धरानः कोरोना कहरपछि नेपालमा चैत ११ ‘लकडाउन’ भयो । अधिकांशले ‘लकडाउन’ लाई निको मानेनन् । तरपनि नेपालमा पनि बाध्यता थियो– कोरोनाको महामारीले नेपाललाई पनि छुँदै गएको थियो । स्वास्थ्यप्रति सबै सचेत बन्नैपरयो ।
गरिखाने वर्ग अधिकांशले पिरलो बनेकै कारण ‘लकडाउन’ लाई मन पराएनन्, ‘लकडाउन’ भन्ने सुन्नेवित्तिकै सबैलाई झसङ्ग बनाएकै हो । तर कोरोना कहरकै बीचमा पनि लकडाउनले धेरैको जीवनमा परिवर्तन ल्यायो । ठट्यौली पारामा भन्ने हो भने र भएकै कुरा गर्ने हो भने २०–३० वर्षअघिदेखि खेतीपाती नगरेका अधिकांशले खेतीपातीमा रमाउन भ्याए, ५–१० वर्षदेखि बाँझै रहेका खेत जोतियो, खनियो, अन्न उब्जाइयो, प्रदेश १ को तथ्याङ्क हेर्दा यस वर्ष धान बढी फलेको छ । यस्तै, कतिले व्यवसाय परिवर्तन गरे, गाउँ नदेखेकाहरुले गाउँ देख्न पाए आदि इत्यादि… ।
विभिन्न सञ्चार माध्यममा समाचार पनि आए–लकडाउनले जुराएको अवसर, लकडाउनले ल्याएको परिवर्तन आदि इत्यादि ।
तर धरानमा लकडाउनलाई मन पराइएको छ । चोकको नाम ‘लकडाउन चोक’ जुराइएको छ । स्थानीयका अनुसार शुरुमा यस्तो नाम राख्नेबारेमा निकै रस्साकस्सी पनि नचलेको होइन । धेरै बहस र छलफलपछि अन्ततः राखियो–लकडाउन चोक । यस्तो चोकको नाम धरान–११ मा छ । धरान–१६ र ११ को बीचमा पर्ने त्यो चोकको नाम यस्तो राखिएको हो । चोकको पूर्वतर्फ गणेशमान चोक, पश्चिमतर्फ जोरसखुवा, उत्तरतर्फ शितलमार्ग र दक्षिणतर्फ लकडाउन चोक । तस्वीरः हाम्रो कोशी आवाज








