धरानः धरानमा प्रचण्ड-नेपाल समूहको विरोध प्रदर्शन भएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश १ का इन्चार्ज तथा स्थायी कमिटी सदस्य भीम आचार्यले आफूहरु कुर्सीका लागि नलडेको बताए । सडकबाटै संसद पुनस्थापित गराएरै छाड्ने उनको दावी थियो । ‘हामी पद र कुर्सीका लागि सडकमा आएको होइन’, उनले दावीका साथ भने, ‘सडकबाटै संसद पुनस्थापित गराएरै छाड्छौं ।’
उनले सरकारले सिन्को समेत नभाँचेको बताए । ‘ठूलो आयोजना, ठूलो विमानस्थल शुरु भएन, अन्य परियोजना शुरु भएनन्’, उनले प्रधानमन्त्री ओलीप्रति इङ्गीत गर्दै भने, ‘पार्टीले सुझाव दियो, जनता सरकारप्रति रुष्ट छन्, काम गर्नुहोस्, तरपनि काम भएन, पार्टीले काम गर्न दिएन, संसदले दिएन मात्रै भनिरहनुभयो ।’
कार्यक्रममा बोल्दै नेकपाका १ नम्बर प्रदेशका सदस्य मुक्सामहाङ मेन्याङ्बोले संसद विघटन गरेर भागेको आरोप लगाए । उनले पार्टीबाट भागेको, संसद विघटन गर्दै भागेको बताउँदै उनले भने, ‘लाखौंलाख जनतामाथि विश्वासघात गर्नुभएको छ, तपाई भाग्न पाउनुहुन्नँ ।’ उनले भने । जनताले बनाएको संविधानलाई सरकारले निमोठेको उनको भनाइ थियो । उनले न्यायिक निकायले संसद पुनस्थापित गराउने उनको दावी थियो ।
कार्यक्रममा बोल्दै जिल्ला सचिव रमेश बस्नेतले संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाए । ‘संसद विघटन गर्ने अधिकार सरकारमा छैन’, उनले भने, ‘यसले देश अस्थिरतातर्फ मोडिएकोमा दुःखी छौं ।’
धरानस्थित पार्टी कार्यालयनजिक सिंहदेवी चोक निस्किएको रयाली भानुचोकमा कोणसभामा परिणत भएको थियो ।
तस्वीरहरुः लक्ष्मण थापा















