Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका शिक्षकले जे भोगे !

हाम्रो कोशी आवाज
चैत्र ७ २०७७, शनिबार
धरानका शिक्षकले जे भोगे !

धरान-१६ जानकी चोक घर भएका शिक्षक पी.पी. कोइरालालाई कुनै समय स्कुल पढाइरहँदा लागिरहन्थ्यो अर्थात् यस्तो कुराको अभाव खड्किरहन्थ्यो-अभिभावकले आफ्ना छोराछोरी ७ घण्टासम्म शिक्षकको जिम्मामा छोड्न उचित होइन रहेछ ।
‘पहिल्यै अभिभावक सचेतना जरुरी थियो’, उनले भेटमा भने, ‘तर म त्यतिबेला शिक्षक मान्छे भ्याइनँ, भ्याउने कुरा पनि भएन,’ उनले थपे, ‘रिटायर्ड भइसकेपछि कम्तीमा पुस्तकसम्म निकालेर अभिभावकलाई सचेत गराऔं भन्ने हो, त्यही भएर अभिभावकलाई सचेत गराउन पुस्तक निकालें ।’ पुस्तकको नाम छ- ‘आमाबाबुसँग शिक्षा आदानप्रदान भाग-१’ ।
उनलाई शंका पनि छ र चिन्ता पनि– कारण धेरैले भनिदिएलान् आफूले पेन्सन पकाइगयो, अब कुरा खोल्न थाल्यो । उनले थप खुलाए– म जहाँ अध्यापनरत थिएँ, त्यतिबेलै पनि कुरा खोल्थें तर समय र परिस्थितिले भन्न सकिनँ । धेरैले मेरो पुस्तक मन नपराउलान् तर जे जति सचेत वर्ग हुनुहुन्छ, उहाँहरुले खुब मन पराइदिनुहुनेछ । अझ भन्ने हो भने सरकारी स्कुलका शिक्षकले यो पुस्तक मन पराइदिनुहुनेछैन र भन्नुहुनेछ– पेन्सन पकाएपछि यस्तो कुरा खोल्ने ?
उनले देखेका छन्– अधिकांश सरकारी स्कुलका शिक्षक ठगेरै तलब खान्छन् । मतलबः पढाउन पनि कञ्जुस्याइँ गर्ने, अल्छी, झर्को मान्ने, कुनै विशेष अतिरिक्त क्रियाकलापलगायत अन्य क्रियाकलापमा त्यति ध्यान नदिने, कहिले समय बित्ला आदि इत्यादि । म त भन्छु–अधिकांश सरकारी विद्यालयमा तीन, चारजनामात्रै शिक्षक यस्तो हुनुहुन्छ कि, उनीहरु मात्रै खट्छन्, विद्यार्थीका लागि केही गर्नुपर्छ, केही गराउनुपर्छ भन्छन् । उनीहरु विद्यार्थीलाई सही समयमा सही तरिकाले पढाउने, अतिरिक्त क्रियाकलाप गराएर विद्यार्थी प्रतिभा प्रष्फुटन गर्ने, गराउने कार्यमा अग्रसर भइरहन्छन् । तर तिनीहरुलाई त्यति राम्रो दृष्टिकोणले हेरिँदैन । अब ऊ यस्ता कार्यमा सक्रिय बने हामीलाई काम पो लगाउने हो कि भन्नेजस्ता कुरा मनमा खेलाइरहने हुन्छन् ।

त्यसैले उनको निष्कर्ष छ– अभिभावकले आफ्ना छोराछोरी शिक्षकलाई ७ घण्टासम्म जिम्मा लगाउनु अर्थात् जिम्मामा छोड्नु कुनै पनि हालतमा उचित होइन । यसका लागि अभिभावक नै बढी जिम्मेवारी बन्नु आजको आवश्यकता हो । कतिपय परिवारमा आमाबाबुले आफ्ना सन्तानलाई सही ढङ्गको पेशागत ज्ञान र परम्परागत सीपहरू हस्तान्तरण गर्न नसकेर ती बच्चाहरू ठूलो भएपछि सजिलैसँग जिउन नसकेको पाइएको छ । त्यसैगरी कतिपय आमाबाबुले सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा आफू पछि परेको हीनताबोध महसुस गरेकोले गर्दा आफ्ना बच्चाहरूको सही ढङ्गको पालनपोषण, हेरचाह र शिक्षादीक्षा गराउन नसक्दा ती बच्चाहरू ठूलो भएपछि कोही अनैतिक कार्यमा, कोही गैरकानुनी कार्यमा, कोही आपराधिक कार्यमा र कोही बलात्कारजस्ता दुराचारी कार्यमा लागेर आफ्नो जीवन दुःखपूर्ण ढङ्गले बिताइरहेका छन् ।
त्यसैगरी कतिपय आमाबाबुहरूसँग पद, धन, प्रतिष्ठा र अवसरहरू पर्याप्त मात्रामा हुँदाहुँदै पनि आफ्ना छोराछोरीहरूको हेरचाहमा तालमेल मिलाउन नसक्दा उनका सन्तानहरुमध्ये कोही दुव्र्यसनी, कोही भ्रष्ट र कोही डिप्रेसनको शिकार भएर आफू र आफ्ना परिवार र समाजका व्यक्तिहरूलाई पीडा पुराइरहेका देखिएका छन् । त्यसैले आमाबाबुसँग अज्ञानतावश विकसित हुँदै आएका गलत तथा हानिकार ज्ञान र सीपलाई रूपान्तरण गर्नुपर्छ । आमाबाबुले जानेका सबै उपयुक्त ज्ञान र सीपलाई बच्चाहरूमा हस्तान्तरण गर्नु भनेको प्राकृतिक जीवनशैली अपनाउनु हो । उनको थप निष्कर्ष छ– हाम्रो व्यवहारले केटाकेटीलाई कपटी, ढाँट्ने र ढोंगी बन्न सिकाइराखेका छौं । केटाकेटीका लागि पहिलो र सिक्नेथलो घर नै हो, आमाबाबुले नै उसको पहिलो र वास्तविक गुरु र गुरुआमा हुन् । त्यसैले आमाबाबुहरुले आ–आफ्नो जातीय कला, संस्कृति तथा परम्परागत जीवनशैलीभित्रका ज्ञान र सीपहरू हस्तान्तरण गरेमा बच्चाको आन्तरिक बौद्धिक शक्ति मजबुत हुन्छ ।
उनको यो भाग–१ पुस्तक हो । उनले आफ्नो अनुभव, देखे, भोगेका कुरालाई क्रमशः प्रकाशित गर्दै जाने लक्ष्य लिएका छन् । ‘मेरो उद्देश्य अभिभावकलाई गाली होइन, शिक्षकलाई गाली होइन तर पनि अभिभावक जिम्मेवार नागरिक बन्नु आजको दायित्व हो भन्ने सन्दश छर्न खोजेको हुँ,’ उनले भेटमा भने, ‘अन्य पुस्तकले अझ अभिभावक उत्प्रेरित बन्नेछन् ।’
उनले सो पुस्तक केही समयअघि प्रकाशित गरेका हुन् । सो पुस्तक काठमाडौं विमोचन गरिएको उनले जानकारी दिए । पुस्तकको प्रा.डा. विद्यानाथ कोइराला र हरिवंश आचार्यले संयुक्तरुपमा विमोचन गरेका थिए । उनले धरानस्थित शारदा बालिका माविमा अध्यापनपछि पेन्सन पकाइसकेका छन् ।

प्रकाशित मिति: चैत्र ७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend