धरानः नेपाली काङ्ग्रेसको प्रदेश १ स्तरीय जिल्ला सचिवहरुको भेला धनकुटाको भेडेटारमा सम्पन्न भएको छ ।
भेलाले भेडेटार घोषणापत्र जारी गरेको छ । भेलाले १३ बुँदे भेडेटार घोषणा पत्र जारी गरेको सुनसरी सचिव सुजेन्द्र तामाङले जानकारी दिए । भेलाले आसन्न १४ औं महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न माग गरिएको छ ।
नेपाली कांग्रेस
१ नं. प्रदेश स्तरीय जिल्ला सचिवहरुको भेला
जहाँनिया राणा शासनलाई अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि नेपाली काँग्रेसको स्थापना भएको थियो । नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलन नेपाली काँग्रेसकै नेतृत्वमा सफल भएको थियो । नेपाली काँग्रेसकै नेतृत्वमा शान्ति स्थापना र संविधान निर्माण समेत भएको हो । राजनैतिक क्रान्ति पुरा भएकोले अब आर्थिक क्रान्तिको आन्दोलनको नेतृत्व पनि काँग्रेसलेनै गरिरहेको छ । अहिले संविधानको कार्यन्वयन गर्दै सरकारको नेतृत्व गर्दै मलुकको समग्र विकास गरी मुलुकलाई समृद्धि बनााउनु पर्ने जिम्मेवारी पनि काँग्रेसकै काँधमा आएको छ । मुलुकलाई कोरोनाले आक्रान्त बनाएको समयमा पनि हामीले हाम्रो पार्टी नेपाली काँग्रेसलाई संवैधानिक र बैधानिक हिसावले पनि बचाउनका लागी महाधिवेशन गर्नु पर्ने बाध्यता आईपरेको छ । यस जटिल परिस्थितिमा हामी कोरोनाबाट सुरक्षित हुदै पार्टीको महाधिवेशन सफल बनाउन जुटेका छौ । नेपाली काँग्रेस १ नं. प्रदेशका हामी जिल्ला सचिवहरुको प्रदेश स्तरीय यस भेलाले पनि पार्टीको महाधिवेशनलाई सफल बनाउन र पार्टीको संगठन विस्तारमा महत्पूर्ण सहयोग पुग्ने विश्वास लिदै यस प्रदेश स्तरीय सचिवहरुको भेलाबाट १३ बुदे तपशिल बमोजिको भेडेटार घोषण पत्र जारी गर्दै सम्पन्न गरेका छौ ।
१. नेपाली कांग्रेसको विधान र मुलुकको संविधानको प्रावधानलाई मध्यनजर गर्र्दै पार्टीलाई संवैधानिक र वैधानिक रुपले बचाउन र नयाँ नेतृत्व चयन गर्र्दै पार्टीलाई नविन उर्जा प्रदान गर्न क्रियाशील सदस्यमा भएको विवादहरुलाई पार्टीको तल्लो तहबाट सिफारिस भई आएको आधारलाई मानी विवाद समाधान गरी आशन्न १४ औं महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न यो भेला जोडदार माग गर्दछ ।
२. पहाडी जिल्लाहरुमा राज्यको सुगम पहुँच र विकास गर्न भौगालिक आधारलाई मध्यनजर गरी १ मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरुमा प्रतिनिधिसभा क्षेत्रको संख्या थप गरी वैज्ञानिक र व्यवहारिक बनाउन यो भेला माग गर्दछ ।
३. सिंगो मुलुक कोभिड १९ (कोरोना) बाट ग्रसित भएको र सबै नेपाली जनताले खोप समेत नपाइरहेको अवस्था रहेकोले जनताको स्वास्थ्यप्रति संवेदनशीन र जिम्मेवार भई सबैले तत्काल प्रत्येक नागरिकले खोप पाउने व्यवस्था गर्न यो भेला जोडदार माग गर्दछ ।
४. कांग्रेस नेतृत्वमा निर्मित दलीय गठबन्धनले संघीय सरकारको नेतृत्व गर्दै गर्दाको अवस्थाले सिर्जना भएको राजनीतिक घटनाक्रमबाट प्रादेशिक सरकारसमेत गठबन्धनकै भावनाअनुरुप परिवर्तन हुने अवस्था निर्माण भएको सन्दर्भमा प्रदेश नं. १ को सरकार पनि नेपाली कांग्रेसकै नेतृत्वमा बनाउन शीर्ष नेतृत्व समक्ष यो भेला अनुरोध गर्दछ ।
५. सिंगो मुलुक विषम परिस्थितिमा गुज्रिरहेको र पार्टीले यस्तो प्रतिकुल अवस्थामा आफ्नो महाधिवेशन सम्पन्न गरी पार्टी र देशलाई नेतृत्व गर्नुपर्ने अवस्था विद्यमान रहेकाले एकताको सन्देश दिंदै पार्टी महाधिवेशन सम्पन्न गर्न सबै तहका नेतृत्वलाई सर्वसम्मत ढंगले नेतृत्व चयन गर्र्दै १४ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन यो भेला अनुरोध गर्दछ ।
६. प्रदेश १ का विभिन्न पर्यटकीय क्षेत्रहरुको पूर्वाधार विकास, विस्तार र प्रवद्र्धनका लागि ३ वटै तहका सरकार समक्ष यो भेला माग गर्दछ ।
७. नजिकिंदै आएको चाडपर्वहरुमा हुने कृत्रिम अभाव, कालोबजारी, महंगी आदिलाई नियन्त्रण गर्न र प्रभावकारी अनुगमन गर्न यो भेला माग गर्दछ ।
८. पार्टीमा नयाँ पुस्ताको नेतृत्व विकास गर्न र गतिशील नेतृत्व प्रदान गर्न आगामी १५ औं महाधिवेशनदेखि लागू हुने गरी ६५ वर्षे उमेर हद कायम गर्न यो भेला जोडदार माग गर्दछ ।
९. देशमा व्याप्त भ्रष्टाचार र अनियमिततालाई पूर्ण नियन्त्रण गर्न भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिई कडा कारवाही गरी सुशासन कायम गराउन यो भेला जोडदार माग गर्दछ ।
१०. विगतमा दक्षिण एशियाकै स्वास्थ्य उपचार र अनुसन्धानमा उत्कृष्ट रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार, विस्तार र अत्याधुनिक सुविधा सम्पन्न बनाउनका साथै सर्वसाधारणले सर्वसुलभ स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न यो भेला जोडदार माग गर्दछ ।
११. १३ औं महाधिवेशनको विधान बमोजिमको ४ वर्षे कार्यकाल समाप्त भई डेढ वर्ष व्यतित हुँदासमेत १ पटक पनि जिल्ला सचिवहरुको भेला आयोजना नगरेकोमा पार्टी नेतृत्वप्रति यो भेला दुःख व्यक्त गर्र्दै अब उप्रान्त जिल्ला सचिवहरुको नियमित राष्ट्रिय र प्रादेशिक भेलाहरुको आयोजना गर्न यो भेला जोडदार माग गर्दछ ।
१२. स्वतः अधिवेशन प्रतिनिधि हुने व्यवस्थालाई अन्त्य गरी केन्द्रीय सदस्य समेतलाई वडा देखिनै प्रतिनिधि हुनुपर्ने भेलाले माग गर्ने ।
१३. प्रदेशका सबै जिल्ला सचिवहरुबीच आपसी सम्बन्ध, सद्भाव, एकता र सहकार्यलाई दिगो बनाउँदै आसन्न १४ औं महाधिवेशनमा एक आपसमा सहयोग र सहकार्य गर्ने प्रतिवद्धता गर्ने ।
१. प्रेम सम्वाहाम्फे (लिम्बू) झापा (सचिव)
२. नागेश कोइराला मोरङ (सचिव)
३. केदार भण्डारी सुनसरी (सचिव)
४. सुजेन्द्र तामाङ सुनसरी (सचिव)
५. कैलाशकुमार आले भोजपुर (सचिव)
६. विजयसन्तोषी राई धनकुटा (सचिव)
७. सन्तोष सुब्बा तेह्रथुम (सचिव)
८. डम्बर बस्नेत संखुवासभा (सचिव)
९. निर्मला तामाङ बस्नेत (नीरु) संखुवासभा (सचिव)
१०. नगेशचन्द्र राई सुनसरी (सहसचिव)

