Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शैक्षिक सत्र खेर जान नदिन यसरी पढाऔं

हाम्रो कोशी आवाज
मंसिर २० २०७७, शनिबार
शैक्षिक सत्र खेर जान नदिन यसरी पढाऔं

–शैक्षिक सत्रका विषयमा हिजोपनि बहस नभएका होइनन् । कोभिडका कारणले यो शीर्षक थप पेचिलो बनेको छ । विद्यालय शिक्षामा विद्यमान दुईअवधिका शैक्षिक सत्रलाई समायोजन गर्ने यो अवसर बन्न सक्छ । वैशाखदेखि चैतको अवधि कक्षा–१० सम्मका लागि तोकिएको छ । पहिले पुसदेखि मंसिरसम्मको शैक्षिकसत्र पनि चलेको थियो । बीचमा साउनदेखि असारसम्मको पनि सञ्चालन गरियो । जसरीपनि एक वर्षको विद्यालय तहको शैक्षिक सत्र कायम गर्ने हो । अहिले यो प्रसङ्ज्ञ कोभिड–१९ को कारणबाट थप चर्चामा आएको छ ।
चालु शैक्षिक सत्रको सात महिना पुरै कोरोना भाइरसले निलिसकेको छ । बाँकी ५ महिनाका सार्वजनिक बिदाहरु, चाडपर्वहरु र परीक्षाका दिनहरु समेत घटाउँदा शिक्षण सिकाइ क्रियाकलापको लागि ७५ दिन मुस्किलले छुट्टिन सक्छ । यस अवधिमा झण्डै ३ गुणा बढी सिकाउने र सिक्ने काम एकैपटक एकजनाले एक किलो चामलको भात निरन्तर तीन महिनासम्म खानु जस्तै हो भन्न सकिन्छ ।
कक्षा ११ र १२ को शैक्षिक सत्र भने श्रावणबाट शुरु गरिँदै आएको अवस्था छ । जबकी यी दुवै कक्षाहरु अहिले विद्यालय शिक्षामै समेटिएको भनिएको छ । सँगै यी कक्षाहरुको अवधि पनि एक–एक वर्ष नै तोकिएको छ । उच्च शिक्षाको हकमा कक्षा–१२ को नतिजा प्रकाशनपश्चात् स्नातक तहको भर्ना प्रायः मंसिरमा हुँँदै आएको स्थिति छ । स्नातक तहको शिक्षा पूरा गर्न ४ वर्ष तोकिएको छ ।
पछिल्लो वर्ष वा सेमेष्टरको नतिजा प्रकाशन भएपछि स्नात्तकोतरको भर्नाको सूचना हुँदै आएको छ । उच्च शिक्षाको शैक्षिक क्यालेण्डर नियमित छैन । क्यालेण्डर बन्छ, मात्र देखाउनको लागि । शैक्षिक क्रियाकलाप, क्यालेण्डरअनुसार भन्दा पनि क्यालेण्डर चाँहि शैक्षिक क्रियाकलापअनुसार चलेको यथार्थ कतै छिपेको छैन । हुन त, कतिपय विदेशी ओपन युनिभर्सिटीमा बाह्रै महिना भर्ना खुल्ला हुन्छ र परीक्षा र नतिजाको काम पनि सधैं खुल्ला भएको पनि पाइन्छ । विश्वविद्यालयको शैक्षिक सत्र तहगत कोर्ष अवधि र अपरेशन क्यालेण्डरमा आधारित हुन्छ नै । तैपनि विश्वविद्यालयले विषयगत भारको आधारमा स्नातक, स्नात्तकोतर, एमफिल र विद्यावारिधी तहको शैक्षिक अवधि किटानी गरेको हुन्छ र सो को कार्यान्वयन कडाइका साथ गरिन्छ ।
विद्यमान शैक्षिक सत्रको पुनर्संयोजन तथा पुनव्यवस्थापनको विषयले प्रवेश पाउनु अन्यथा मान्न सकिँदैन । यो बेलामा साबिक शैक्षिक सत्रकै रटान पटक्कै युक्तिसँगत छैन । यसो भनिरहँदा विद्यालयदेखि विश्वविद्यालयसम्मका सबै तहको एकै अवधिको शैक्षिक सत्र भने हुनै सक्दैन । तैपनि शैक्षिक सामञ्जस्यताको सबाल न्यून मूल्याङ्कनको शिकार बन्नु राम्रो होइन । यो सरोकारवर्गको बहसको विषय बन्नै पर्दछ । विद्यालय तहको शैक्षिक सत्र कुन महिनाबाट शुरु गर्दा उपयुक्त र वैज्ञानिक हुन्छ भन्ने निर्णय सरकारले गर्ने हो । अरु सबै गफका चर्चा मात्र हुन् । सम्बद्ध ब्यक्ति र संस्थाहरुले आवश्यक र पर्याप्त विश्लेषणबाट सरकारलाई सहज बनाउन सक्दछन् । प्रमुख सवाल भनेको पाठ्यक्रमले निर्धारण गरेको समयको उपयुक्त ब्यवस्थापन नै हो । संकटग्रस्त बेलामा प्रदान गर्नैपर्ने समयबाहेक अरु कटौती गरेर पनि विषयवस्तुको संयोजन गर्न सकिन्छ । यो भनेको पाठ्यवस्तुको संकुचन प्रक्रिया हो । यो विधिबाट तोकिएकै वा साविक शैक्षिक सत्रमा नै शिक्षण क्रियाकलाप सम्पन्न गर्नु हो ।
अहिलेको कोभिड सिर्जित असहज र विषम परिस्थितिमा शैक्षिक सत्रको अन्तरिम ब्यवस्थापन गर्ने प्रसङ्ग पनि बाहिर आएको छ । सँगै विद्यमान शैक्षिक सत्रको फेरबदलको महसुसका कुरा पनि नउठेको भने होइन । निचोडमा, साविकको शैक्षिक सत्रमा विद्यालय तहमा पाठ्यक्रमले तोकिएको शिक्षण सिकाइ पूरा हुन नसक्नेमा सम्बद्ध पक्षहरु सहमत भएको पाइन्छ । उच्च शिक्षाको हकमा स्वभाविक अवधि घँचेटिएको छ । शिक्षण, परीक्षा, नतिजा र भर्ना सबै प्रभावित भएका छन् । पुरै सेमेष्टर कोल्याप्स भैसकेको छ । एक वर्ष फजुलमा उमेर मात्र बढेको छ । सबै योजना कोरोना भाइरसले तहसनहस बनाएको वर्तमानमा ज्यान जोगाउनमा नै सबैको ध्यान जानु अन्यथा होइन । सरकारले शिक्षण संस्थाहरु खोल्ने वा नखोल्ने जिम्मेवारी स्थानीय सरकारलाई तोकेको सन्दर्भमा अधिकांश शिक्षण संस्थाहरु स्वास्थ्य सावधानीका साथ सञ्चालनमा आइसकेका छन् र कतिपय आउने क्रममा छन् । उच्च शिक्षाको हकमा समेत त्रिभुवन विश्वविद्यालयले मातहतका कलेजहरुलाई फेस टु फेस कक्षा सञ्चालनको लागि भनिसकेको छ ।
साविक स्थितिमा पाठ्यक्रमले ब्यवस्था गरेको विषयवस्तु बाँकी अवधिमा शिक्षण सम्भव छैन । संकुचनको नाममा एकतिहाइ मात्र शिक्षण सिकाइ गर्ने हो भने यो सम्भव देखिन्छ । यस्तो नाम मात्रको शिक्षणले शिक्षकलाई त खासै असर पर्दैन तर विद्यार्थीमा भने जीवन पर्यन्त नकारात्मक प्रभाव पर्छ नै । विद्यालय तहको शैक्षिक सत्र भनेको एक वर्ष अवधिको हो भन्ने धेरैलाई थाहा छ । कुनै पनि महिनाबाट शुरु गर्न सकिन्छ । अहिलेको सत्र विक्रम सम्वतसँग शुरु हुन्छ । श्रावण महिनाबाट शुरु गर्दा आर्थिक वर्षसँग मेल खान्छ । ऋतु परिवर्तनसँगै वर्षा, गर्मी, जाडो पश्चात पनि शैक्षिक सत्र शुरु गर्न सकिन्छ ।
तर्कहरु विभिन्न कोणहरुबाट उठाउन सकिन्छ । ठूला चाडपर्वहरु मनाएर पनि शुरु हुन सक्छ । फेरि, एक पटक प्रारम्भ भएको शैक्षिक सत्र अपरिवर्तनीय भन्ने हुँदैन । हालको जस्तै विषम अवस्थामा परिवर्तन गर्न सकिन्छ । अहिले ८ महिना लगभग बन्दको स्थिति भएकाले चैतमा नै सत्र सक्ने कुरा सान्दर्भिक हुनै सक्दैन । २ महिना मात्र बढाएर असारमा वार्षिक परीक्षा लिई नतिजा प्रकाशन गर्ने र श्रावणबाट अर्को शैक्षिक सत्रको थालनि गर्दा केही सकारात्मक बन्न सक्छ । केही वर्ष आर्थिक र शैक्षिक सत्रसँगै लाने अभ्यास अन्यथा हुने छैन । नमिल्ने र असहज भएमा बदल्ने ढोका त खुल्लै हुन्छ नै ।
चैतमा नै एसइई लिने हो भने सो को निर्णय बाहिर आउन ढिलो भएको छ । अहिलेसम्म आवेदन फर्म भर्ने सूचनासम्म प्रकाशन नभएकोले सो को तयारी शुरु भएको नै छैन । यस वर्षबाट एसइईको जिम्मेवारी प्रदेश सरकारमा जाने भनेर सरकारले भनेकै हो । तर काममा अधिक शंका उब्जेको अवस्थामा सरकारले निर्णयमा पटक्कै बिलम्व गर्नु हुँदैन । शैक्षिक सत्रको किटानी निर्णय आज शैक्षिक जगतको अपेक्षा हो । अन्य कक्षाहरुको पनि योजना त जरुरी पर्छ नै । कक्षा–८ को स्थानीय तहले लिने परीक्षाको तयारीको लागि पनि शैक्षिक सत्रको निर्णय आवश्यक पर्छ । त्यस्तै, कक्षा–९ मा भराइने रजिष्ट्रेसन फर्मको पनि हालसम्म कुनै अत्तोपत्तो छैन ।
उता कक्षा–११ को पनि रजिष्ट्रेसन फर्म भराउने अवधिबारे पनि निर्णय लिन बिलम्व भइसकेको छ । चालु शैक्षिक सत्रको विद्यार्थीहरुको भर्ना कहिलेसम्म गरिरहने हो सो बारे कस्ले निर्णय लिने हो, त्यो पनि त यकिन हुनु जरुरी पर्छ । स्थानीय सरकारबाटै सो निर्णय हुने हो भने पनि उनीहरु बेखबर जस्तो निद्रामा देखिनु राम्रो होइन । उल्लेखित विषयहरु सबै शैक्षिक सत्रसँग जोडिएका छन् । तसर्थ, शैक्षिक सत्रको सम्बन्धमा र यससँग सम्बन्धित शैक्षिक सबालहरुमा सरकार अनिर्णयको बन्दी देखिनु पटक्कै शोभनीय भएन । लाखौं विद्यार्थीहरुको भविष्यसँग जोडिएका विषयहरुमा सरकारले किटानी निर्णय बेलैमा प्रवाह गर्नैपर्छ । -एजुकेशनपाटी

प्रकाशित मिति: मंसिर २० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend