धरानः धरानमा संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी भएसँगै खुशीयाली मनाइएको छ ।
संसद पुनस्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा धरानको भानुचोकस्थित सडकमा ‘सर्वोच्च अदालतको फैसलाको स्वागत गरौं’ लेखेर दीप प्रज्ज्वलन गरिएको थियो ।
माओवादी केन्द्र र जनता समाजवादी पार्टीले भानुचोकमा स्वागत गरेको माओवादी केन्द्रका इञ्चार्ज अइन्द्रविक्रम बेघाले जानकारी दिए । कार्यक्रममा केन्द्रनिकट र समाजवादी निकट नेताहरुको उपस्थिति थियो ।
सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनःस्थापित भएको छ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए ।
यस्तै, अदालतले ७ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ । विघटनको डेढ महिनापछि सर्वोच्चले फैसला गरेको हो ।
धरानमा विरोध पनि
सत्तारुढ दल एमालेको जनवर्गीय संगठनहरुले धरानमा विरोध जनाएका छन् ।
नेकपा एमालेसम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले धरानमा पनि सर्वोच्चको उक्त फैसलाको विरोधमा सोमबार साँझ प्रर्दशन गरेको हो । छाताचोकबाट शुरु भएको विरोध रयाली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा उनीहरुले जनादेश मान्न तयार रहेको तर परमादेश नमान्ने बताए ।
तस्वीरहरुः लक्ष्मण थापा




विरोधमा उत्रिएका युवाहरु ।

