Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा नेवार समुदायको गाईजात्रा

हाम्रो कोशी आवाज
भाद्र ७ २०७८, सोमबार
धरानमा नेवार समुदायको गाईजात्रा

धरानः धरानमा गाईजात्रा (सापारू) निकालिएको छ । सोमबार धरानका विभिन्न टोलहरुमा मात्रै सीमित राखेर गाईजात्रा निकालिएको हो ।
धरान-३ का वडा सदस्य विकासकुमार बनेपालीले आफूहरुको टोलमा ७ वटा समूहले गाईजात्रा निकालेको जानकारी दिए ।
कतिपयले मृतकहरूको सम्झनामा गाईको भेषधारण गरी पनि गाईजात्रा निकालेका थिए । नेवारी समुदायले आजको दिनलाई सापारू पर्वको रूपमा मनाउने गरेको उनले जानकारी दिए ।
कोरोना सङ्क्रमणका कारण अघिल्लो वर्ष पनि त्यतिकै थन्किएको गाईजात्रा यसपटक टोल टोल र घरघरमा मात्रै सीमित गर्दै निकालिएको उनले जानकारी दिए । विशेषतः धरानमा सिद्धिनेवाः परिषदले वर्षेनी लाखेनाच र गाईजात्रालगायत अन्य निकाल्दै आएको उनले जानकारी दिए । उनका अनुसार विशेषतः भाद्रकृष्ण प्रतिपदाका दिनदेखि भाद्रकृष्ण अष्टमीसम्म यो पर्व मनाइने गरिन्छ ।
मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाईजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरूको तस्वीरका साथै पुतलाहरू बनाएर आ–आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ । यसरी नगर परिक्रमा गर्नाले दिवङ्गत आत्माले मुक्ति पाउने धार्मिक विश्वास रहेको वडा सदस्य बनेपाली बताउँछन् ।
कोभिडका कारण स्वास्थ्य मापदण्ड अपनाएर गाईजात्रा कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईकै रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू मुक्त हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनमा शोक विह्वल भएको रानी भुवनलक्ष्मीलाई हाम्रा मात्र सन्तान होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिनको लागि गाई जात्रा मनाउन थालिएको इतिहासमा उल्लेख छ । यिनै राजा प्रताप मल्लले जो जसका घरमा मानिस मरेका छन्, ती घरबाट गाई ल्याउनू भनेर उर्दी दिएकाले आशौच परेका घरबाट गाई शृङ्गार गरेर हनुमानढोका दरबारमा उपस्थित गराउने चलनअनुसार यो पर्व मनाउँदै आइएको छ ।
तस्वीरः निमा पोङसुवा र फेसबुक

प्रकाशित मिति: भाद्र ७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend