भानुचोकमा प्रचण्ड-माधवका कार्यकर्ताको दिनभरको खटाइ





बिहीबार धरानको भानुचोकमा दिनभरको आमहड्तालपछि प्रचण्ड-माधव समूहका कार्यकर्ता ।
७६ वर्षीया राईको थाप्लोमा गिटी, सिमेन्टको भारी

धरान-१७ रेल्वे लुप गल्लीस्थित एक घरको छत ढलानमा खट्दै ७६ वर्षीया दुर्जा राई । नेता फेरिए तर फेरिएन उनको दैनिकी । बिहीबार आमहड्तालको दिन उनी खुशीका साथ मजदुरी गर्दै । आमहड्तालबारे सुनेको तर खासै चासो नदिएको उनी बताउँछिन् । देशमा कम्युनिष्ट शासन आएपनि, अन्य शासन आएपनि काम नगरी मुखमा माड नपर्ने उनले बताइन् । ‘खासै परिवर्तन महसुस गरेको छैन’, उनले भेटमा भनिन्, ‘अहिले काम नगरे भरे चुल्हो बल्दैन, गरिखाने वर्गका लागि बन्द–हड्तालले मार पर्छ ।’
यतिका उमेरमा पनि काम ? प्रश्न गरियो । उनले भनिन्, ‘छोराछोरीले काममा नजानु भन्छन् तर आफूलाई काम नगरी चित्त बुझ्दैन, काम नगरी पुग्दैन, लाउन, खान ।’ उनी धरान देवीगाउँकी हुन् ।
बन्द भयो कि बनिहाल्छ जेब्राक्रस !


धरान बस यातायात व्यवसायी संघ, ट्राफिक अनि धरान उपहानगरपालिकाको संयुक्त सहकार्यमा बन्दको सदुपयोग गर्दै धरानको भानुचोकमा जेब्राक्रस निर्माण गरिँदै । यसअघि पनि हुने बन्दको अवसरमा यसरी नै जेब्राक्रस हुने गरेको छ ।
बीपीमा सय जना पनि बिरामी आएनन्


धरानस्थित बीपी कोइराला प्रतिष्ठानको ओपिडी, गाइनो वार्डमा दैनिक २ सय बढी बिरामी भर्ना हुने गरेका थिए । तर आमहड्तालको प्रभावले एक सय जना पनि बिरामी आउन सकेनन् ।
-सच्याइएको । तस्वीरहरुः लक्ष्मण थापा