Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हेडसर भए त्यसै सुध्रिन्छ स्कुल

हाम्रो कोशी आवाज
फाल्गुन १ २०७७, शनिबार
हेडसर भए त्यसै सुध्रिन्छ स्कुल

धनञ्जय शर्मा
राम्रो हेडसर भए त्यसै राम्रो विद्यालय बन्न सक्छ । हेडसरमा व्यवस्थापकीय गुण अपरिहार्य छ । द्वन्द्व व्यवस्थापन गर्न सक्ने। निर्णय क्षमता भएका योजना निर्माण गरी तत्काल कार्यान्वयन गर्न सक्ने हेडसर भए विद्यालय त्यसै सुध्रिन्छ । हेडसरलाई सहयोग गर्ने समुदाय, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थी र दातृ निकायको महत्त्वपूर्ण भूमिका रहन्छ । सबै निकायसँग सहयोग लिन सक्ने कला हेडसरमा हुनुपर्छ । विद्यालयमा भएका स्रोतको सही सदुपयोग गर्न सक्नुपर्छ । पारदर्शितालाई कहिल्यै बिर्सनु हँुदैन । विद्यालयलाई उत्कृष्ट बनाउन बालमैत्री कक्षा सञ्चालन गर्नुपर्छ । आफूले व्यवस्थापन गरेको सबै स्कुल नमुना हुन सक्छन् भन्ने भावनाबाट अघि बढ्नुपर्छ । सरकारसँग समन्वयकारी भूमिका खेल्न सक्नुपर्छ ।
सकारात्मक सोचका साथ योजना बुन्नुपर्छ, बनाउनुपर्छ। समुदायको सहयोग नलिइकन विद्यालय बन्नै सक्दैन त्यसैले सधैं समुदायको सहयोग लिनुपर्छ । आफ्नो वरपर भएका संस्थागत विद्यालयको राम्रो पक्षका बारेमा सधैं प्रशंसा गर्नुपर्छ, निजी विद्यालयको सहयोग लिनुपर्छ । अभिभावक र समुदायसँग सधैं निकट सम्बन्ध कायम गरेमा मात्रै आफ्नो विद्यालय राम्रो हुन्छ । हाम्रो विद्यालय बन्न सक्छ राम्रो विद्यालय बन्न सक्छ ।
ठूलो भवन, आवश्यकताअनुसारको कक्षाकोठा, पर्याप्त मात्रामा खेल मैदानले जस्ता भौतिक स्रोतसाधनले मात्रै विद्यालय उत्कृष्ट बन्न सक्दैन । गुणस्तरीय शिक्षा, आवश्यकताअनुसारका विद्यार्थी अनि पढाउने योग्यता भएको शिक्षकले मात्रै विद्यालयको विकास हुन्छ । विद्यालयमा शिक्षक प्रवेश गरेपछि राम्रो भयो भन्ने सोचलाई त्याग्नुपर्छ । शिक्षकले कस्तो पढाएको छ भन्ने विषयमा मूल्यांकन गर्नुपर्छ । सरकारी शिक्षक सबै योग्य छन् भन्न सकिँदैन । तालिम प्राप्त शिक्षक भएपछि उनीहरूको पढाइको शैली कस्तो छ भन्ने विषयमा अध्ययन गर्नुपर्छ। शिक्षकले पढाएको बुझ्दै नबुझ्ने भयो भने त्यस्ता शिक्षकले पढाएको विद्यार्थीले कहिल्यै प्रगति गर्न सक्दैन । गुणस्तरीय शिक्षकले मात्रै गुणस्तरीय शिक्षा दिन सक्छ । घोकन्ते विद्या सिकाउने शिक्षक कामै लाग्दैनन् । युगअनुसारको शिक्षक आवश्यक पर्छ ।
अहिले त राम्रा शिक्षक भन्दा हाम्रा शिक्षक छनोट गर्ने प्रवृत्तिले गर्दा सामुदायिक विद्यालयको शिक्षा खस्कँदै गएको छ । केही विद्यालय राम्रा होलान्, समग्रमा भन्नुपर्दा हाम्रा शिक्षकका कारण सरकारी विद्यालयको पढाइ स्तर खस्केको भान हुन थालेको छ । सरकारी विद्यालयलाई जागिर खुवाउने थलोका रूपमा विकास गर्न थालिएको छ। शिक्षामा राजनीतीकरण देखिन थालेको छ। समग्रमा भन्नुपर्दा सरकारी विद्यालयको शिक्षास्तर सुधार गर्न तालिम प्राप्त शिक्षकले कक्षाकोठामा गएर पढाउने संस्कारको विकास गर्न जरुरी देखिएको छ ।
निजी विद्यालयको व्यवस्थापन पक्ष राम्रो छ । पढाइमा गुणस्तरीयता छ। अभिभाव र विद्यालयसँगको सम्बन्ध राम्रो छ । कमजोर पक्ष पनि छ । उनीहरू अंकमा विश्वास गर्छन् । राम्रो अंक ल्याए उनीहरू मख्ख पर्छन् । भन्न खोजेको परीक्षामा धेरै अंक ल्याएर विद्यार्थी उत्तीर्ण भए निजी विद्यालय सञ्चालकहरू मेरो विद्यालय उत्कृष्ट भयो भनेर दाबी गर्छन् । अंकले गर्दा पनि केही सफलता हासिल भएको होला तर अंकले मात्रै उत्कृष्टताको मापन गर्न सकिँदैन । रिजल्टलाई गुणस्तरीयताको मापन गर्न मिल्दैन । उच्च शिक्षामा कुन डिग्री हासिल गर्यो भन्दा पनि हाल कस्तो जीवन बिताइरहेका छन् भनेर मूल्यांकन गर्नुपर्छ । त्यस रूपले हेर्दा निजी विद्यालयमा पढेका बालबालिकाले प्रगति गरेका छन् । सुखी र सन्तोषपूर्ण जीवन बिताउने शिक्षा निजीले दिएको छ । तर आफैं सन्तुष्ट छ कि छैन भन्ने विषयमा मूल्यांकन जरुरी छ । निजी विद्यालयको व्यवस्थापनको अलावा उनीहरूले विद्यार्थीलाई प्रविधिसँग नजिक बनाएका छन् आफ्ना विद्यार्थीलाई बढी मात्रामा टेककेयर गर्ने गरेका छन् ।
निजीले बढी घोकाउँछन् । विद्यालय समयमा पढाइबाहेक अतिरिक्त क्रियाकलापमा त्यत्तिको ध्यान दिने गरेका छैनन् । परम्परागत घोकन्ते विद्यालयमा भर पर्ने गरेका छन् । दिमागमा सञ्चित गरेको नलेज प्रयोग गर्ने गरेका छन् । समस्यासँग जुध्न सिकाउँदैनन् । किताबको कीरो मात्र बनाउने गरेका छन् । आफ्नो समस्या आफैंले समाधान गर्ने विषयमा कुनै नलेज दिने गरेका छैनन् । अंग्रेजी विषय राम्रो भयो भने विद्यार्थी उत्कृष्ट भयो भन्ने भ्रम बोक्ने गरेका छन् । समग्र क्षमता विकासका लागि के गर्नुपर्छ भन्ने विषयमा सोच्ने गरेका छैनन् । समस्या समाधान गर्न खोज्ने क्षमताको विकास गर्न सकेका छैनन् । महँगो शुल्क तिरेका विद्यार्थी राम्रा हुन्छन् भन्ने ठानेका हुन्छन् ।
शिक्षक पुरानै ढर्राबाट चलेका छन् । अध्यावधिक छैन । पढ्न र क्रियटिभ काम गर्न सकेका छैनन् । विद्यार्थी आफैं अपडेट हुन थालेका छन् । शिक्षक अपडेट छैन । विद्यार्थी अनुकूल शिक्षक छैनन् । आफैंले आफैंलाई रूपान्तरण गरे मात्रै सबै विषयमा अपडेट हुन सकिन्छ । विद्यार्थीलाई बलजफ्ती बदल्न खोज्दा समस्या आउँछ । शिक्षक आफैंले प्रविधिसँग नजिक हुन नसक्दा शिक्षकभन्दा विद्यार्थी अब्बल हुन थालेका छन् । पाठ्यक्रमअनुसार परिवर्तन हुन सक्नुपर्छ । नयाँ विषयवस्तुका बारेमा अनुसन्धान गर्नु आवश्यक छन् । पढाइमा विद्यार्थीभन्दा शिक्षक अगाडि होलान् तर प्रविधियुक्त शिक्षामा शिक्षक कमजोर देखिन्छ ।
हाम्रो आँखाले हेरेर मात्र राम्रो भन्न सकिँदैन । विद्यार्थीका आँखाले हेरेर मात्रै छुट्याउन सकिन्छ । अनुशासित आज्ञाकारी विद्यार्थीलाई राम्रो भनेर मूल्यांकन गर्न सकिन्छ। राम्रो विद्यार्थीले स्वतन्त्रता खोज्छन्। राम्रो विद्यार्थीलाई विद्यालयमा शिक्षक र घरमा अभिभावकले स्वतन्त्रता दिनुपर्छ। अहिलेका विद्यार्थीहरू प्रविधिसँग खेल्न खोज्छन्। सधैं आफूलाई नजिक राख्न खोज्छन्। तर शिक्षकले विद्यार्थी आफूभन्दा बढी जान्ने होलान् भनेर विद्यालयमा प्रविधिलाई नजिक बनाउन खोज्दैनन्। असल विद्यार्थी जहिले पनि प्रविधिसँग खेलिरहेका हुन्छन्। मलाई लाग्छ प्रविधिसँग जसले टाढा बनाउन खोज्छ त्यो गलत हो। एक दुई कक्षामै इन्टरनेटको बारेमा जानकारी दिनु, कम्प्युटर चलाउन सिकाउनु सही कदम हो ।
पुरानो पिँढीले नसिकेको ज्ञान नयाँ पिँढीले सिक्न खोज्छन् त्यसैबाट ठूलो मान्छे बन्छन्। जहाँ प्रविधिको पहुँच राम्रो बढेको छ। त्यहाँका विद्यार्थी असल हुन्छन्। जिज्ञासु विद्यार्थी सधैं उत्कृष्ट हुन्छन्। त्यसैले विद्यार्थीलाई जिज्ञासु बनाउनुपर्छ। विषयप्रति गम्भीर र जिज्ञासु व्यक्ति जहिले पनि राम्रा बन्न सक्छन्। पढाएको सुनेर ओकल्न सक्ने विद्यार्थी राम्रा हुन्छन्। विषयबाट विशेषज्ञता हासिल गर्न सक्ने विद्यार्थी भविष्यमा राम्रा हुन्छन् ।
घरमा होस् वा विद्यालयमा जहाँ भए पनि धेरै समय पढेर जान्ने हुन्छ भन्ने भ्रम मात्र हो। धेरै समय पढेर राम्रो हुने होइन। दिनमा ४–५ घण्टा पढ्दा राम्रो हँुदैन। धेरै पढे पनि मन लगाएर ध्यान दिएर पढ्ने हो भने १० मिनेटले पुग्छ। ध्यान दिएर पढेको कुरा दिमागमा थन्क्याउन सके त्यसले चाँडै काम गर्छ। अधिकांश अभिभावकलाई मेरो छोरा वा छोरीले धेरै बेर पढे हुन्थ्यो भन्ने लाग्न थालेको छ। अधिकांश निजी विद्यालयले पनि त्यही सोच्न थालेका छन् यो प्रवृत्ति गलत हो जसले धेरै समयसम्म पढ्छ त्यसको दिमाग त्यतिको तीक्ष्ण हुँदैन। कम पढेर धेरै ज्ञान हासिल गर्ने व्यक्तिले जहिले पनि प्रगति गरेको हुन्छ। उद्देश्य लिएर पढेमा जान्ने होइन्छ। अबेर समय बसेर पढ्दा कुनै काम लाग्दैन। बरु बेलुकी चाँडै सुतेर बिहान चाँडै उठेर पढ्दा धेरै ज्ञान हासिल गर्न सकिन्छ। प्रश्न उतारेर, जिज्ञासा मेटाउने, देखेर सुनेर होइन छामेर नियमित सिक्ने व्यक्तिले जहिले पनि धेरै ज्ञान हासिल गरेको हुन्छ।
प्रविधिले बिगारेको होइन। उपयोग गर्न नजानेर त्यसको प्रभाव नकारात्मक देखिएको हो। मोबाइललाई शैक्षिक सामग्रीका रूपमा प्रयोग गर्न छाडेर यसले त विद्यार्थीलाई बिगार्यो भन्नु गलत हो। प्रविधिको उपयोग गर्न नजानेका परम्परावादी शिक्षकका कारण यस्तो भएको हो। फेसबुक म्यासेन्जरबाट म्यासेज पठायो भनेर प्रविधिले बिगार्यो भन्ने गरेको पाइन्छ। शैक्षिक सामग्रीकै रूपमा प्रयोग गर्न नसकिएका कारण प्रविधिले बिगार्यो भन्न खोजिएको हो। आफूले जनानेको कुरा निषेध गर्ने पुरानो शिक्षकको मनोविज्ञानका कारण यस्तो समस्या देखिएको हो। शिक्षक र अभिभावकले नै विद्यार्थीलाई प्रविधिको प्रयोग गर्न सिकाउनुपर्छ। यो साइटमा यस्तो विषयवस्तु आउँछ। यस्ले पढाइ शैलीको विकास गर्न सहयोग गर्छ भन्ने बुझाउन नसकेर बिग्रिएको हो। प्रविधिको सही प्रयोग गर्न सिकाउनु जरुरी छ। अहिलेको जमानामा प्रविधिको प्रयोगमा निषेध गरे ठूलो समस्या आउँछ। प्रविधिलाई नजिक बनाएर पढाउने संस्कृतिको विकास गर्नु आवश्यक छ।
कहिलेकाहीं हल्ला चल्छ विद्यालयमा विद्यार्थीले शिक्षकलाई सम्मान दिएन भन्छन्। तर म भन्छु शिक्षकलाई चाहेजति सम्मान दिएका छन्। सम्मान त अरूलाई दिएपछि पाइने हो। शिक्षकले पनि विद्यार्थीलाई माया गर्नुपर्छ तब मात्रै सम्मान पाइन्छ। हामी जान्ने हौं, विद्यार्थी नजान्ने हो भने पनि कहिल्यै सम्मान पाइँदैन। दुई पक्षबीच नै आत्मीयता चाहिन्छ। विद्यार्थीलाई पनि शिक्षकले आत्मीयता दिन सिक्नुपर्छ। सम्मानलाई स्नेह र मायाका रूपमा लिएमा सम्मान पाउन सकिन्छ । पुनः प्रकाशित । -सं.

प्रकाशित मिति: फाल्गुन १ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend