Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मामु ! म केटा, दिदी केटी कसरी ?

हाम्रो कोशी आवाज
बैशाख ४ २०७८, शनिबार
मामु ! म केटा, दिदी केटी कसरी ?

किशोर–किशोरीले पर्याप्त प्रजनन जोखिमको सामना गरिरहेका छन् । विश्वव्यापी रूपमा प्रत्येक वर्ष ७० हजार किशोरी सही जानकारी र आवश्यक चेतनाको अभावले जटिल गर्भावस्थाको कारण मरिरहेका छन् । यसले पनि अभिभावकीय जिम्मेवारीको बोध पक्कै गरेको छ ।
यौन र प्रजनन स्वास्थ्यमा किशोर–किशोरीको अधिकार बढ्दो विश्वव्यापी प्राथमिकता पनि हो । दिगो विकास लक्ष्यमा किशोर–किशोरीलाई स्पष्ट रुपमा समावेश गरिएको छ । संयुक्त राष्ट्रसंघले महिला, बच्चा र किशोर–किशोरीको स्वास्थ्यको लागि विश्वव्यापी रणनीति निर्माण गरेको अवस्था एकातिर छ भने अर्कोतिर हत्या, हिंसा र बलात्कार पनि बग्रेल्ती नै सुनिइरहेका छन् ।
‘ह्या, हामीलाई कसले पो सिकाएको थियो र, ठूलो भएपछि आफैं सिकिहाल्छन् नि । यस्तो कुरा त बाआमाले कसरी सिकाउने हो र, यस्तो कुरा सिकाउने पूरै जिम्मेवारी स्कुल को पो हो त’ भन्ने धारणा नै आम अभिभावको धारणा हो । यौन तथा प्रजनन स्वास्थ्य भन्ने बित्तिकै यौन सम्पर्कमा सीमित बुझाइ पक्कै पनि घातक सिद्ध भइरहेको छ ।
सन्तानोत्पादन प्रक्रिया प्राकृतिक प्रदत्त कुरा हो । जत्ति सहज छ अभिभावक बन्न, त्यति नै जटिल छ, जिम्मेवार अभिभावक बन्न । दैनिक जीवनमा यस्ता कैयन् कुराकानी यौनसँग जोडिएर आएका हुन्छन्, हामीले कसरी समाधान गरेका छौं ती अनुत्तरित प्रश्नहरु ? अभिभावकलाई योबारे सुन्दा जटिल अनुभव हुन्छ । तर त्योभन्दा जटिल हुन्छ, केटाकेटीको मानसपटलमा नसुल्झिएका यौनसम्बन्धी उत्सुकताहरु । मानौं, यो विषय खिल पल्टेर रहेको हुन्छ, उनीहरुको मानसिकतामा ।
मेरो आठ वर्षको छोराको जिज्ञासाले मलाई पनि हैरान तुल्याउँछ । ऊ जान्न चाहन्छ, ‘म कसरी जन्में, म केटा, दिदी केटी कसरी ? मैले कपाल काटेर केटा, दिदी कपाल बाटेर केटी हो मामु ?’ यस्तैयस्तै प्रश्नहरु बारम्बार उसको मष्तिस्कमा छाइरहेका हुन्छन् र मेरो उत्तरले उसको उत्सुकता मेटाउन सकिरहेको छैन । उसको यस प्रकारको यौन जिज्ञासालाई हामी बेतुक प्रश्नको संज्ञा दिन्छौं किनकि सामाजिक मूल्यले यस्ता छलफललाई उच्छृंखलताको रुपमा लिन्छ । यो उदाहरण मैले किन व्यक्त गरें भने हाम्रो आफ्नो बच्चासँग यौन सम्बन्धी सञ्चार, संवाद कस्तो भइरहेको छ भन्नेबारे अभिभावकीय चासो उठ्नु आवश्यक छ । सामान्य छलफलमा पनि हामी सहजै यो त स्कुलको जिम्मेवारी हो भनिदिन्छौं, मानौं यो शिक्षा दिनु अनैतिक कार्य हो ।

हुन त अभिभावकहरुले आफ्ना सन्ततिको दुःखसुखको अनुभव बिना बोलेर नै सुन्ने गर्छन् । तर पनि जीवनका महत्वपूर्ण आयामहरूमा आफ्ना सन्तान केकस्तो अनुभव गर्छन् भन्ने विषयमा अभिभावकहरु आफ्नो सन्ततिको लागि चाहिने शिक्षाको विषयमा कति संवेदनशील छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ । सही सञ्चार नै मुख्य कडी हो, जसले अभिभावक, किशोर–किशोरी तथा शिक्षकलाई जोडेको हुन्छ ।
यहाँ सन्देश पठाउने तरिका नै गलत भयो भने सन्देश प्राप्त गर्नेले कस्तो सन्देश प्राप्त गर्ला? भोलि त्यो सन्देश आफ्नो जीवनमा प्रयोग गर्दा उसले केकस्तो परिस्थितिको सामना गर्नुपर्ला भन्ने कुरातर्फ चासो बढाउन जरुरी छ । शिक्षाले युवा व्यक्तिको व्यवहार, मार्गदर्शन र स्वस्थ व्यवहार परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यौन र प्रजनन स्वास्थ्य शिक्षा प्रदान गर्न स्कुल शिक्षकहरूको महत्वपूर्ण भूमिका त हुन्छ नै तर पनि जीवनोपयोगी संवेदनशील शिक्षा पूर्णरुपमै स्कुलको मात्र जिम्मा लगाउनु कत्तिको उपयोगी होला ? के यसमा अभिभावकको कुनै भूमिका रहँदैन ? यो सोचनीय विषय हो ।
अभिभावकहरू घरमा यौनिकता शिक्षाबारे छलफल गर्न, किशोर–किशोरीसित छलफल गर्न हिच्किचाए तापनि स्कुलहरूद्वारा प्रदान गरिने यी कार्यक्रमहरूको समर्थन गर्छन् भन्ने कुराले पनि आफूद्वारा सिकाउन असहज भए तापनि अभिभावकले यो शिक्षाको आवश्यकताको अनुभूति गरेको कुरा बुझ्न सकिन्छ । अभिभावकहरु सचेत छन् भने वृहत् यौनिकता शिक्षाले पक्कै पनि युवाहरुको उत्सुकताको जुन आवश्यकता छ, त्यो पूरा गर्न सक्छ । यसैले यौनिकता शिक्षाले यौन स्वास्थ्यसम्बन्धी प्रभावकारी ज्ञान प्रदान गर्ने कुरामा दुईमत छैन भन्न सकिन्छ ।
यौनसम्बन्धी सञ्चार भनेको यौन सम्पर्कको मात्र कुरा होइन, योभन्दा विस्तृत र किशोर–किशोरीलाई सही मार्गनिर्देशनको लागि जान्नैपर्ने धेरै कुराहरु अभिभावक र छोराछोरीको संवाद र सञ्चार अन्तर्गत पर्छन् र यो अत्यावश्यक शिक्षाको सुरुवात घरबाटै सुरु हुनुपर्छ । यसरी विद्यालयमा मात्र आफ्नो जिम्मेवारी सुम्पिनाले र किशोरकिशोरीको ज्ञान प्राप्त गर्न पाउने अधिकारबाट वञ्चित गर्नाले उनीहरु अन्य अनाधिकृत माध्यम खोज्न बाध्य हुन्छन् । यसैले आजैबाट उनीहरुको मनोविज्ञान बुझेर नै अभिभावकले एक अभिभावकीय दायित्व निर्वाह गर्नुपर्छ ।

प्रकाशित मिति: बैशाख ४ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend