Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जातीय उन्मुलन दिवस

हाम्रो कोशी आवाज
चैत्र ८ २०७७, आइतबार
धरानमा जातीय उन्मुलन दिवस

धरानः दलित विकास समितिले धरानमा चैत्र ८ गते अन्तर्राष्ट्रिय जातीय (रंगभेद) उन्मूलन दिवस (मार्च २१) का अवसरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा दलित महासंघ बनाइ गैर दलितहरुको सहभागितामा अभियान सञ्चालन गर्न वक्ताहरुले जोड दिएका छन् ।
समितिका सदस्य सचिव तारा लामगादेले अन्तक्र्रिया कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै सन १९६० मा दक्षिण अफ्रिकामा गोराहरुले कालाहरुमाथि गरेको विभेदका विरुद्ध संघर्ष गर्दा राज्यले ६९ जनाको हत्या गरेको र १८६ जना घाइते भएपछि सो घटना अन्तर्राष्ट्रियकरण भए पनि सन १९६५ मा संयुक्त राष्ट्रसंघले जातीय विभेद उन्मुलन गर्ने महासन्धी पारित गरेपछि मार्च २१ लाई अन्तर्राष्ट्रियरुपमा जातीय (रंगभेद) उन्मुलन दिवसका रुपमा मनाउन थालिएको बताए ।
नेपालमा जातका आधारमा अझै पनि जातीय भेदभाव तथा छुवाछुतप्रथा कायमै रहेकोले दक्षिण अफ्रिकाको घटना नेपालमा समेत घट्न सक्ने सम्भावना वृद्धि भएको भन्दै तत्काल जातीय विभेद अन्त्य गर्न धार्मिक अगुवाहरु, प्रशासनिक व्यक्तिहरु, राजनीतिक पार्टी र जातीय संघरसंस्थाहरु गम्भीर भएर लाग्नुपर्ने सदस्यसचिव लामगादेले दाबी गरेका छन् । उनले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा समेत दलितहरु जातीय भेदभावको शिकार हुनुपर्दा अझै दलित मुक्ति आन्दोलन बाँकी रहेको बताए ।
अवधारणापत्रमा अन्तर्राष्ट्रिय रंगभेद उन्मुलन दिवसको पृष्ठभूमी, नेपालमा जात–विभेदको अवस्था, मुक्तिका लागि संघर्ष र प्राप्त उपलब्धी, विभेद अन्त्य गर्न स्थानीय तहको भूमिका र निष्कर्षसहितको विषयवस्तु उठान गरेका थिए । उनले छरिएर रहेका दलित संघ संस्थाहरुको साझा मोर्चा दलित महासंघ निर्माण गरेर दलित मुक्ति आन्दोलनमा गैर दलित अभियन्ताहरुलाई साथमा लिई दलित मुक्ति आन्दोलनलाई निष्कर्षमा पुरयाउन जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रहेकी धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले राजनीतिक अवस्थामा परिवर्तन भएपनि सामाजिक व्यवस्थामा खासै परिवर्तन हुन नसकेका कारण दलित मुक्ति आन्दोलन अघि बढाउन आवश्यक रहेको बताइन् । अवधारणापत्रले दलित समस्या राज्यको समस्या भएको र राज्यस्तरबाटै त्यसको उन्मुलन गर्न व्यवस्थित रुपमा लागि पर्न जोड दिएकोले त्यसमा स्थानीय सरकारको सहयोग र समर्थन रहने बताइन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले कानूनले बर्जित गरेको जातीय भेदभाव वा छुवाछुत प्रथा कायम गर्ने गराउनेलाई कडा कारवाही गर्न दलित सम्बद्ध संघ संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताए । नेपाल प्रहरीलाई सही सूचना दिनुपर्ने र कानुन कार्यान्वयन गर्न आफूहरु कुनै पनि हालतमा पछि नहट्ने बरु समुदाय साझेदारी कार्यक्रममा जातीय विभेदविरुद्ध जनचेतना फैलाउन विशेष कार्यक्रमको तयारी गर्ने बताए । उनले भने, ‘अन्य घटना वा अपराधलाई जातीयकरण गर्नुहुँदैन तर जातकै आधारमा हुने घटनालाई प्रहरीले गम्भीररुपमा लिन्छ र त्यस्ता विभेदकारीलाई अपराधी मानेर सोहीअनुसार कडा कारवाही गर्छ ।’
अन्तक्र्रिया कार्यक्रममा जनता समाजवादी पार्टी धरानका अध्यक्ष ताजुव लिम्बूले राज्यसत्तामा बसेका व्यक्तिहरुको सोचका कारण कानुन कार्यान्वयन हुन नसकेको बताए । दलितहरुले छरिएर आन्दोलन गर्दा राज्यसत्ताले अधिकार दिन कञ्जुस गरेका कारण दलित महासंघ बनाउन आवश्यता रहेको बताए । उनले दक्षिण अफ्रिकाको घटना नेपालमा दोहोरिने सम्भावनालाई अस्विकार गर्न नसकिने भएकोले जातीय द्वन्द्वको व्यवस्थापन गर्न बराबरी अधिकार दिनुपर्ने बताए । त्यसैगरी वरिष्ठ पत्रकार हर्ष सुब्बाले नेपालमा जात व्यवस्थाको अन्त्य गर्न बौद्धिक बहस छेड्नुपर्ने बताए । उनले भने, ‘विभेदका अनेक रुप छन्, तिनलाई मसिनो ढंगले केलाएर अघि बढ्नुपर्छ । खराब र गलत कुरालाई त्यागेर असल कुराको विकास गर्नुपर्छ ।’
अन्तक्र्रिया कार्यक्रममा संघीय दलित मञ्चका केन्द्रीय अध्यक्ष रमेश गजमेरले दक्षिण अफ्रिकामा दुई जातबीचको द्वन्द्व अन्तर्राष्टिूयकरण हुँदा नेपालका २६ वटा उत्पीडित दलितहरुले संघर्ष गर्दा त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताए ।
समयमा नै राज्यले दलितका मुद्दा र मागलाई सम्बोधन नगरे भयानक द्वन्द्व हुने संकेत गरे । उनले भने, ‘राज्यले दुई चार हजार बजेट छुट्याएर वा एक दुईजनालाई पद दिएर अलमलाउन खोज्दैछ, त्यसमा दलितहरु अलमलिने छैनन्, ठूलो क्रान्ति हुनेवाला छ, अहिले देखि नै राज्य तयार भए हुन्छ ।’ सोही कार्यक्रममा विश्वकर्मा कल्याण सेवा समितिका अध्यक्ष लालबहादुर सिन्च्यूरीले दलित आन्दोलन विगत ७० वर्षदेखि निरन्तर चलिआएको बताए । शान्तिपूर्ण आन्दोलनलाई राज्यले सम्बोधन नगरे अकल्पनीय दुर्घटना हुनसक्ने कुरामा बेलैमा सचेत हुन चेतावनी दिए । उनले भने( ‘दलितहरुको आन्दोलन हिंसात्मक भएको छैन, शान्तिपूर्ण र बौद्धिक आन्दोलनलाई राज्यले बेवास्ता गर्नु हुँदैन । दलितहरुलाई विशेष अधिकार दिनुपर्छ ।’
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै ब्राह्मण समाज नेपालका केन्द्रीय सदस्य तथा धरान नगर अध्यक्ष उद्धवप्रसाद अधिकारीले ब्राह्मणवादले देश बिगारेको बताए ।
ब्राह्मणवाद बाहुन नभएको जिकिर गर्दै ब्राह्मणवाद भनेको संर्किणवाद र अहमवाद भएकोमा जोड दिए । उनले भने, ‘ब्राह्मण जात होइन, समुदाय हो । वेदमा ४ वर्ण छ तर ४ जात छैन । वेदअनुसार राज्य चलाउने क्षेत्रीले हो तर नेपालमा बाहुनले राज्य चलाएकोले विभेद भएको हो ।’
कार्यक्रममा परियार सेवा समाजका केन्द्रीय उपाध्यक्ष लक्ष्मण दासले जातीय विभेद धर्मका आधारमा भएको भन्दै धार्मिक कार्यक्रम पुराण तथा प्रवचनहरुमा जातका आधारमा भेदभाव गर्नु अपराध हो, सबै मानिस बराबर हुन् भन्ने सन्देश धर्मगुरुहरुले प्रचार गर्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरी नेपाल उत्पीडित जातीय मुक्ति समाज धरानका अध्यक्ष खगेन्द्र बहादुर नेपालीले दलितहरुका आवाजलाई समेत दबाइएको भन्दै पत्रकार, प्रहरी र प्रशासनबाट सहयोग नपाएको गुनासो गरे । उनले समाजका सचेत व्यक्तिहरु नै दलित समुदायको मुक्ति नचाहेको भन्दै दलितहरुलाई वेवास्ता गरे दक्षिण अफ्रिकाको घटना नेपालमा दोहोरिन सक्ने चेतावनी दिएका छन् ।
अन्तक्र्रिया कार्यक्रममा टिपोटकर्ताका रुपमा पत्रकार खिलानाथ विश्वकर्मा, दलित महिला सञ्जालकी अध्यक्ष सकुन्तला त्रिखत्री भुषाल र दलित युवा सञ्जालका अध्यक्ष रिकेश विश्वकर्मा रहेका थिए । टिपोटकर्ताका तर्फबाट सकुन्तला भुषालले अन्तक्र्रियाबाट प्राप्त विचारलाई आधार मानेर आगमी कार्यक्रम अघि बढाउने बताइन् । पत्रकार खिलानाथ विश्वकर्माले स्थानीय तहमा दलित विकास समितिले प्रशंसनीय कार्य गरेपनि दलित अभियान्ताहरु घटनास्थलमा पुगेर जातीय विभेदका विषयमा बोल्न र काम गर्न सक्नुपर्ने चुनौती रहेको बताए ।
धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा दलित विकास समितिका संयोजक किशोर परियारको अध्यक्षतामा सम्पन्न भएको अन्तक्र्रिया कार्यक्रम समितिका सदस्य केदार बराइलीले सञ्चालन गरेका थिए भने सदस्य धनबहादुर हमालले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा धरान उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रतिनिधि महिला गंगादेवी खापुङ्ग, नेपाल दलित मुक्ति मोर्चा धरानका अध्यक्ष सुमन गहतराज, दलित महिला सञ्जालकी पूर्व अध्यक्ष नरमाया परियार, नेपाल साना उद्योग व्यवसायी संघका केन्द्रीय सचिव हिम प्रसाद ओझा, दलित सेवा संघ सुनसरीका अध्यक्ष मणिराज सुनाम, दलित महिला सञ्जालका उपाध्यक्ष पवित्रा शिवा, सचिव देविका विश्वकर्मा, कोषाध्यक्ष सुनिता सिन्च्युरी, सदस्यहरु नर्वदा दास, प्रवक्ता कञ्चन पाँचकोटी, दलित युवा सञ्जालका उपाध्यक्ष विनोद रसाइली लगायत विभिन्न सञ्चार माध्यमका पत्रकार, अधिकारकर्मी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: चैत्र ८ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend