क्रिष्टोफर कोलम्बसको जन्मस्थल इटालीको दुईहप्ता भ्रमणपछि १२ अक्टोबर २०१७ को दिनहामी लण्डनदेखि जमैका जाँदै थियौं हामीलाई यात्रामा सदाझैं भाइ कृष्ण र बहिनी सानुले साथ दिइरहनु भएको थियो ।
लण्डनदेखि उडेको साढे दश घण्टापछि मस्याइला पाराको आवाजमा बिमान अबतरण भयो । बिछट्टै सङ्लो सामुन्द्रिक जल र सेतासेता बालुवाद्वारा निर्मित ‘ट्रपिकल ब्लिस बीचको’ दायाँ किनारमा अवस्थित मन्टिगो बे बिमानस्थलमा ड्रिमलाइनर अवतरण हुँदा पानीमाथि अवतरण भएझै अनुभव गरिरहेको थियौ । लामो समयसम्म आकाशमा उडेर जमैका पुगेको हुनाले मलाई पनि किन किन कोलम्बसलाई जस्तै अर्कै संसार पुगेझै लागिरहेका थियो ।
हातेघडीको काँटाले स्थानीय समय बिहानीको ठीक एघार बजाएको थियो । विमान अवतरण भएर मनढुक्क भएपछि हत्तपत्त विमानका झ्यालदेखि बाहिर नियाले । दम्साइला डाँडाका थुम्कामा देखिएका हरिया वनजंगल अनि निलो आकाशसम्म पुगेर ठोकिएको निलै पानी र सेताम्मे बालुवासँग मस्ती जमैकाको पहिलो नजरले मेरो मन बहकिरहेको थियो । विमानस्थलदेखि बाहिर निस्कने क्रममा अचानक क्यारेबियन सागरदेखि उत्पन्न भएको मन्दमन्द बतासले मेरो गालामा छुँदा लखतरान भएको शरीरलाई चंगाझै फुरुरु उडाइरहेको महसुस भइरह्यो ।
हामी बाहिर निस्किएपछि केहीबेर त्यही उभिरहेका थियौं । हामीलाई देखेर करिब साढे पाँच फिट जति अग्ली, सेती, खान नपाएर बेपत्ताको दुब्लो शरीरमा अस्वाभाविक रुपले उठेको छाती लिएर एउटी युवतीको अनुहार मेरो अनुहारसँग मज्जाले ठोकियो । उनको अनुहार ठोकिने बितिक्कै, ‘यहाँहरुलाई जमैकामा हार्दिक स्वागत छ,’ मिठो मुस्कान सहित आँखा झिमक्याउँदै उनी बोलिन् । त्यसपछि उनले ‘कोच सी’ मा चढ्नको लागि सङ्केत गरिन् ।

उनले देखाएकी कोचतर्फ हाम्रा पाइतालाहरु सुस्तरी अगाडि बढे । यात्रुहरुको प्रतीक्षा गरेर बसिरहेका एकजना अश्वेत कोच चालकको नजिकै पुग्यौं । हामीलाई देखेर चालक फिस्स हासें, तर केही नबोली हाम्रा सुटकेसहरु कोचको मुनि भण्डारमा राख्न मद्दत गरे । सुटकेसहरुले भण्डारमा स्थान पाएपछि हामी सरासर कोचभित्र पस्यौं ।
एकैछिनमा यात्रुहरुले कोच टन्न भरिए । कोचको ढोका बन्द हुने बितिक्कै चालकले, ‘यहाँहरुलाई जमैकामा न्यानो स्वागत छ,’ भन्दै स्पिकरमा बोले, त्यसपछि रेडियोको स्वीच टक्क थिचें । रेडियोदेखि मार्लीको गीत बज्न र कोचको टायर गुड्न झनझनै एउटै समयमा सुरु भएको थियो । सर्वाधिक लोकप्रिय जमैकन गायक बोब मार्लीको ‘बफेलो सोल्जर’ गीतदेखि आरम्भ भएको हाम्रो यात्रा ‘नो ओमन नो क्राइ’ मा पुगेर सकिएको थियो । कोचबाट छोटो दुरीको यात्रा गरेर हामी मन्टिगो बे बन्दरगाहमा पुगिसकेका थियौं ।
बब मार्लीको गाउँमा मध्यान्हको मौसम ज्यादै सुन्दर थियो । सधै पिच्चपिच्च रोइरहने बेलायती आकाशभन्दा जमैकाको निला आकाशले हामीलाई मज्जाले आकर्षण गरिरहेको थियो । हुन त बेलायत र मध्य अमेरिकाको मौसम तुलना गर्न मूर्खता शिवाय अन्य केही हुन्थेन ।
हाम्रो बायाँपट्टि एउटा सेतो पहाडजस्तो देखिने बडेमानको पानीजहाजले हाम्रो प्रतीक्षा गरेर बसिरहेको थियो । हामी पस्नै लागेको त्यो पानीजहाजलाई देखेर हाम्रो मन फुरुङ्ग हुँदै हावामा उडिरहेका थिएँ । केहीबेरमा हामी अगाडिको मानिसहरु बन्दरगाहको अध्यागमन भित्र सुस्तरी विलय हुँदै गएँ । त्यसपछि हामी पनि कमिलाको ताँतीझै उनीहरुको पछिपछि पङ्क्तीबद्ध भएर पछ्याउन थालेका थियौं ।
सुस्तरी अध्यागमनलाई पार गरेर ‘थोम्पसन ड्रिम’ भित्र पस्दा अपराहनको दुई बजेको थियो । तर क्रुजभित्र पाइताला पार्नेबित्तिकै सुरक्षा अधिकृतहरुले कोठा तयार भइसकेको छैन । कृपया दशतलामा गएर लन्च खानुहोला भन्ने अनुरोध गरे । उनीहरुको अनुरोधलाई स्वीकार गर्दै लन्च खाने स्थानमा पुग्यौं । खाना खाएर त्यही आराम गरिरहेको थियौं । अचानक ध्वनिसूचक यन्त्रदेखि कोठाहरु पूर्णरुपले तयार भएको खबर मिल्यो । त्यसपछि पूर्वसल्लाह भए बमोजिम आ–आफ्ना कोठामा पुगेर झन मज्जाले आराम गर्न थाल्यौं । बिमानको लामो यात्राले थाकेर लखतरण परेका थियौं । त्यसैले कोठामा पुगेर निकै लामो समयसम्म आराम गरिरह्यौं ।
पाँचघण्टा आराम गरेर ब्युँझेपछि फेरि पानीजहाजको १० औं तलामा पुगेका थियौं । तर हामी त्यहाँ पुग्नुअगावै पानीजहाजले क्यारेबियन सागरको यात्रा आरम्भ गरिसकेको थियो । क्यारेबियन सागरमा त्यसदिनको बिदाइ र नयाँ रातको स्वागतलाई १० औं तलादेखि निक्कै लामो समयसम्म नियालेर हेरिरह्यौं । मन्टिगो बे जमैकाको क्षितिज गाढा रङमा परिणत हुँदै समुन्द्रमा सर्लक्कै बिलाएपछि नुहाइधुवाइ गर्न, भट्टी पसलमा पुगेर जाँड पिउन र अन्तमा खाना खानको लागि नै त्यस रातको सबै समय खर्च भएँ ।
भोलि बिहान उठेर खाजा खानको लागि पानीजहाजको १० औं तलामा पुगेका थियौं तर हामी त्यहाँ पुग्न अगावै पानीजहाज लिमोन बन्दरगाह, कोष्टारिकामा मज्जाले आराम गरिसकेको रहेछ । पानीजहाज बन्दरगाहमा रोकिसकेको हुनाले चाँडोचाँडो खाजा खायौं र बाहिर निस्किहाल्यौं । बाहिर निस्केपछि थोरैबेर हिँडेका मात्र के थियौं । बन्दरगाहको कारपार्कमा पुगिहाल्यौं ।
एउटा ठूलो बाक्लो सेतो कागतमा ठूलठूला अक्षरमा मेरो नाम लेखेर पथप्रदर्शक हाम्रो प्रतिक्षा गरेर बसिरहेकी देखिहाल्यौं । र, उनलाई देखेपछि हात उठाउँदै उनको नजिकै पुग्यौं । पथप्रदर्शकसँग भेट्ने बितिक्कै, ‘मेरो नाम लुशियाना हो,’ आँखा झिमझिम गर्दै उनको नाम बताइन् । परिचयको क्रममा हाम्रो नाम पनि बतायौं । त्यसपछि उनी सँगसँगै हिँड्न थाल्यौं । हाम्रा कदमहरु थोरै चलेका मात्र के थिएँ । अघि नै हामी चढ्ने मटरको नजिक पुगिसकेका रहेछौं । हामी त्यहाँपुग्दा मटरको ढोका खुला थिएँ, त्यसैले मटरमा चढिहाल्ने सङ्केत गरिहालिन् ।
मटरमा चढेर सिटमा आसन गर्नेबित्तिकै चक्का गुड्न थालिहाल्यो । लुशियानाले बोल्ने क्रममा लगभग पाँच वर्ष जति क्यारेबियन क्रुजमा काम गरेकी अनुभव हामीलाई त्यसबेला बाँडिन् । उनी हालसालै वैवाहिक गठबन्धनमा परेकी रहेछिन् र बच्चा जन्माउने उद्देश्यले क्रुजको कामलाई सधैंको लागि छाडेकी भन्नपनि बाँकी राखिनन् । अझै शेषजीवन पथप्रदर्शक भएर गुजार्ने रहर गरेकीले नयाँ काम गर्न आरम्भ गरेकी कुरोपनि अति प्रसन्नताको साथ हामीलाई सुनाइ हालिन् ।
हाम्रो लागि नयाँ ठाउँ, परिवेश र पहिलो भेट भएको हुनाले उनको कुरोलाई ध्यानपूर्वक सुनिरहेका थियौं । कोष्टारीकामा धैरैजसो युरोपियन पर्यटकहरु मात्र भेट्ने पथप्रदर्शकले त्यसदिन अलिक फरक अनुहार देखेपछि –
‘होइन, तपाईहरु कहाँदेखि आउनु भएको हो ?’ थोरै आश्चर्य चकित हुँदै हामीलाई प्रश्न गरिन् ।
प्रत्युत्तरमा मैले, ‘नेपाल’ मात्र भनेको के थिएँ । उनी मेरो कुरो सुनेर दङ्ग परिन् । ‘अरे, नेपाल कहाँ पर्छ ?’ हतारहतार अर्को प्रश्न बर्सिहाल्यो । म पनि के कम थिएँ र ? उनको बोली भुइँमा झर्न नपाउँदै, ‘नेपाल एशियामा पर्छ,’ भनेर उनको कौतुहलता मेट्ने प्रयत्न गरिहालें ।
‘जेहोस्, मलाई अहिलेसम्म एशिया पुग्ने शौभाग्य चाहिँ जुरिसकेको छैन,’ पहिले भनिन् त्यसपछि शान्त भएर बसिरहिन् ।

किरातीको छोरो भएकोले म अलिक फुच्चे थिएँ । तै पनि उनको ठीक पछाडिको सिटमा मज्जाले खुट्टा तन्काएर आसन गरिरहेको थिएँ । अझ मेरा आँखा चिम्सा चिम्सा भएपनि आक्कल झुक्कल कर्के नजरले अनायसै उनलाई हानिरहेको हुन्थे । उनले भनिछाडेकी अन्तिम वाक्यांशपछि मुन्टोलाई बायाँ दिशातिर फर्काएकी थिइन् । र, झ्यालदेखि बाहिर हेरेर उनको दिमाग खियाउन थालेकी थिइन् । तर जति दिमागलाई घोटेपनि कहिल्यै एशिया नपुगेकी मान्छेलाई नेपालको बारेमा झन् के थाहा हुने भन्दै म पनि चुपचाप बसिरहें । विचरीले एकछिन पछि नेपालको नाम जिन्दगीमा प्रथमचोटी सुनेकी हुनाले सानो स्वरले क्षमा याचना मागिन् ।
‘लुशियाना ! कुनै सुर्ता गर्न पर्दैन ?’
अझ मैले कुरो थप्दै जान थालें । ‘खै, तपाइलाई के भनौ र ?’ झन मेरी श्रीमतीले क्यारेबियन टापुहरु र दक्षिण अमेरिकाको कुनैपनि देशहरुको नाम अहिलेसम्म जानेकी छैनन् । मैले कतिचोटि उनलाई पाठ पढाएँ, तै पनि भालुलाई पुराण सुनाएझै मात्र भइरह्यो । अहँ, उनले अहिलेसम्म पटक्कै पारा ल्याउन सकेकी छैनन् । त्यसैले मलाई यदाकदा कन्फ्युशियसले भनेको तिनै कुरोको झलझली याद आइरहने गर्दछन् ।
‘जबसम्म कुनै चिजलाइ प्रत्यक्ष देख्न सकिँदैन, तबसम्म त्यसलाई चाल पाउन सकिँदैन ।’
सायद त्यसैले होला प्रायः धेरैजसो कुरोहरु आफ्नो आँखाले देखेपछि मात्र जान्नको लागि सजिलो हुने गर्दछ । अझ स्वभावैले मानिसहरु धनी र प्रख्यात कुरो मात्रै चिन्ने र जान्ने गर्दछन् अनि हामी ज्यादै गरिब छौं, जसले गर्दा विश्वको थोरै मानिसहरुले मात्र हामीलाई मुश्किलले चिन्दछ । त्यति भनेर उनलाइ थोरै सान्त्वना दिने प्रयत्न गरें । कसोकसो मेरो कुरोले उनलाई चिलाएको ठाउँमा कन्याएको जस्तो भएछ क्यारे, त्यसैले म तिर फर्केर एकचोटी कोष्टारिकन मुस्कानले झट्टारो हानि पठाइन् ।
‘लिमोन रुट ३६’ मा मटर एक रफ्तारले गुडिरहेको थियो । नजिकै देखिएको अन्तर्राष्ट्रिय विमानस्थललाई बायाँदिशामा पारेर हामी होमरलाई सम्झिँदै मध्य अमेरिकन देशहरुको एउटा ‘साहसिक यात्रा’ गरिरहेका थियौं । सडकको दायाँतर्फ पातलो बस्तीहरु र धेरै फाँटिलो जमिनहरुले हामीलाई यदाकदा जिस्क्याइरहेको जस्तो आभास हुन्थे । म एउटा बुभुक्षित सपना लिएर कोष्टारिकाको जमिनमा टेकिरहेको थिएँ । जुन निराहार सपना भनेको त्यहाँ पुगेर कोलम्बसले टेकेका पाइतालाका डोबहरु पत्ता लगाउनु थियो । त्यसैले प्रशान्त महासागर र क्यारेबियन सागरको बीचमा सान्डविच भएर रहेको देश कोष्टारिका पुग्दा मेरा मन प्रफुल्लित मुद्रामा उडिरहेका थिएँ ।
पोर्टो लिमोन (पोर्टो भन्नाले स्पेनिस भाषामा बन्दरगाह भन्ने बुझिन्छ) त्यसको मतलब लिमोन बन्दरगाहदेखि हामी सामुन्द्रिक तट ‘प्लाया नेग्रा’ तर्फ जाँदै थियौं । हाम्रो लिमोनको समय क्यारेबियन सागरको तटमा अबिरल बहिरहने ‘पाकुअरे’ नदिझै एकसुरमा बहिरहेको थियो । हामी क्रमशः बाटोलाई छिचोल्दै गइरहेका थियौ । अचानक हाम्रा आँखा नथाक्ने गरि कोष्टारिकन उष्णप्रदेशीय जङ्गलहरु देखापर्न आरम्भ गरें । जसलाई देखेपछि, कताकता तिनै जङ्गलले हामीलाई न्यानो स्वागत गरिरहेको छ कि जस्तो आभास हुन थाल्यो । अझै त्यति आकर्षक जङ्गलले आफ्नै घर बुईपा, खोटाङमा रहेको दम्कुडाँडा जङ्गलको बेस्सरी तिर्सना मेटाइदियो ।
लिमोन हाइवेमा मटर आफ्नै गतिमा क्रमशः अगाडि बढिरह्यो । मटरको गति सँगसँगै त्यति आकर्षक जङ्गललाई मन्त्रमुग्ध हुँदै हामी एकसुरले रमिता हेरिरह्यौं । एकछिनपछि ठूल्ठूला रुखका हाङ्गाहरुमा ओरालो मुन्टो बनाएर झुण्डिरहेका ‘स्लोथ’ आलसहरुलाई देख्दा छक्क परिरह्यौ । ठीक त्यहीबेला हाम्रा आमोदी मनहरुलाई विचलत गर्दै –
‘खै ! एकछिन मटर रोक्नोस त ?’
पथप्रदर्शक लुशियानाले चालकको काँधमा सुस्तरी हात राखिन् त्यसपछि टकटक गर्दै मटर रोक्नको लागि सङ्केत दिइन् । चालकले उनको हुकुमलाई शिरोपर गर्दा अतालिएर झ्याम्मै ब्रेक हिर्काइहाले । त्यसरी एक्कासी ब्रेक लगाउँदा मटर सङ्कटकालीन अवस्थामा रोक्न परेकोझै घचक्कै रोकियो । अचानक झ्याम्मै मटर रोकिंदा कुनै ठूलो दुर्घटना त घटेन । तर मन्त्रमुग्ध भएर कोष्टारिकन जङ्गल हेरिरहेकी तारा उछिटिएर झण्डै चालकको छेउमा टाँसिन पुगिन् ।

‘आम्मै ! झण्डै मारयो ?’
अतालिँदै चालकको सिट पिछाडि समात्न पुगेकी ताराको मुखबाट उक्त्त शब्द फुत्किहाल्यो । ‘काठमाण्डौंबाट लिमोन, कोष्टारिका १५ हजार ६ सय किलोमिटर टाढा रहेको छ । यदि हिँडेर यहाँ आउने हो भने मानिसलाई सातजुनि लाग्ने रहेछ, त्यसैले अलिक संयम हुनु,’ भनेर राम्ररी सम्झाइबुझाइ गरें । हामीले यस धर्तीमा ३५ वटा हिउँदहरु सँगसँगै कटाइसकेका थियौं । त्यसैले मैले भनेको सबैकुरो त उनले के सुन्थिन र ? धेरैजसो सुन्ने गरेकी थिइनन् । बरु मेरो भनाई सुनेर भाई बहिनीहरु चाहिँ खित्का छाडिछाडी लामो समयसम्म हासिरहें ।
मटरको सबैभन्दा छेउपट्टिको सिटमा म नै आसन गरिरहेको थिएँ । त्यसैले मटरदेखि सबैभन्दा पहिले म नै सडकमा झरे । सडकमा झर्ने बितिक्कै धेरैबेरसम्म कक्रक्क परिरहेको खुट्टालाई तन्काउन थालिहालें । अरुपनि विस्तारै झरे र सडकको किनारमा उँभिएर आलसहरुको रमिता हेर्न थालिहालें ।
हाम्रा सामन्ने थुप्रै आलसहरु देखा परिरहेका थिएँ । त्यति लोभलाग्दो आलसहरुलाई हामीले जिन्दगीमा प्रथमचोटी देखेका थियौं । त्यसैले हाम्रा मनहरु तिनीहरुको शरीरदेखि उडेका भुवाझैं सरर हावामा उडिरहेका थिएँ । चालकले मटरदेखि झर्ने छाँट देखाएका थिएनन् । तर लुशियाना हामीभन्दा थोरै टाढा उभिएर दायाँबायाँ नजर लगाइरहेकी थिइन् । एकछिनपछि उनी हिँड्दै मेरो नजिकै आइपुगिन् । र, मधूरो स्वरमा उनको पछिपछि आउन हामीलाई आग्रह गरिन् । दुई–चार कदम उनको पछिपछि हिँडेको थियौं । बायाँपट्टिको रवरको रुखमा सुतिरहेको एउटा आलसलाई चोरऔंलाले घोचेर देखाउँदै, ‘त्यो भाले आलस हो,’ उनले भनिन् ।
खै उनले भाले र पोथी आलसलाई कसरी चिन्न सकिनँ । मैले त्यति गहिरिएर बुझ्नै सकेको थिइन् । तै पनि उनले फलाकिरहेकी हरेक शब्दहरुलाई राम्ररी सुन्ने प्रयत्न गरिरहेको थिएँ । केहीबेरमा उनी म तर्फ फर्किन् र मेरो कानमा खासखुस गर्न थालिन्, ‘यो जन्तु यति अल्सी हुन्छ कि दिनमा १५ घण्टा भन्दा बढी सुत्ने गर्दछ ।’ उनको भनाइ सुनेर म आश्चर्यचकिंत भएँ । मुख खोलेर वा…भनेको मात्र के थिएँ । मेरो आवाज सुनेर बिचरो बबुरो झस्किँदै ब्युँझिहाल्यो ।
‘लुशियाना ! त्यति लामो समयसम्म सुत्दा के यिनीहरुलाई भोक लाग्दैन र ?’
मेरो प्रश्न भुईमा खस्न नपाउँदै, ‘लाग्छ नि किन नलाग्नु । यो एकछिनमा रुखका पातहरु खानको लागि ब्युँझन्छ, त्यसपछि फेरि सुतिहाल्छ । सायद तपाईहरुलाई थाहा नहुन सक्छ । यसले एकदिनमा करिब आँधा फुटबल खेलमैदान जति मात्र हिँड्ने गर्छ । र, मुस्किलले हप्तामा एकचोटी जति रुखदेखि भुइँमा झर्छ र फेरि चढिहाल्छ । सुत्नमात्र खोजी रहने यो जनावर एकदम दुःखी छ ।’ करुणामय उनको शब्दहरु पूर्णविराम हुन नपाउँदै आलसको जीवन प्रवृति सुनेर हामी चारैजना तीनछक्क परिरह्यौं ।
अल्सी आलसहरुसँग बिदावारी भएपछि क्रमशः ‘प्लाया नेग्रा’ तर्फ लाग्यौं । त्यहाँ पुगेर सामुन्द्रिक तटमा रहेको कोष्टारिकन रेष्टुरामा मध्यान्हको खाना हसुरेपछि केराबारीतिर घुम्नको लागि निस्क्यौ । किनभने कोष्टारिकाको केराले विश्व बजारमा राम्रो प्रतिष्ठा कमाएको छन् ।
लिमोनको समय दिउँसोको साढे दुई बजेको हुनुपर्छ । हामी ‘टोर्टुगेरो’ नहरमा नौका चढ्नका लागि पुगिसकेका थियौं । विभिन्न प्रजातिका चराचुरुङ्गी, कछुवा, गोही र बाँदरहरुको रमाइला खेल हेर्ने पाइने त्यो नहर लिमोन राष्ट्रिय निकुञ्जको मुटुमा अवस्थित रहेको छ । हामीले नहरमा पुगेर एउटा डुङ्गा भाडामा लियौं । र, जेम्स बोन्डको कार्यशैलिमा डुङ्गादेखि नहरको शयर गर्न थाल्यौं ।
टोर्टुगेरो नहरमा डुङ्गा आफ्नै गतिमा अगाडि बहिरहेको थियो । लुशियानाले हात तेस्र्याएर देखाउँदै बोल्न थालिन्, ‘उ त्यो परको सानो दीपमा कोलम्बसले कोष्टारिका आउँदा उनका पानीजहाज रोकेका थिएँ ।’ उनको कुरो सुनेर चारैजनाको मुन्टो एक्कासी त्यतातिर घुमिहालें । मैले उनको तिनै शब्दहरुलाई धेरै लामो समयसम्म प्रतिक्षा गरिरहेको थिएँ । किनकि मलाई त्यहाँ देखिएका जङ्गली जीवजन्तुले गरेको आकर्षणभन्दा कोलम्बसले गरेको क्यारेबियन यात्राले झन धेरै आकर्षण गरिरहेको थियो । उनले देखाएकी तिनै दिपतर्फ नजर लगाइरहेको थिएँ । एकचोटी लामोसास तानेर मुश्किलले मुखखोले –
‘लुशियाना ! तपाईलाई कोलम्बसको क्यारेबियन यात्राको विषयमा के कति ज्ञान छ ?’
‘छन्, केही छन् ।’ नहरबाट उत्पन्न भएको मन्दमन्द हावाको गति सँगसँगै लुशियानाले मधुरो स्वरमा बोल्न थालिन् । उनले बोल्न सुरु गर्दा दोश्रोचोटी उनको दायाँहात उचालियो र तिनै दिपतिर पुनः तेर्सिए ।
क्रिष्टोफर कोलम्बस सन् १५०३ मा लिमन, कोष्टारिका आइपुगेका थिएँ । तर, उनी यहाँ आउनुभन्दा पहिले ३ अगष्ट १४९२ मा तीनवटा पानीजहाजहरु निना, पिन्टा र सान्टा मारियसँग स्पेन छाडेका थिएँ । उनको उद्देश्य इन्डिया हुँदै चीन र जापानसम्म पुग्ने थियो । उनीभन्दा अगाडि जहाजी अन्वेषक मार्कोपोलो युरोपदेखि पूर्व लागेर एशिया पुगेका थिएँ, त्यसैले कोलम्बसले त्यसको ठीक विपरीत दिशाबाट एशिया जानेसोंच बनाएका थिएँ ।
कोलम्बसले युरोप छाडेपछि आन्ध्र महासागरमा महिनौ दिन बिताएँ । निश्चय नै मैले यहाँ दुःखको साथ भन्नुपर्छ । उनले त्यतिबेलासम्म जमिन फेला पार्न सकिरहेका थिएनन् । तै पनि हिम्मत नहारी यात्रालाई निरन्तर पश्चिम दिशातर्फ अगाडि बढाइरहेका थिएँ । त्यतिलामो सामुन्द्रिक यात्रा गरेपनि जमिनको अत्तोपत्तो नभएपछि जहाजका कर्मचारीहरुले उनलाई ठूलो समस्या दिन थालेका थिएँ । किनभने धेरैजसो कर्मचारीहरुले त्यतिलामो यात्रा कहिलेपनि गरेका थिएनन् ।
आन्ध्र महासागरमा पानीजहाज जति पश्चिम दिशातर्फ बढ्दै जान्थ्यो, त्यति कर्मचारीहरु अब बाँचिदैन होला भनेर मनोबल गिराउँदै जान्थे । हरेक रातहरु छिपिँदै जाँदा सामुन्द्रिक हुरीले जहाजलाइ बेस्सरी हल्लाउने गर्दथ्यो । खराब मौसमले बेस्सरी जहाज हल्लिएको बेला कर्मचारीहरुको मुटुले ठाउँ छाड्दथे । त्यस्तो चकमन्न अँध्यारो रातमा अचानक सामुन्द्रिक राक्षसहरु आएर सबैलाई एकैछाक पार्ने होकि भनेर उनीहरु झन धेरै भयभित हुने गर्दथे । अझै सबैभन्दा ठूलो डर त पृथ्वी थाल जस्तो च्याप्टो होला ? र, पश्चिमपश्चिम भन्दै जाँदा कुनबेला समुन्द्रको छेउमा पुगिएला ? अनि त्यहाँदेखि बङलङ्गै खसिएर पातलमुनि पुगिएर मरिएला भन्ने नै मुख्य थियो ।
दिनरात, हप्ता र महिना बित्दै गइरहेको थियो । १० हप्तासम्म जमिनको अत्तोपत्तो लाग्न सकिरहेका थिएनन् । त्यसैले कर्मचारीहरुले इटालियन कोलम्बसलाई विदेशी धोकेबाजको संज्ञा दिँदै स्पेन फर्कनको लागि माग राखेर विद्रोह गर्न थालेका थिएँ ।
हुनपनि यात्रामा कोलम्बस मात्र लुखुक्रै इटालियन थिएँ, रहलपहल ९० जना सबै स्पेनिसहरु थिएँ । यदि कोलम्बसले हाम्रो मागलाई अस्वीकार गर्छन् भने उनलाई मारेर पानीमुनि फालिदिने कानेखुशी गरेको पनि उनले नरमाइलो मान्दै सुनिरहें । यात्रामा धेरैजसो विद्रोहीहरु ठूल्ठूला शरीर भएका भुसतिघ्रे चोर र गुन्डाहरु थिएँ । उनीहरु कारागारबाट मुक्ति पाउने आशाले रानीले भनेको मानेर सिधै यता आएका थिएँ । अनि होहल्लामा साथ दिने पानीमरुवाहरु चाहिँ भर्खरका आलाकाँचाहरु थिएँ । तिनीहरु धेरैपैसा पाउने लोभमा कोलम्बससँग बाटो लागेका थिएँ ।
‘म कर्मचारीहरुसँग एकदम ठूलो समस्यामा जाँकिएको छु ।’
सो हरफहरु उनले आफ्नो अति गोप्य डायरीमा लेखेका थिए । अब केहीदिन भित्रपनि जमिन भेटन सकिएन भने मेरो मृत्यु शिवाय अर्को कुनै विकल्प हुने छैन भन्ने पनि लेखेका थिएँ । तै पनि निक्कै धेरै पैसा कमाउने उद्देश्यले सुनको खोजीमा हिँडेका कोलम्बसले निडर बन्ने प्रयत्न गरिरहें । तर, त्यति खतरापूर्ण आन्ध्र महासागरको बीचमा एक्लो कोलम्बस निडर हुनु सिवाय अन्य धेरै विकल्पहरु पनि उनीसँग बाँकिरहेका थिएनन् ।

समय निरन्तर बित्दै गयो र दिनहुँ जेजस्ता घटना घटथ्यो । कोलम्बसले सबै घटनाहरु दैनिकिमा लेख्दै राख्ने गर्दथे । त्यस यात्रामा उनको दुईवटा डायरीहरु थिएँ । एउटा कसैले नदेख्ने गरेर अति गोप्य कुरो लेखिएका हुन्थे । र, अर्को चाहिँ जो कोहिले हेर्न र पढन मिल्दथ्यो । जुन डायरी गोप्य थियो, त्यसैमा उचित विवरणको सही अभिलेख लेखिन्थ्यो ।
१० अक्टोबरको बिहान सदाझै समुद्रको बीचबाट झलल सूर्य उदायो । हुनत हरेकदिन समुन्द्रको बीच भागदेखि सूर्य उदाउने र बेलुकी समुन्द्रमा नै अस्ताउँदथ्यो । तर, त्यसदिन सूर्यको पहिलो किरण पिन्टा जहाजमा पर्ने बित्तिकै, ‘जसले पहिले जमिन देख्छ, उसलाई सबैभन्दा राम्रो उनीको कोट दिन्छु,’ भनेर कोलम्बसले उदघोष गरे । उनको उदघोषण सुनेर विद्रोहीहरु खुशी त भएका थिएनन् तैपनि मलिन अनुहार बनाउँदै झिनो स्वीकार गरेको उनले चाल पाएँ ।
बेलुकी सूर्य गाढा रङमा परिणत हुँदै पश्चिम दिशामा अस्ताउँदै थियो । कोलम्बसले ढल्दै गरेको आफ्नो जिन्दगी र अस्ताउँदै गरेको सूर्यलाई निक्कै लामो समयसम्म हेरिरहेको थियो । अचानक निलो आकाशदेखि सूर्यलाई ढाक्ने गरेर सयौंको संख्यामा हुलकाहुल चराका बथानहरु देखापर्न थालें । लामो समयपछि देखिएको चराहरुले उनलाई थोरै राहत मिल्न पुग्यो ।
एक्कै जातिका ती पृथक चराहरु शुन्य आकाशमा दक्षिण–पश्चिम दिशातर्फ हानिएका उनले आफ्नै आँखाले देख्दा आँखा थोरै रसाएको थियो । चराका हुलले आँखामा आँशु मात्रै होइन मुहारमा थोरै खुशीका लहरहरु पनि पलाएर आएका थिएँ । त्यसरी एक्कासी चराहरु देखिएपछि हामी जमिनको नजिक आइपुग्नै लागेका रहेछौं भन्ने उनले ठोकुवा गरे । त्यसपछि चराहरु उडेर जता गएका थिएँ । उतैतिर जहाज लानको लागि जहाजका कप्तान गार्टिन पिनजोनलाई भने । कप्तानद्वय पिनजोन र उनका भाइ भिसेन्ट क्रमशः पिन्टा र निनाको कप्तानहरु थिएँ ।
अर्कोरातको समय त्यस्तै १२ बजिसकेको हुनुपर्छ । त्यति मध्यरातमा समुन्द्रको बीचबाट टहटह गर्दै चन्द्रमा उदाउन थाल्यो । निक्कै माथि आइसकेको पूर्ण चन्द्रमाको प्रकाश जहाजले निकालेको ढकलक ढकलक आवाज र पानीको छालसँगसँगै सुस्तरी बहँदै जान थाल्यो ।
समय बिहानीको दुई बज्नै लागेको थियो । पिन्टा जहाजमा काम गर्ने एउटा कर्मचारीले एकदम लामो तर सेतासेता समुन्द्रको किनारलाई निक्कै टाढादेखि देखें । महिनौपछि सामुन्द्रिक किनार देखेका मान्छेले अतालिँदै ‘जमिन, जमिन, जमिन’ भन्दै एकचोटी डङ्गै तोप पड्काइ पठाएँ । अचानक रात बीचमा त्यसरी पड्केको तोपले आराम गरिरहेका साथीहरुको सातोपुत्लो उड्यो ।
सबैजनाले आफ्नो सिधै अगाडि जमिन देख्दा हर्षले विभोर भएको थिएँ । १२ अक्टोबर १४९२ को लाली प्रभात सँगसँगै तीनैवटा पानी जहाजहरुले सामुन्द्रिक किनारनजिकै पुगेर तीनचोटी तोप पड्काएर खुशी ब्यक्त गरे । अचानक पड्केको तोपका आवाज सुनेर स्थानीय मानिसहरु के भयो होला भनेर नाङ्गैभुतुङ्गै त्यहाँ भेला भएका थिएँ । उनीहरु जुन स्थानमा पुगेका थिएँ । त्यसलाई आजभोलि क्यारेबियन टापुहरुको सुन्दर टापु ‘बहामस’ भनेर चिन्ने गरिन्छ ।
हाम्रा पथप्रर्दशक लुशियानाले कोलम्बसको क्यारेबियन यात्राको साहसिक कथा सक्ता हामीले नहरमा तीनघण्टा समय बिताइसकेका थियौं । त्यसपछि सुस्तरी मटर चढेर पानीजहाज समात्नको लागि लिमोन बन्दरगाहतर्फ लागिहाल्यौं ।
लिमोन हाइवे सुनसान थियो । मटर आफ्नै गतिमा एक रफ्तारले गुडिरहेको थियो । मैले मटरको झ्याल खोलेर क्यारेबियन सागरको पानी निक्कै टाढा सम्म हेरिरहें । हाम्रो पूर्व दिशामा पर्ने स्पेन र पोर्चुगर्लदेखि उदाउँदै आएको सूर्य गाढा रङ्गमा परिणत हुँदै क्युबाको सामुन्द्रिक क्षितिजमा अस्ताउन लागेको देखिन्थ्यो ।
समुन्द्रमा सूर्य अस्ताएपछि कोलम्बस यात्राको कथाले बढेको मेरो मुटुको धड्कनलाई काबुमा राख्न निक्कैबेर सम्म सामुन्द्रिक ज्वारभाटालाई नियालिरहें । हुन त इतिहास पनि अलिक पुरानो हुँदै गएपछि एउटा कथा जस्तो हुनेरहेछ भन्ने मेरो मनमा त्यसबेला लागिरहेको थियो । मैल सुनेको त्यो इतिहास आजभन्दा पाँचसय वर्ष अगाडि घटेको थियो, तै पनि त्यस घटनाको पात्रहरुले पाएका कष्टकर जिन्दगीको कल्पनाले मेरो हृदय निश्चयनै क्षतविक्षत बनाइरहेको थियो ।
सन् १४९२, १४९३, १४९८ र १५०३ गरेर कोलम्बसले चारचोटि आन्ध्र महासागर पार गरेका थिएँ । र, हरेकचोटी महासागर पार गर्दा उनले क्यारेबियन टापुहरुको मात्र यात्रा गरेका थिएँ । उनी पुगेका क्यारेबियन टापुहरुलाई ‘वेस्ट इन्डिज’ र त्यहाँ बस्ने मानिसहरुलाई ‘इन्डियन’ भनेर उनले युरोपमा राम्रै परिचय दिएका थिएँ ।
सन १५०६ मा स्वर्गारोहण भएको कोलम्बसले आफ्नो जिन्दगीमा कहिले पनि उत्तर अमेरिका पुगेनन् । र, सम्भवतः उत्तर अमेरिका छ भनेर उनले चालपनि पाएनन् होला ? तर मलाई सबैभन्दा उदेकलाग्ने कुरो चाहिँ के थियो भने अमेरिकाको हरेक पाठशालाहरुमा अहिलेसम्म पनि कोलम्बसले अमेरिका पत्ता लगाएका थिएँ भनेर सिकाइने गरिन्छ । र, हरेक अक्टोबरको दोस्रो सोमबार ‘कोलम्बस डे’ भनेर छुट्टिदिने प्रचलन पनि रहिआएको छ ।
यदि सत्य कुरोलाई मान्यता दिने हो भने कोलम्बस कहिलेपनि अमेरिका पुगेका थिएनन् । तर, क्यारेबियन टापुहरु पुग्ने पहिलो युरोपियन हुन् भन्नेमा चाहिँ कसैको दुईमत हुन सक्दैन । बरु उनको सट्टामा भाइकिङ अन्वेषक ‘लिफ एरिक्सन’ चाहिँ आइसल्याण्ड, ग्रीनल्याण्ड हुँदै कोलम्बसभन्दा अझ पाँचसय वर्ष पहिले पूर्वी क्यानडा पुगेका तथ्यहरु फेला परेका छन् । सायद भाइकिङहरु भन्दा अगाडि चिनियाँ यात्रुहरु पो बिरिङ जलसंयोजन पार गरेर पश्चिमी अमेरिका पुगेका थिएँ कि ? वा कतै अफ्रिकीहरु पहिले पुगेका हुन् कि ? यदि उनीहरु नपुगेका हुँदो हो त ती आदिवासी इन्डियनहरु चाहिँ कुन ठाउँदेखि आएका होलान् ? नत्रभने उनीहरु को थिएँ ? कहिले आएका थिएँ ? र, कहाँदेखि अमेरिका आएका थिएँ ?
अहिलेसम्म मेरो मनमा, ‘को पहिले अमेरिका पुगेको थिएँ ?’ भन्ने प्रश्न खड्किरहेकै अवस्था छ ।
लेखकः बुइपा, खोटाङका हुनुहुन्छ र हाल बेलायतमा बस्नुहुन्छ ।