कोरोना महामारीबाट अहिले पनि नेपाल अछुतो छैन । कतिपय देशले लकडाउन घोषणा गरिसके भने अधिकांशले आफ्नो देशका सीमा बन्द गरिसकेका छन् ।
अहिले डब्लूएचओले डेल्टाभन्दा खतरनाक भाइरस आएको पनि भन्दै आएको छ । दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई ओमीक्रोन नाम दिएको छ । यो भेरिएन्टको म्युटेसन डेल्टाभन्दा खतरनाक हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् । यसलाई अहिलेसम्मकै सबैभन्दा धेरै म्युटेसनवाला भेरिएन्ट भएको बताइएको छ। डब्लूएचओले यो भेरिएन्टको नाम राख्दै सतर्क रहन चेतावनी दिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले विभिन्न राज्य र त्यहाँका निकायमा गरेको पत्राचारमा भने यो भाइरस बोत्स्वाना, दक्षिण अफ्रिका र हङकङमा फैलिएको उल्लेख छ । तर, यो भेरिएन्ट अहिले औपचारिक रुपमा भने दक्षिण अफ्रिकामा मात्र भेटिएको बताइएको छ । यसका केही संक्रमित मात्र भेटिए पनि अझ ठूलो रुपमा फैलिसकेको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।
चीनको विभिन्न प्रान्तमा पनि लकडाउन गरिसकेको छ । हाम्रै छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमणदर प्रतिदिन बढ्दै गएको खबरहरु आइरहेका छन् । भारतमा कोरोनाको संक्रमण बढेसँगै त्यहाँ रोजगारीका लागि गएका, घुम्न गएका, पुगेकाहरु लकडाउन हुने हल्लाले धमाधम नेपाल फर्किने क्रमको सुरुवात भएको छ । नेपाल र भारतको सीमाना खुला छ । नेपालीहरु सजिलै भारत छिर्न पाउँछन् भने भारतीयलाई नेपाल आउन त्यति गाह्रो छैन ।
अहिले नेपालीहरु भारतबाट कोरोना बोकेर नेपाल फर्किरहेको छन् । तर, नाकामा कोरोना परीक्षण गरिएको छैन । उनीहरु सिधैं कोरोना बोकेर आफ्नो गाउँठाउँमा पुगेका छन् । नेपाल सरकारले कोरोना नियन्त्रण गर्न बनाएका मापदण्डहरु नेपाली जनताले नै पालना गरेका छैनन् ।
नेपाली जनता नै रोग बोकेर नेपालीको पछि दौडिरहेको छन् । गृहमन्त्रालयले स्वास्थ्य मापदण्ड पालना भएको छ कि छैन भनेर अनुगमन गर्दैन । अरु राष्ट्रमा कोरोनाको रोगी र मृत्युदर दैनिक बढिरहेको छ । युरोपका अधिकांश मुलुकमा दैनिक हजारौको संख्यामा संक्रमित भेटिन्छन् । चीनले तीन वटा कोरोना केस भेट्दा आफ्ना देशको विभिन्न प्रान्त नै लकडाउन गरयो । हाम्रो देशमा अहिले पनि संक्रमणदर र मृत्युदरमा केही फरक आएको छैन । तरपनि स्वास्थ्य मन्त्रालयलाई चासो छैन । आफ्नै छिमेकी मुलुकमा कोरोना संक्रमण बढ्दा पनि मन्त्रालयले नाकाहरुमा परीक्षण गरेको छैन ।

अहिले कोरोना परीक्षण गर्नेको संख्या निकै कम हुँदै गएको छ । वडा, नगरपालिका ले पनि कोरोना परीक्षण गर्न छाडिसकेको छ । नेपालबाट बाहिर गएकाहरुमा पनि कोरोना भेटिएको छ । अरु देशको नागरिक पनि नेपाल आउँदा कोरोना नभेटिएको भने होइन ।
योसँगै कुनैपनि क्षेत्रमा काम गर्ने मानिसहरुले स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् । फुटपाथ व्यवसायी, रात्रिकालिन व्यवसायी, वित्तीय संस्था या विभिन्न थरिका कार्यालयहरुमा हेलचेक्रयाइ भइरहेको छ । सरकारले पनि अनुगमन गरेको छैन ।
अब नेपालमा कोरोनाको भव्य आगमन हुन्छ भन्ने संकेत देखिएको छ । जनताहरु पनि कोरोना केही होइन खोप लगाइसकेको छ भन्दै छाडा हिँडिरहेको छन् । तर, खोप लगाएकालाई नै दुईचोटी कोरोना संक्रमण भएको घटनाहरु पनि छन् । तापनि आफ्नै स्वास्थ्यप्रति यस्तो लापरबाही किन ? हात मिलाँउदा, मुखमा, नाकमा र आँखामा हात लग्यो भने कोरोना सर्छ भनेर चिकित्सकहरुले बारम्बार भनिरहेको छन् । उनीहरुले पटकपटक साबुनपानीले हात धुन पनि भनेका छन् । अहिलेसम्म झण्डै १२ हजार मानिसहरुको कोरोनाको कारण मुत्यु भइसकेको छ ।
यता, कोरोना संक्रमितहरु अस्पतालमा मृत्युसँग लडिरहेको छन् । राज्यलाई कर उठाउन र व्यापारीलाई व्यवसायी गरेर पैसा कमाउनतिर मात्र ध्यान छ । राज्य र व्यापारीको प्रलोभनले गर्दा यत्रो जनता मरे । तैपनि सरकारले मतलब गरेन् भने व्यापारीलाई अलिकति पनि पछुतो छैन ।
आखिरी कोरोना लागेर मर्ने पनि जनता नै हुन् । अझ पनि कोरोना लाग्ने क्रम जारी नै छैन । मर्नेको संख्या अब फेरि पनि बढ्ने छ जसलाई सरकारले बेवास्ता गरिरहेको छ । लकडाउनसँगै कोरोना घट्छ फेरि बढ्छ यो क्रमश जारी नै छ । संक्रमितको संख्या कम देखिन थालेपछि हामी आफै पनि लापरबाही गर्छौ । जथाभावी रुपमा मनोमानी गर्दै निस्किन्छौं । स्वास्थ्य सम्बन्धी कुनैपनि प्रोटोकलको पालना गर्दैनौ । जसको उदाहरण नेकपा एमालेले पनि दिएको छ । हाल चितवनमा एमालेको १० औं महाधिवेशन चलिरहेको छ । विदेशी पाहुनासमेत महाधिवेशनमा सामेल भएका छन् ।
देशभरका एमालेका कार्यकर्ता पनि चितवनमा ओइरिएका छन् । भेडाबाख्राझै सबै कार्यकर्ता कोचरिएका छन् । मानौं कोरोना त गायब नै भइसकेको छ । केपी ओली मञ्चमा भाषण ठोक्न गए कोरोना र खोपलाई लिएर ठूलाठूला भाषण दिए । तर, आफैले मास्क लगाउन बिर्से ।
केपी ओलीको भाषण सुन्न पुगेकाहरुलाई पनि उनले मास्क लगाउनपर्छ भनेर सिकाएनन् । प्रधानमन्त्री देउवा, भीम रावलजस्ता शीर्ष नेताहरु पनि त्यहाँ पुगे तर कसैले पनि कोरोनाको जोखिमलाई अड्कल गरेनन् । देशका नेताहरु आफै त जथाभावी गरेर हिँडेका छन् त्यस्ताबाट जनताले के सिक्ने ? के एमालेलाई कोरोना सर्दैन हो ?
चितवनमा जारी महाधिवेशनबाट भव्यरुपमा कोरोना फैलने निश्चित छ । चुनाव नजिकिँदै जाँदा राजनीतिक दलले जनता भेला गरेर कार्यक्रम गर्ने काम भइरहेको छ । महाधिवेशनमा पुगेका कुनैपनि नेताले कोरोनाको विषयमा टिकाटिप्पणी गरेनन् । न उनीहरुले जनतालाई कोरोनाबाट सर्तकता अपनाउन आग्रह नै गरे । कार्यक्रमभर आफ्नो जयजयकार गरे जनताको विषयमा कसैले सोच्दै सोचेनन् । आफ्नो पार्टी शक्तिशाली देखाउन कोरोना फैलाएर जनता मार्न पाइन्छ ? यो एमालेलाई जनताद्वारा सोधिएको प्रश्न हो । २०७६ साल माघमा नेपालमा एउटा कोरोना संक्रमित भेटिँदा केपी ओलीको सरकारले लकडाउन गरयो । २०७६ साल चैत ११ गते देशभर ओली सरकारले लकडाउन गरयो ।
२०७८ वैशाख १६ गते दोस्रोचोटी पुनः लकडाउन केपीद्वारा गरिएको थियो । आफू सत्तामा हुँदाचाहि लकडाउन गर्ने, अहिले आफू हटेपछि कार्यकर्ता बटुल्दै हिँड्ने ? कोरोनाले पनि सत्तामा बस्नेलाई चिन्छ जस्तो छ । आफू सत्तामा बस्दा कोरोना फैलने, आफू हटेपछि कोरोना पनि हट्ने । एमालेकै एकजना नेतालाई कोरोना संक्रमणको पुष्टिसमेत भइसकेको छ । एमालेको देश र जनताप्रतिको कर्तव्य यति नै हो ?
अब सरकारले कोरोना फैलाएर जनता मार्ने काम गर्नुभएन । कार्यकर्ता र राजनीतिक दल हो भन्दैमा कोरोनाले बाँकी राख्दैन । यसतर्फ राजनीतिक दलले मात्र होइन उनीहरुको कार्यकर्ताले पनि ध्यान दिनुपर्छ । हिजो चितवनमा जम्मा भएका पहिला जनता हुन् । उनीहरुलाई पनि कोरोना लाग्छ । मर्ने त मरिसके तर अरु बचाउनको लागि सरकारसँगैं जनता जिम्मेवार हुनुपर्छ ।
हालः भक्तपुर (अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन्)