धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहितको ‘जम्बो टोली’ अहिले काठमाडौंमा दौडधुप गरिरहेको छ ।
अहिले धरानेलाई चासो पनि छ । किन मेयरलगायत अन्य दलका प्रतिनिधि काठमाडौंमा दौडधुप गरिरहेका छन् ?
मेयर राईले धरानका समसामयिक विषयमा छलफल, परामर्श र नयाँ योजनाका लागि आफूहरु दौडधुपमा लागिरहेको जानकारी दिए । ‘धरानकै समसामयिक विषय, नयाँ योजनासँग सम्बन्धित कुराहरु लिएर काठमाडौं आएका छौं’, उनले भने, ‘अहिले पनि भेटघाट, छलफल र परामर्श चलिरहेको छ ।’
धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले धरानका मेयर, विभिन्न राजनीतिक दलका नेताहरु सम्मिलित टोलीले धरानका समसामयिक विषय बीपी प्रतिष्ठान, खानेपानी, बसपार्कलगायत धरानका यावत समस्या लिएर काठमाडौं आइपुगेको बताए । ‘खासमा धरानकै समस्यालाई लिएर आएका हौं’, उनले भने ।
उनले बिहीबार नै अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरिएको जानकारी दिए । मन्त्री शर्मासँगको भेटमा उनले जोगवनी–किमाथाङ्का सडकको धरानको मुख्य बजार क्षेत्रमा रहेका समस्याका बारेमा कुरा राखिएको जानकारी दिए । ‘खासमा धरानेले ८० फिटको मापदण्डमा सडक बनाउन चाहिरहेको र धरान उपमहानगरपालिकाको नगरसभाले समेत ८० फिट कायम गर्ने भनेर निर्णयसमेत गरिसकेको अवस्था छ, त्यसैले सो सडक खण्डमा मापदण्ड परिमार्जन गरी ८० फिट कायम गर्न माग गरिएको छ ।’
गतवर्षकै नीति तथा कार्यक्रममा ८० फिट कायम गर्ने निर्णय पारित भएपनि दलहरुकै विवादका कारण यो कार्यान्वयन हुन सकेको छैन । अहिले पनि नेकपा (एमाले) ले ८० फिट, कांग्रेसले ७२ फिट, सङ्घीय लिम्बुवान मञ्चले ७६ फिटको कायम गर्नुपर्ने माग राख्दै आएको छ ।
उनले कानुनमन्त्री, स्वास्थ्यमन्त्रीलगायत अन्य मन्त्री साथै शीर्षस्थ नेतासँग भेटघाट हुने जनाएका छन् । ‘हामी धरानकै विषयमा मन्त्री, शीर्षस्थ नेतालगायतकोमा डेलिगेसन गइरहेका छौं’, उनले भने, ‘आजै पनि विभिन्न शीर्षस्थ नेतासँग भेट भयो, भोलि पनि त्यो कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’
धराने टोलीमा सांसद्हरु मीना सुब्बा, जयकुमार राई, चन्द्रप्रसाद श्रेष्ठ, कांग्रेसका नेता सुरेशमान श्रेष्ठ, श्याम पोख्रेल, एमालेका नेता रमेश बस्नेत, नारायण सुवेदी, माओवादी केन्द्रका नेता मुक्सामहाङ मेन्याङ्बो, चोत्लुङ, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटा, अग्रज पत्रकार हर्ष सुब्बा, भवानी बराललगायतको टोली रहेको जनाइएको छ ।
उता न्याय तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खानेपानी र धरान वडा नं. २० स्थित विद्युत सवस्टेसन बनाउने बारे आफूले हेरिदिने आश्वासन दिएका छन् । साथै, उनले धरानसँग जोडिएका विकास निर्माणका विषयहरुमा साथ सहयोग रहने बताएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले योजनाहरुको लिखित प्रस्तावका साथै गरिबी अन्त्य गर्न धरानमा रहेका सिमान्तकृत वर्गको तथ्याङ्क सङकलन गरि ठोस योजना उपमहानगरपालिकासँग माग गरेका छन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित चारैजना कार्यकारिणीले राजिनामा नदिए कारबाही गरिने बताएका छन् ।
मन्त्रालयमा भएको छलफलमा मेयर तिलक राईले बीपीका बारेमा छानबिन समितिले दिएको प्रतिवेदन चाँडो कार्यान्वयन गर्न माग गरे । अख्तियारको पटक पटकको छानबिन, अन्दोलनको माग, छानबिन समितिको रिपोर्टको अधारमा उनीहरुले राजीनामा दिनुपर्ने मन्त्रीको भनाई छ ।
मेयर राईले धरानका लागि पर्याप्त खोप प्राप्त नभएको गुनासो व्यक्त गरे । मन्त्री श्रेष्ठले दुई महिनाभित्रमा १ करोड ५ लाख खोप आइपुग्ने बताउँदै कोरोनाको उच्च जोखिम भएको ठाउँमा खोप पर्याप्त रुपमा वितरण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । तस्वीरः हर्ष सुब्बाको फेसबुकबाट










