्रदेश १ मा बनेका कथानक चलचित्रहरु, छोटो चलचित्रहरु लागि छुट्टै तथा नेपालमा बनेका अन्य कथानक चलचित्रहरु र छोटो चलचित्रहरुको छुट्टै विधाअन्तर्गत रहेर चलचित्रहरु प्रदर्शन गर्ने योजना बनेको छ ।’ उनले भने, ‘महोत्सवमा अग्रज चलचित्रकर्मीहरुलाई सम्मान समेत गरिने भएको छ । सो समयमा प्रदेश १ का चलचित्रकर्मीहरुको जानकारीसहित भएको चलचित्र स्मारिका विमोचन गर्ने साथमा चलचित्र सम्बन्धी कार्यशाला गर्ने योजना समेत बनेको छ ।’
२०७६ कार्तिक २९ देखि मङ्सीर २ गते सम्म प्रदेश १ सरकारले घोषणा गरेर सम्पूर्ण तयारी पूरा गरेपनि त्यसबेला चलचित्र महोत्सव हुन सकेन । सो महोत्सवलाई पूर्णता दिन चलचित्र महोत्सव आयोजना गर्न लागेको अध्यक्ष प्रधानले जानकारी दिए । चलचित्र महोत्सव सरकारले भन्दा चलचित्रकर्मीहरुले नै गर्ने हो र अब हामी यो महोत्सवलाई प्रत्येक वर्ष आयोजना गरेर निरन्तरता दिने अध्यक्ष प्रधानको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी अग्रज कलाकार पुष्प श्रेष्ठले प्रदेश १ मा यसरी स्थापना भएको महासंघमा आफू पनि आबद्ध भएर अघि बढ्ने र अन्य प्रदेश १ का चलचित्रकर्मीहरु पनी यसै महासंघमा आबद्ध भएर नै अघि बढ्दा राम्रो बताए ।

कार्यक्रममा महासंघका वरिष्ठ सल्लाहकार तथा नेपाल चलचित्रकर्मी संघ प्रदेश १ का संयोजक परशुराम चौधरीले पार्टीगत चलचित्रको संस्था फरक फरक भए पनि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले कुनै पार्टीको झन्डा नबोकेको र यो स्वतन्त्र चलचित्रकर्मीहरुको महासंघ भएर नै अघि बढनु पर्ने कुरमा जोड दिएका थिए । कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश न १ सँग अहिलेसम्म १३ वटा विभिन्न पेशागत संघ, संस्था आवद्ध रहेको महासचिव दिनेश कोइरालाले बताए ।
निर्माता संघका केन्द्रीय सदस्य ज्योतिराज राईले अहिले प्रदेश १ को महासंघले गरेको चलचित्रको गतिविधिले नेपाली चलचित्र क्षेत्रमा नै एउटा तरङ्ग पैदा गरेको बताउँदै प्रदेश १ मा भएका सम्पूर्ण चलचित्रकर्मीहरु यस महासंघमा आवद्ध भएर अघि बढन आग्रह गरेका थिए ।
कार्यक्रममा नगेन्द्र राईको अध्यक्षतामा नृत्यकर्मी संघ प्रदेश न १ पनि गठन गरिएको छ । १३ समिति रहेको यस संघका उपाध्यक्षहरुमा एलसी श्रेष्ठ (झापा), प्रणिता तमाङ (सुनसरी), सचिवमा राजा सुब्बा लावती (मोरङ), कोषाध्यक्षमा अञ्जली माझी (झापा) चयन भएका छन । यस्तै, सदस्यहरुमा संकोच प्रधान (इलाम), पेम्बा लामा (ताप्लेजुङ), मिथुन ठाकुर (उदयपुर), मनोज राजावन्शी (मोरङ), वसन्त बस्नेत, कृष्णबहादुर राई, सन्तोष मगर चयन भएका छन् । संघको सल्लाहकारहरुमा भने मणी राई (सुनसरी), प्रेम सुनाम (मोरङ), बालकुमार कटुवाल (झापा) रहेका छन् ।
त्यसैगरी चलचित्र निर्माता लाकमान योञ्जनको संयोजकत्वमा निर्माता संघ प्रदेश १ र चलचित्र निर्माता, निर्देशक भीम लामाको संयोजकत्वमा आदिवासी जनजाति चलचित्रकर्मीहरुको संघ स्थापना गर्ने निर्णय पनि गरिएको थियो ।
