-विनोद सापकोटा
बिर्तामोडः नगर प्रमुख मेघाहाङ थोप्राको हातबाट नियुक्तिपत्र लिँदै गर्दा भीमाकुमारी खत्रीका आँखामा हर्षका आँशु देखिन्थे । त्यो आँशुमा एउटा शिक्षिकाले वर्षौंसम्म गरेको मेहनतको खुशी थियो । सायदै उनको मनमा विद्यालयका विद्यार्थीको भविष्य पनि थियो । नियुक्तिपत्र हातमा पर्दाको त्यो क्षणमा उनले आफूलाई जन्म दिने र शिक्षाको बाटो देखाउने बाबुआमालाई बेस्सरी सम्झिइन् । ‘नियुक्तिपत्र हातमा पाउँदा सबैभन्दा पहिले मेरा बाबुआमा सम्झिएँ । उहाँहरूले मलाई जन्म मात्र दिनुभएन, मलाई शिक्षा पनि दिनुभयो,’ खत्रीले भावुक हुँदै सुनाइन् ।
त्यही दिनदेखि उनको परिचयमा अर्को जिम्मेवारी थपियो । शिवसताक्षी नगरका ३३ सामुदायिक विद्यालयमध्ये कक्षा १ देखि ८ सम्म सञ्चालित आधारभूत तहको विद्यालयमा पूर्णकालीन प्रधानाध्यापक बन्ने पहिलो महिला बनिन् ।
शिवसताक्षी–४ स्थित पाथीभरा आधारभूत विद्यालयको प्रधानाध्यापकमा नियुक्त भएसँगै खत्रीको पाँच वर्षे नेतृत्व यात्रा सुरु भएको छ । यो नियुक्ति उनको व्यक्तिगत उपलब्धि मात्र होइन, शिवसताक्षीको सामुदायिक विद्यालय नेतृत्वमा एउटा नयाँ अध्याय पनि हो ।
नगरपालिकाले शिक्षा नियमावलीको दशौँ संशोधनको नियम ९३ अनुसार सञ्चालन गरेको प्रधानाध्यापक पदको परीक्षा र विद्यालय विकास प्रस्तावका आधारमा खत्री छनोट भएकी हुन् । नगर प्रमुख थोप्राले उनलाई नियुक्तिपत्र हस्तान्तरण गरिसकेका छन् ।
नगरका अन्य कक्षा १–८ का आधारभूत विद्यालयमा पुरुष प्रधानाध्यापक नियुक्त भएका छन् भने केही विद्यालयमा प्रधानाध्यापक छनोट तथा नियुक्तिको प्रक्रिया अझै अघि बढिरहेको शिवसताक्षी नगरका नगर शिक्षा अधिकारी छवि ढकालले बताए । यसअघि कक्षा १ देखि ५ सम्मका विद्यालयमा महिलाले निमित्त प्रधानाध्यापकको जिम्मेवारी पाए पनि कक्षा १ देखि ८ सम्मको आधारभूत तहमा पूर्णकालीन महिला प्रधानाध्यापक नियुक्त भएको यो पहिलोपटक हो । तर खत्रीलाई आफ्नो उपलब्धिभन्दा अब विद्यालयको भविष्य ठूलो लागिरहेको छ ।

निजी टक्कर
‘निजीभन्दा राम्रो शिक्षा सामुदायिक विद्यालयमै दिनुपर्छ’ खत्रीको नेतृत्व दर्शनको एउटा महत्वपूर्ण पक्ष आफ्नै घरबाट शुरु हुने उनको भनाई अनुसार छाँट देखिएको छ । उनको योजना छ, ‘विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका छोराछोरीलाई सकेसम्म पाथीभरा विद्यालयमै अध्ययन गराउने वातावरण बनाउने ।’ यो योजनाको पछाडि उनको स्पष्ट सोंच छ ।
‘सामुदायिक विद्यालयमा पनि निजी विद्यालयको भन्दा राम्रो शिक्षा दिन सकिन्छ भन्ने विश्वास अभिभावकमा जगाउनुपर्छ,’ खत्री भन्छिन्, ‘महङगो शिक्षाको बोझबाट अभिभावकलाई बचाउँदै आफ्नै विद्यालयमा गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने उदाहरण हामी आफैंले देखाउनुपर्छ ।’
उनका लागि शिक्षकका छोराछोरी आफ्नै विद्यालयमा पढ्नु एउटा प्रशासनिक नियमभन्दा बढी विद्यालयप्रतिको विश्वास र अपनत्वको प्रमाण पनि हो । शिक्षकले आफ्नै छोराछोरीलाई विश्वास गरेर पढाउने विद्यालयप्रति अभिभावकको विश्वास पनि बढ्ने उनको अपेक्षा छ । यसैले उनी विद्यालयमा यस्तो वातावरण बनाउन चाहन्छिन्, जहाँ शिक्षकलाई आफ्ना छोराछोरी निजी विद्यालयमा पठाउनुपर्ने चाहाना नहोस् र अभिभावकले पनि सामुदायिक विद्यालय रोज्न हिच्किचाउनु नपरोस् ।
भोकै विद्यार्थी
पाथीभरा आधारभूत विद्यालयमा करिब १८० विद्यार्थी अध्ययनरत छन् । अधिकांश विद्यार्थी आदिवासी जनजाति समुदायका छन् । धेरै परिवारको आर्थिक अवस्था कमजोर छ । अधिकांश अभिभावक कृषि मजदुरका रूपमा काम गर्छन् ।
कतिपय विद्यार्थी ठाउँठाउँमा टालिएको विद्यालय पोशाक लगाएर विद्यालय आउने गरेका छन् । पर्याप्त खाना नखाई विद्यालय आउने विद्यार्थी पनि सो विद्यालयमा छन् । निवर्तमान प्रधानाध्यापक दिलिप ताजपुरिया विद्यालयको यो अवस्थासँग लामो समयदेखि परिचित छन् ।
‘यहाँका अभिभावकका लागि छोराछोरीको भविष्यभन्दा बिहान–बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता ठूलो हुने गरेको छ,’ ताजपुरियाले भने, ‘बिहानै काममा निस्कनुपर्ने भएकाले कतिपय अभिभावकले बालबालिकालाई खाना खुवाउन नसक्ने र विद्यार्थीहरू भोकै विद्यालय आउने अवस्था छ ।’
यस्तो विद्यालयको नेतृत्व सम्हाल्न लागेकी खत्रीका अगाडि शैक्षिक सुधार मात्र होइन, विद्यार्थीलाई विद्यालयमा टिकाइराख्ने र विद्यालयप्रति आकर्षण बढाउने चुनौती पनि छ । तर उनी चुनौतीबाट पछि हट्ने स्वभावकी छैनन् ।

माइखोलाको बालुवा र मोटरसाइकलको यात्रा
खत्रीको अदम्य साहस उनको शिक्षण यात्रामै देखिन्छ । उनी मोटरसाइकल राम्रैसँग चलाउँछिन् । झापा गाउँपालिकाबाट शिवसताक्षी–७ स्थित भानु माध्यमिक विद्यालयमा पढाउन आउँदा उनको बाटो सधैं सहज थिएन ।
माइखोलाको बालुवायुक्त बाटोमा मोटरसाइकल पटक–पटक फस्ने गरेको उनी सुनाउँछिन् । कतिपयपटक मोटरसाइकलसहित लडेकी पनि छन् । तर ती लडाइँले उनको शिक्षण यात्रा कहिल्यै रोकिएन ।
बालुवामा मोटरसाइकल फँसेर लड्नु, फेरि उठ्नु र विद्यालयतर्फ अघि बढ्नु उनका लागि यात्राका घटना थिएनन् । कठिन परिस्थितिमा पनि आफ्नो जिम्मेवारी पूरा गर्ने बानीको ती घटना क्रमस उदाहरण बन्दै गए । सायद त्यही यात्राले उनलाई आजको चुनौतीका लागि पनि तयार बनाएको छ ।
‘विद्यालय जाऊँ–जाऊँ’ लाग्ने वातावरण
खत्री विद्यालयलाई विद्यार्थीका लागि पढ्न जाने ठाउँ बनाउन चाहन्नन् । उनी विद्यार्थीलाई विद्यालय आउन मन लाग्ने वातावरण बनाउन चाहन्छिन् ।
‘शिक्षकलाई आत्मसन्तुष्टि र सम्मानको अनुभूति गराउने वातावरण बनाउनुका साथै विद्यार्थीलाई ‘विद्यालय जाऊँ–जाऊँ’ लाग्ने कार्यक्रम सञ्चालन गर्नु मेरो प्राथमिकता हुनेछ,’ उनी भन्छिन्, “शिक्षकहरूको टिम स्पिरिट मिल्यो र अभिभावकको साथ रह्यो भने विद्यालयको नतिजा सुधार्न हामीलाई केहीले रोक्दैन ।’
उनको कार्ययोजनामा विद्यालयमा स्काउट ट्रुप स्थापना गर्ने, जुनियर रेडक्रस सर्कल गठन गर्ने, अभिभावक र शिक्षकबीच कम्तीमा महिनामा एकपटक बैठक गर्ने तथा सामुदायिक विद्यालयबाट विद्यार्थी र अभिभावकले पाउने सेवा–सुविधाबारे घरघरमै पुगेर जानकारी गराउने योजना छन् ।
विद्यार्थीको उत्तीर्ण प्रतिशत बढाउने, विद्यालयका अस्थायी संरचनालाई स्थायी बनाउने, सीसी क्यामेरा जडान गर्ने तथा विद्यार्थी ओसारपसारका लागि यातायातको व्यवस्था मिलाउने योजना पनि प्राथमिकतामा छन् ।
टिनको छानामुनिबाट पक्की संरचनातर्फ
खत्रीको नजर शैक्षिक सुधारमा मात्र छैन । विद्यालयको भौतिक अवस्था पनि उनको कार्ययोजनाको महत्वपूर्ण पक्ष हो । हाल विद्यालयमा रहेको टिनको छाना हटाएर पक्की छाना निर्माण गर्ने उनको चाहना छ । विद्यार्थीले सुरक्षित र सुविधाजनक वातावरणमा अध्ययन गर्न पाउनुपर्ने उनको धारणा छ । ‘विद्यालय राम्रो देखिने मात्र होइन, विद्यार्थीले सुरक्षित र सहज महसुस गर्ने ठाउँ बन्नुपर्छ,’ उनी भन्छिन् ।

निजी विद्यालयकी शिक्षिकादेखि ‘हेडसर’ सम्म
खत्रीको प्रधानाध्यापकसम्मको यात्रा लामो छ । उनले २०६४ सालसम्म तत्कालीन झापा गाविसस्थित होली फिल्ड विद्यालयमा निजी क्षेत्रको शिक्षकका रूपमा अध्यापन गरिन् । २०६४ सालमा प्राथमिक तहको राहत दरबन्दीमा स्थानीय जगदम्बा प्राथमिक विद्यालयमा प्रवेश गरिन्। २०७१ माघ २३ गते उनले कक्षा १ देखि ५ सम्मको सामुदायिक विद्यालयमा पहिलोपटक स्थायी नियुक्ति पाइन् ।
२०७२ माघ १२ गते आधारभूत तह (निमावि) शिक्षक पदको परीक्षा उत्तीर्ण गरेपछि शिवसताक्षी–७ स्थित भानु माध्यमिक विद्यालयमा नियुक्त भइन् । त्यहाँ उनले लामो समय अध्यापन गरिन् ।
भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक डामकुमार कुँवरका अनुसार खत्री अनुशासित, इमानदार र विद्यार्थीको भविष्यप्रति जिम्मेवार शिक्षक हुन् । ‘उहाँको शिक्षण कला असामान्य छ । अनुशासन, विद्यार्थीमैत्री लगनशीलता र इमानदारी उहाँका बलिया पक्ष हुन्,’ कुँवरले भने, ‘शिक्षणसँगै प्रशासनिक जिम्मेवारीमा पनि उहाँ अब्बल हुनुहुने विश्वास छ ।’
अब वास्तविक परीक्षा शुरु
शिवसताक्षी नगरपालिकाले नगरका सामुदायिक विद्यालयमा पूर्णकालीन प्रधानाध्यापक छनोटका लागि नयाँ अभ्यास अघि बढाएको छ ।
कक्षा १ देखि ५ सम्म सञ्चालित १३ वटा आधारभूत तहका विद्यालय, कक्षा १ देखि ८ सम्म सञ्चालित ८ वटा आधारभूत तहका विद्यालय र १० वटा माध्यमिक विद्यालय गरी ३१ विद्यालयमा प्रधानाध्यापक छनोट प्रक्रिया अघि बढाइएको थियो ।
परीक्षा र विद्यालय विकास प्रस्ताव लेखनका आधारमा छनोट भएका प्रधानाध्यापकको पदावधि पाँच वर्षको हुने कानुनी व्यवस्था छ । तर भीमा खत्रीका लागि नियुक्तिपत्र हातमा परेको क्षण उपलब्धिको अन्तिम बिन्दु होइन । त्यो त उनको वास्तविक परीक्षाको सुरुवात हो ।
पाथीभरामा भोकै विद्यालय आउने विद्यार्थी छन् । कमजोर आर्थिक अवस्था भएका परिवार छन् । जीर्ण भौतिक संरचना छन् । शैक्षिक नतिजा सुधार्नुपर्ने चुनौती छ । शिक्षकलाई एउटै टिममा बाँध्नुपर्ने आवश्यकता छ । अभिभावकको विश्वास जित्नुपर्ने छ र नजिकका निजी विद्यालयलाई टक्कर दिनु पनि उत्तिकै चुनौती छ । यी सबै चुनौतीको बीचमा खत्रीले आफूले वर्षौंअघि रोजेको शिक्षण पेसालाई नेतृत्वको नयाँ जिम्मेवारीसँग जोड्दैछिन् ।
माइखोलाको बालुवामा मोटरसाइकल फँसेर लड्दा उठेकी खत्री अब एउटा विद्यालयको नेतृत्व सम्हाल्न थालेकी छन् । उनका लागि पाँच वर्षको कार्यकाल प्रधानाध्यापकको पदावधि होइन यो परिक्षाको सुरुवात भएको स्थानीय अभिभावक मेदनी रिजालले बताए ।