Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सोंचेझैं जिन्दगी रै’नछ !

हाम्रो कोशी आवाज
बैशाख ८ २०७८, बुधबार
सोंचेझैं जिन्दगी रै’नछ !

एकअर्काप्रति जिम्मेवारी र इमान्दारिता वैवाहिक सम्बन्धको सबैभन्दा महत्वपूर्ण शर्त हुन् । यो पवित्र सम्बन्धमा बाँधिनका लागि उमेरसँगै आपसी समझदारी पनि अत्यावश्यक छ । साथै, एक–अर्काको कुरा सुन्ने र बुझ्ने पनि गर्नुपर्छ । तर वैवाहिक सम्बन्धमा माया, प्रेम, विश्वास र खुशीको ठाउँ घृणा, अविश्वास र दुःखले लिन थाल्यो भने त्यो वैवाहिक जीवन टुंगिने अवस्थामा पुग्छ । हिजो–आज सम्बन्ध विच्छेदका खबरहरु धेरै नै सुनिन थालिएको छ । श्रीमान– श्रीमतीबीच सानो मनमुटावले पनि सम्बन्ध विच्छेद भएको हुन्छ । तर के सम्बन्ध विच्छेद नै सबै समस्याको हल हो त ? आफ्नो वैवाहिक जीवनबाट असन्तुष्ट भएर सम्बन्ध विच्छेद गर्दा त्यो समयमा आफू वैवाहिक बन्धनबाट मुक्त भएको आभास होला ।
तर, के सम्बन्ध विच्छेदपछि जीवन सहज हुन्छ ? के जीवनमा पहिलेको जस्तो खुशी फर्किएर आउँछ ? यदि तपाईं यी कुराहरु सोच्नुहुन्छ भने तपाईं शत प्रतिशत गलत हुनुहुन्छ । त्यसैले सम्बन्ध विच्छेदको निर्णय लिनु अगाडि त्यसपछि आउने परिस्थितिहरुको बारेमा पनि विचार गर्नु अत्यन्त आवश्यक छ । श्रीमान–श्रीमतीबीच केही गलत भएर नै सम्बन्ध विच्छेद हुन्छ ।
एक–अर्का प्रतिको मनमुटावले स–साना कुरामा झगडा भइरहनु सामान्य कुरा हो । यसबाहेक आर्थिक समस्या, आफ्ना सन्तानको लालन–पालनको समस्या जस्ता कारणहरुले पनि दम्पत्तिहरुबीच झगडा हुने गर्दछ । मनमुटाव हुने कुराहरुले गर्दा नै तपाईलाई अब अगाडिको जीवन एक–अर्कासँग बिताउन सकिँदैन कि जस्तो लाग्छ । यसबाटै तपाईं आफ्नो वैवाहिक जीवन टुंगाउन बाध्य हुनुहुन्छ ।
दुवैले सम्झौता गर्न नसक्नु अथवा मानसिक रुपमा डिस्टर्वको अनुभव गरेर अलग हुनु नै समस्याको हल हो भन्ने सोच्नुहुन्छ भने सम्बन्ध विच्छेदको क्रममा हुने कानुनी, सामाजिक र भावनात्मक समस्याहरुको सामना गर्न पनि तयार हुनुपर्छ, जुन त्यति सहज हुँदैन । यदि विवाहित जोडीले विवाहलाई यातनाको रुपमा लिन्छन् भने त्यसबाट छुट्कारा पाउन पनि धेरै नै यातनाको सामना गर्नु पर्छ भन्ने कुरा बिर्सनु हुँदैन ।
आफैंलाई मूल्याङ्कन गर्नुहोस्
तपाईलाई कुन कुराले पिरोलिरहेको छ भन्ने कुरा सम्बन्ध विच्छेद गर्नु अगाडि नै सोच्नुपर्छ । त्यो कुरालाई सुधार्न सकिन्छ कि ? तपाईं आफूले आफूलाई पनि मूल्याङ्कन गर्नुहोस् । जुन कुराले तपाईं सम्बन्ध विच्छेद गर्न लाग्नुभएको छ, त्यो कुरा केही समयको लागि मात्र हो कि ? समयसँगै समस्या आफैं टाढा हुन्छ कि भन्ने कुरा सम्बन्ध विच्छेद गर्नु अगाडि सोच्नुपर्छ । सम्बन्ध विच्छेदपछि तपाईं पुनः एक पटक नयाँ सम्बन्ध गाँस्न तयार हुनुहुन्छ ? तपाईका बालबालिकालाई यसको कस्तो प्रभाव पर्छ ?
के तपाईंको यो निर्णयमा तपाईंका बालबालिकाको समर्थन छ ? यी कुरामा पनि विचार पुरयाउनुपर्छ । केही व्यक्तिहरु हतारमा केही पनि नसोची विवाह बन्धनमा बाँधिन्छन् र केही समयपछि आफूहरु एक–अर्काको लागि बनेको होइन भन्ने अनुभव गर्दै सम्बन्ध विच्छेद गर्छन् । त्यस्तै, कोही व्यक्ति विवाह गरेको केही दशकसम्म सँगै बसेर आफना सन्तानहरुलाई सेटल गराउँछन् र अब सँगै बस्नु पर्ने कुनै बाध्येता छैन भन्ने सोच्छन् र अलग हुन्छन् ।
किन हुन्छ विच्छेद ?
आफ्नो साथीलाई धोका दिनु सम्बन्ध विच्छेदको महत्वपूर्ण कारण हो । केही दम्पत्तिलाई आफूहरुबीच पहिले जस्तो मायाप्रेम नभएको जस्तो लाग्छ । पैसा र विचारहरुमा मतभेदका कारण पनि दम्पत्तिहरुका बीचमा झगडा भइरहन्छ । कतिपय दम्पत्तिलाई जीवनमा अन्य केही कुराको आवश्यकता भएको अनुभव हुन्छ, जसका कारण उनीहरु आफ्नो सम्बन्धमा कुनै पनि किसिमको सम्झौता गर्न चाहँदैनन् र अलग हुन खोज्छन् ।
आजभोलि प्रोफेशनल स्तरमा महिला र पुरुषको बढ्दो महत्वाकांक्षाहरुका कारण पनि धेरै सम्बन्ध विच्छेद भइरहेको देखिन्छ । धेरै प्रोफेसनल दम्पत्तिको प्राथमिकता परिवार र सम्बन्धभन्दा पनि आफ्नो करियरप्रति बढी हुनु पनि सम्बन्ध विच्छेदको अर्को कारण हो । उनीहरुलाई आपसमा कुरा गर्ने फुर्सद पनि हुँदैन । उनीहरु काम र परिवारबीच सन्तुलन मिलाउन सक्दैनन् । दुवैमा आर्थिक स्वतन्त्रताका कारण एक–अर्कामा कम निर्भर हुनु पनि कारण हो । सहनशिलताको अभाव हुनु सम्बन्ध विच्छेदको अर्को महत्वपूर्ण कारण हो । यदि तपाईले सम्बन्ध विच्छेद गर्न लाग्नु भएको छ भने एउटा कुरा सधैं याद राख्नुहोला । वैवाहिक जीवनले नै तपाईहरु दुवैलाई बाँधेर राखेको हुन्छ र यो सम्बन्ध विच्छेद भयो भने सबै भताभुङ्ग हुन्छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । सम्बन्ध विच्छेद पछि तपाईलाई समाजले हेर्ने दृष्टिकोण पनि फरक हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन ।
के तपाई परिवर्तनको लागि तयार हुनुहुन्छ ?
सम्बन्ध विच्छेदपछि हुने हरेक परिर्वतनको सामना गर्न तपाईं तयार हुनुहुन्छ ? सम्बन्ध विच्छेद जीवनको महत्वपूर्ण मोड हो, जुन सुखदायी पनि हुनसक्छ अनि दुखदायी पनि । त्यसैले हतारमा निर्णय लिनुभन्दा सोचेर मात्र निर्णय गर्नु बुद्धिमानी हुन्छ । सम्बन्ध विच्छेदको अर्थ परिर्वतन पनि हो । कुनै पनि किसिमको परिवर्तनको सामना गर्न त्यति सहज छैन । सम्बन्ध विच्छेदपछि पहिलाको जीवन सम्झेर रुनु परेमा अथवा बितेका जीवन सम्झेर अपराधबोध हुने जस्ता धेरै कुराहरु हुन्छन् । जसले तपाईलाई आफ्नो निर्णय गलत लाग्न थाल्छ । यदि तपाईं सम्बन्ध विच्छेद गर्ने स्थितिमा पुग्नु नै भएको छ भने आफ्नो जीवनमा आउने परिवर्तनको बारेमा राम्रोसँग सोचेर मात्र निर्णय लिनु होला ।
लिस्ट बनाउनुहोस्
सम्बन्ध विच्छेद गर्नु पर्ने कारणहरु के–के हुन्, ती सबै कारणहरुको लिस्ट बनाउनुहोस् । आफ्नो सम्बन्धका राम्रा–नराम्रो सबै कुराहरु त्यसमा लेख्नुहोस् । अर्को पक्षको कमीलाई मात्र ध्यान नदिनुहोस् । केही कमी त तपाईं आफूमा पनि हुन सक्छ । सम्बन्ध विच्छेदपछि व्यक्ति एक्लो हुन्छ । त्यो समयमा आफ्ना साथी अथवा आफन्तको साथ र सहयोग हुनु पनि आवश्यक छ, जहाँ उसले आफ्ना सबै कुरा खुलेर भन्न गर्न सकोस् । आवश्यक परेमा थेरापिस्ट कहाँ पनि जान सकिन्छ, तर तनावग्रस्त भएर बाँच्नु हुँदैन ।
व्यवहारिक सोचको खाँचो
सम्बन्ध विच्छेदपछि आर्थिक समस्या पर्न थाल्छ । एउटा अध्ययनले सम्बन्ध विच्छेदपछि सिर्जना हुने आर्थिक समस्याले महिलाको जीवनस्तरमा ३० प्रतिशत र पुरुषको १० प्रतिशत गिरावट आएको पत्ता लगाएको छ । महिला सम्बन्ध विच्छेदपछिको जीवनका लागि जति तयार भएता पनि आर्थिकस्तरमा आफूलाई अक्षम नै अनुभव गर्छिन् । त्यसैले सकेसम्म सम्बन्ध विच्छेदको बाटो रोज्नुभन्दा भावनालाई बसमा राखेर ब्यावहारिक सोच राख्नुहोस् । सम्बन्ध विच्छेदपछि हुने लाभभन्दा त्यसबाट हुने हानीलाई ध्यान दिनुहोस् । यदि तपाई आत्मनिर्भर हुनु हुन्न भने अलग भएर पनि तपाई पुन अरुमा निर्भर हुनु पर्छ, जसले तपाईको आत्मसम्मानमा ठेस लाग्न सक्छ । सम्बन्ध बिच्छेदले तपाईका सन्तानहरुलाई गहिरो असर पर्न सक्छ । उनीहरुका लागि आमाबुबा दुवै उत्तिकै महत्वपूर्ण हुन्छन् । आमाबुवा अलग हुँदा उनीहरुको विश्वासमा चोट पुग्छ, जसका कारण उनीहरु नकारात्मक सोच्न थाल्छन् ।
केही प्रश्न आफ्नो लागि
के आफ्नो साथीको लागि अहिले पनि तपाईको मनमा भावना छ ? यदि छ भने आफ्नो सम्बन्ध बचाउने कोसिस गर्नुहोस् ।
–के तपाई समाजको डरले मात्र सँगै बसिरहनुभएको हो ?
–के तपाई साँच्चै नै सम्बन्ध विच्छेद गर्न चाहानुहुन्छ ? कि यो झगडा पर्दा धम्क्याउने तरिका मात्र हो । यदि यस्तो भने यसले झन भयानक रुप लिन सक्छ ।
–के तपाई शारीरिक, मानसिक, आर्थिक र भावनात्मक रुपले सम्बन्ध विच्छेद गर्न तयार हुनु हुन्छ ?
–के तपाईले यसको नकारात्मक परिणामको बारेमा सोचिसक्नु भएको छ ? सम्बन्ध विच्छेदले तपाईको धेरै कुरामा कमि ल्याउन सक्छ साथै तपाईको कति सपना टुट्न पनि सक्छ ।
–के तपाईलाई साथ दिने कोही छ ? के आफ्ना सन्तानलाई सम्झाउन र उनीहरुको दुःख कम गर्न सक्षम हुनुहुन्छ ?
–के तपाई आफ्नो करियर र निजी जिन्दगीमा तालमेल मिलाउन सक्नुहुन्छ ? सम्बन्ध विच्छेदपछि तपाईले आफूलाई नयाँ अनुभव, नयाँ सम्बन्ध र नयाँ चिजहरुलाई नयाँ रुपले लिनका लागि तयार पार्नुपर्छ । अर्को विवाह गरेर खुशी र सुखी हुन्छु भन्ने भ्रममा नपर्नुहोस् । तपाईको दोस्रो विवाह सफल हुन्छ नै भन्ने के ग्यारेन्टी छ ? तपाईको नयाँ साथी पहिलाको तुलनामा राम्रो नै पर्छ भन्ने कुराको पनि कुनै ग्यारेन्टी हुँदैन । -एजेन्सी

प्रकाशित मिति: बैशाख ८ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend