Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पौरखी शिक्षा कहिले ?

हाम्रो कोशी आवाज
पुष ११ २०७७, शनिबार
पौरखी शिक्षा कहिले ?

कुनै पनि राज्यलाई ध्वस्त बनाउने हो भने कुनै एटम बमको आवश्यकता नै पर्दैन, त्यहाँको शिक्षा प्रणालीलाई ध्वस्त बनाए पुग्छ । शिक्षा राज्यको विकास र सम्वृद्धिको आधार हो । हामी गुणस्तरीय शिक्षा विना राज्यको विकास र सम्वृद्धिको परिकल्पना गर्न सक्दैनौं । तर राज्यको गलत शिक्षा नीतिका कारण देशको भविष्य अन्धकार देखिँदैछ । व्यवसायिक तथा जीवन उपयोगी शिक्षा भन्दा सैद्धान्तिक शिक्षामा जोड दिँदा शैक्षिक बेरोजगारीको संख्या दिन प्रतिदिन बढ्दै गएको तितो यथार्थता हाम्रो सामु प्रष्टै छ । हामी व्यवसायिक तथा जीवन उपयोगी शिक्षाको अभावमा मालिक होइन दास बनिरहेका छौँ । हाम्रो शिक्षा यस्तो छ, हाम्रा बालबालिकाहरुले दैनिक जीवनमा गर्नुपर्ने काम पनि गर्न सक्दैनन् । बालबालिकालाई दुध केले दिन्छ भनेर प्रश्न सोध्यो भने उनीहरुको जवाफ हुन्छ, मोटरसाइकल । एउटा सागको विरुवा रोपेर फलाउन सक्ने सिप पनि हाम्रा बालबालिकाहरुमा छैन । दैनिक जीवनमा गरिने क्रियाकलाप जस्तो ः धान खेती कसरी गरिन्छ, मकै कसरी फलाईन्छ, कोदो कसरी रोपिन्छ, गाई वस्तु कसरी पालिन्छ ? यी र यस्तै प्रकारका कुनैपनि कुराको ज्ञान नै छैन् । यिनै जीवन उपयोगी र व्यवहारिक शिक्षाको अभावमा हामी बेरोजगारीको सिकार बनिरहेका छौ, हामी दिन प्रतिदिन गरिबीको दुष्चक्रमा फसिरहेका छाँै । हामीसँग प्रशस्त संभावना हुँदाहुँदै पनि व्यवहारिक र जीवन उपयोगी शिक्षाको अभावमा आत्मनिर्भरताको सट्टा परनिर्भरताको बाटो तिर लागिरहेका छौं ।
प्राकृतिक साधनले सम्पन्न यो मूलुकमा प्रचुर मात्रामा प्राकृतिक स्रोत र साधनको उपयोग र सदुपयोग गर्ने र कृषि क्षेत्रको भरपुर उपयोग हुने खालको शिक्षा दिन सक्ने नीति सरकारले किन ल्याउदैन ? अव राज्यले सैद्धान्तिक शिक्षामा भन्दा व्यवसायिक र जीवन उपयोगी शिक्षामा जोड दिएर स्वरोजगारको सिर्जना गर्दै परनिर्भरता घटाउने उद्देश्य राख्नु पर्दछ । यसबाट मात्र राज्यको उन्नति र प्रगति हुनसक्छ । स्वरोजगारको सिर्जना भई गरिबीको संख्या घटेर जानेछ । प्रत्येक नागरिकमा परनिर्भरता घटेर आत्मनिर्भरताको अवसर प्राप्त हुनेछ । राज्यको व्यापार घाटा क्रमशः घट्दै जानेछ । अब हामीले बालबालिकाहरुको अभिरुचिमा आधारित भएर शिक्षा नीतिको निर्माण गर्नु आवश्यक छ । बालबालिकाहरुलाई जबर्जस्ती सैद्धान्तिक शिक्षा दिनु भन्दा उनीहरू जे चाहन्छन् त्यही शिक्षा दिनु पर्दछ । काठको काममा अभिरुचि हुनेलाई काठ कै काममा, रेडियो, घडी, टेलिभिजन, मोबाइल बनाउने अभिरुचि भए त्यही काममा, बिजुलीको काममा अभिरुचि भए त्यसैमा, खेतवारीको काममा अभिरुचि भए आधुनिक खेतीका विषयमा शिक्षा दिनु पर्दछ । बालबालिकाहरुलाई उनीहरु जुन विषयमा अभिरुचि राख्छन् त्यही बिषयमा शिक्षा दिइयो भने पठनपाठनमा ध्यान दिन्छन् र सो विषयमा उनीहरू सक्षम र सफल हुन्छन् । तल्लो तहदेखि नै अंग्रेजी, गणित र विज्ञान विषयहरु अनिवार्य गराईदाँ यि विषयहरुमा बालबालिकाहरु पारङ्गत नहुँदा माथिल्लो तहमा जान नसक्ने र सो कारणले बिचमा नै पढाइ छोड्ने प्रवृत्ति बढेको देखिन्छ । यसरी जबरजस्ती बालबालिकाहरुको अभिरुचि नभएको बिषयमा पठनपाठन गराँइदा र अभिरुचि भएको बिषयमा पढ्न नपाउँदा बिचमा नै पढाइ छोड्दा उनीहरूको भविष्य अन्धकारमय हुन्छ । कतै यसको जिम्मेवारी हामी नै हौँ कि भनेर किन नसोच्ने ? त्यसैले अब विद्यालयलाई सैद्धान्तिक शिक्षा दिने थलोको रुपमा मात्रै होइन प्रयोगशालाको रुपमा पनि रुपान्तरण गरिनु पर्दछ ।
अहिलेका बालबालिकाहरूले आफ्नो काम आफै गर्ने व्यवहार छोडिसके, घरायसी काममा सरसहयोग गर्ने, आफ्नो आर्थिक अवस्था बुझ्ने र तदनुरूप व्यवहार गर्ने, प्राप्त गरेको शिक्षाले जीवन र जगतलाई बुझ्ने, हरेक स्थिति, परिस्थितिको आलोचनात्मक चेतनाको विकासका लागि विश्लेषण गर्ने, शिक्षा र सिकाइलाई व्यवहार उपयोगी, जीवन उपयोगी बनाउने प्रयत्न जीवन उपयोगी र व्यवहारिक शिक्षाले मात्र गर्न सक्दछ । जान्नु, सूचना लिनु वा थाहा पाउने कुरा मात्रै शिक्षा होइन, त्यो जानकारीको तह मात्रै हो । थाहा पाएको कुरालाई काममा प्रयोग गर्नु र प्रयोग गर्दा प्राप्त गरेको महशुस नै शिक्षा हो । शिक्षाले मानिसलाई आलोचनात्मक दृष्टिकोण तथा रूपान्तरणका लागि तयार गर्नु पर्दछ । शिक्षण सिकाइको मापन प्रक्रियालाई व्यवहारमा कति परिवर्तन भयो ? भन्ने हुनुपर्दछ ।
सामान्यतया शिक्षित मानिसले काम गर्ने कुरा आम नेपालीका लागि लाजको विषय बन्छ । सर्टिफिकेट प्राप्त गरेका व्यक्ति जान्ने र कृषिमा रातदिन पसिना बगाएर उत्पादन क्षेत्रमा जोडिएका मानिसहरु नजान्ने मनस्थितिको निर्माण भएको छ । श्रम प्रतिको घृणा, कामप्रतिको लाजले अधिकांश नेपालीहरूलाई अभाव र गरिबीको दुष्टचक्रममा फसाएको छ । अरुले के भन्लान् ? पढेको मान्छेले पनि सामान्य काम गर्नु हुन्छ ? भन्ने सोच हामीमा जरा गाडेर बसेको छ । अवको शिक्षाले यस्तो प्रकारको सोच हाम्रा बालबालिकाहरुको मनस्थितिबाट निकाल्नु आवश्यक छ । यसो हुन नसके शिक्षित भनिएका हजारौं जनशक्ति बेरोजगार बनेर बस्न वा विदेशमा गएर जोखिमपूर्ण काम रोज्न अझै पनि बाध्य हुनेछन् । शिक्षाको काम मानिसमा आलोचनात्मक दृष्टिकोण तथा रूपान्तरणका लागि तयार गर्नु हो तर हाम्रो शिक्षा प्रणालीको काम मानिसलाई विद्यमान अवस्थामा जिउन र समायोजन हुनसक्ने बनाउनु रहेको छ । हाम्रो शिक्षा प्रणालीले पढ्नुको अर्थ जागिरका लागि तयार हुनु रहेको छ । रूपान्तरणकारी वा जीवन उपयोगी शिक्षा प्रणालीले विद्यार्थी वा सहभागीको रुचि र आवश्यकता अनुसारको विषयवस्तु छनोट गर्ने कोसिस गर्दछ ।
हाम्रो शिक्षा प्रणालीमा आफ्नो जीवन भोगाइमा आधारित पाठ्यक्रम निर्माण नहुँदा उच्च शिक्षा समेत बोझिलो, अव्यवहारिक र सर्टिफिकेट प्राप्त गर्ने माध्यम मात्रै बन्न पुगेको छ । एउटा सामान्य किसानको छोरा विज्ञानको कुनै विषयमा डिग्री ग¥यो तर रोजगारीको अवसर प्राप्त गर्न सकेन भने फर्केर कृषिलाई आफ्नो पेसाका रूपमा अघि बढाउन सक्दैन । नजान्ने र केही गर्न नसक्ने मान्छे संसारमा कोही हुँदैन । हरेक मान्छेसँग केही न केही सीप छ, क्षमता छ र उसले गर्न चाह्यो भने जे काम पनि गर्न सक्छ । फरक के मात्र छ भने मानिसले आफूलाई चिन्ने, आफनो शक्तिको विश्लेषण गर्ने वातावरणको अभाव छ । यो अभाव हाम्रो समुदायका, हाम्रो समाजका हाम्रो राज्यका केही टाठाबाठा भनिएका मानिसहरूले आफूमात्रै जान्ने अरू सबै नजान्ने, विश्वविद्यालयका सर्टिफिकेटधारी मात्रै जान्ने तर विद्यालय क्याम्पस नजाने जति नजान्ने भन्ने गलत शिक्षा नीति र हाम्रो श्रम प्रतिको अपमान गर्ने प्रवृत्तिका कारण यसो भएको हो तर समाजशास्त्री एवं मानव शास्त्रीहरूको सामूहिक निष्कर्ष के हो भने संसारमा नजान्ने मान्छे हुँदैनन् । हरेक मान्छेसँग केही न केही ज्ञान, सीप र क्षमता हुन्छ । उचित वातावरण पाएको खण्डमा मानिसहरूको अन्तरनिहित ज्ञान, सीप र क्षमता बाहिर आउँछ । ब्राजिलका शिक्षाविद् पाउलो फेरेरेको दर्शनमा आधारित क्रिटिकल प्याडागोजीमा विश्लेषणात्मक शिक्षाले मानिसहरूलाई विश्लेषण र आलोचनात्मक चेतनाको प्रकाशमा रहेर जब आफूलाई प्रस्तुत गर्न थाल्छ । तब मात्रै सारा घटना, चिजवस्तु र व्यक्तिगत एवं सार्वजनिक जीवनको चिरफार गर्न थाल्छ । यो चिरफारसँगै मानिसले आफूलाई सच्याउने र अरूलाई सच्चिनका लागि पृष्ठपोषण दिन सक्ने क्षमता राख्दछ । मानिस भित्र रहेको ज्ञान र चेतनाले संसारका सबै वस्तु, घट्ना र आफ्नो समुदाय समाजका बारेमा विश्लेषण गर्दै तर्कशक्तिको विकास गर्दछ । खोजी गर्ने चेतनाले बारम्बार मानिसलाई क्रियाशीलता प्रदान गर्दछ र गरेर सिक्ने प्रक्रियाको विकास गर्दछ । ठीक बेठीक छुट्याउन सहयोग गर्दछ । श्रमप्रतिको सम्मान सिर्जना गर्दछ र हरेक मानिसलाई उत्पादन प्रणालीसँग आबद्ध गराउने, समय व्यवस्थापन गर्न सक्ने सकारात्मक दृष्टिकोण विकास गर्न शिक्षाले सहयोग गर्नुपर्दछ ।

प्रकाशित मिति: पुष ११ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend