धरानः धरान-८ तीनकुनेबाट दुई युवा प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् ।
चेकजाँचको क्रममा धरानतर्फ शंकास्पदरुपमा पैदल हिँड्दै आइरहेका धरान-१५ बस्ने वर्ष २१ को पासाङ तामाङ र वर्ष १९ को पारस थापालाई रोकी निजहरुको शरीर खानतलासी गर्दा पारस थापाले साथमा बोकेको कालो रंगको ब्यागभित्र लुकाइछिपाइ राखेको ट्रमाडोल ६ सय ६८ क्याप्सुल र क्लोविन ६ सय ६८ क्याप्सुल समेत फेला पारी बरामद हुन आएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
प्रतिबन्धित औषधिसहित पक्राउ परेका पासाङ तामाङ र पारस थापालाई आवश्यक कारवाहीको लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगर पठाइएको उनले जानकारी दिए ।
यस्तै, धरान–९ बस्ने वर्ष २७ को प्रकाश थापा मगरलाई घरेलु हात–हतियार समेतले शरीरको विभिन्न भागमा प्रहार गरी गम्भिर घाइते बनाइ फरार रहेका विष्णु बेघालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका उनलाई धरान–१५ खोरिया बस्ती बस्ने वर्ष २१ का बेघालाई पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि सुनसरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।