Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब आन्तरिक पर्यटनमा जोड

हाम्रो कोशी आवाज
मंसिर २२ २०७८, बुधबार
अब आन्तरिक पर्यटनमा जोड

कोभिड-१९ को महामारीका कारण आज बाह्य पर्यटन धराशायी बनेकाले आन्तरिक पर्यटनलाई बढावा दिनु आवश्यक छ । कोरोनाको अन्त्य हुने निश्चित नभएकाले अब यहाँका युवायुवतीहरूले विदेश होइन, स्वदेश घुम्न लालायित हुनु जरुरी छ । यस्तो भएमा आन्तरिक पर्यटन चलायमान भई नेपाली अर्थतन्त्रमा परिणाममुखी परिवर्तन आउनेछ ।
वस्तुतः नेपाल एक खुला विश्वविद्यालय नै हो, जहाँ पहाड, झर्ना, तालतलैया, गुफा, सामाजिक रहनसहन र विविध जनजातिका आ-आफ्नै परम्पराहरू छन् । यिनीहरूको अध्ययन र अनुसन्धान गर्नु जरुरी छ । यस्तो अध्ययनलाई कल्चरल डिप्लोम्यासी भनिन्छ, जसको प्रवद्र्धन गर्न आवश्यक छ । कोरोना महामारीको यो कठिन परिस्थितिमा उक्त डिप्लोम्यासीले महत्वपूर्ण भूमिका खेल्न सक्छ । वास्तवमा नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सोही डिप्लोम्यासी उपयोग गरी टुक्रिएको नेपाललाई एकीकरण गर्न सफल भएका थिए ।
यथार्थतः आज विश्वभरि जातीय पहिचानको कुरा उठिरहेका बेला पर्यटनको माध्यमबाट पनि आ-आफ्ना सांस्कृतिक पहिचान गराउन सकिन्छ । सदैव हात बाँधेर बस्यौं भने मुख र पेट पनि बन्द गर्ने अवस्था आउन सक्छ । त्यसैले अब कोभिड-१९ सँगै सम्पूर्ण पुरुष तथा महिला पनि गतिशील हुनुको विकल्प छैन । केही वर्षयता आन्तरिक पर्यटनको महत्व दिन–प्रतिदिन बढिरहेको छ । वास्तवमा नेपालमा विविध धार्मिक, सामाजिक र सांस्कृतिक परम्परा हुनाले यही विविधता हेर्नका लागि पर्यटकहरू आकृष्ट हुन्छन् ।
आज पश्चिमा देशहरूमा इको–टुरिजम र कल्चरल डिल्लोम्यासीसम्बन्धी धेरै काम भएका छन् । पर्यटकहरूले अनलाइन र इन्टरनेटको माध्यमबाट आफू पुगेका देश र स्थानको बारेमा प्रचारप्रसार गरिरहेका छन् । यसबाट धेरै व्यक्ति लाभान्वित भएका छन् । वास्तवमा एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले सरमाथा चढेपछि मात्र नेपालका हिमालहरूको धेरै प्रचार–प्रसार भयो । फलतः यो देशलाई विश्वले चिन्न थाले । विगतमा जति विदेशीहरू नेपाल घुम्न आए, उनीहरूले नेपालका बारेमा धेरैलाई जानकारी गराए ।
वर्तमान समयमा विश्वका धेरै मानिसहरू सहरभन्दा गाउँ बढी घुम्न चाहन्छन् । कोभिड-१९ को कारणले आज धेरैजसो मानिसलाई सहर वाक्क लाग्न थालेको छ । त्यसैले वर्तमान समयमा ग्रामीण क्षेत्रको महत्व दिनप्रतिदिन बढिरहेको छ । मानव स्वभावले नै प्रकृतिको नजिक रहेर जिउन चाहन्छ । त्यसैले ऊ सहर होइन; हिमाल, पहाड, नदीनाला, तालतलैया, सिमसार र ग्रामीण जीवनमा बाँचेका मानिसहरूका रहस्यमय जिन्दगीका बारेमा अनुघुलित हुन सिकाउँछ ।
धेरैजसो नेपालीहरू आफूलाई प्राकृतिक रूपमा सम्पन्न ठान्छन् । परन्तु यहाँ उभिरहेको सगरमाथा र सुतिरहेको तराई हेर्नमात्र पहिलाका जस्ता धेरै पर्यटक आउँदैनन् । अब लुम्बिनी र सगरमाथाको विज्ञापनले मात्र विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सक्दैन, किनभने आजकाल उनीहरू केही नयाँ स्थान वा दृश्य देख्न चाहन्छन् । उनीहरूको बसाइ लम्ब्याउन सके मात्र पर्यटन उद्योगबाट फाइदा लिन सकिन्छ, जसका लागि सहरकेन्द्रित देवी–देवताका मन्दिरहरू मात्र पर्याप्त छैनन् ।
आगामी दिनहरूमा विदेशी पर्यटकहरूलाई सहरमा होइन, गाउँघरमा आकर्षित गर्न सक्नुपर्छ । अब सहरको विज्ञापन होइन; गाउँको विज्ञापनमा विशेष जोड दिनुपर्छ । जसले गर्दा गाउँ नै नेपाल हो भन्ने कुरा बुझ्न सकियोस् ।
वर्तमान सरकारले पर्यटकहरूलाई गाउँ जान प्रेरित गर्नुपर्छ, किनभने यहाँ बेरोजगारीका समस्या दिनप्रतिदिन बढ्दो क्रममा छ । यहाँका युवायुवतीहरूलाई खाडी मुलुकहरू जान रोक्नका लागि ग्रामीण पर्यटन र होमस्टे सञ्चालनमा सरकारले ध्यान दिनु जरुरी छ । यसो गर्न सकेमा विदेशी पर्यटकहरूले केही नयाँ अनुभूति गर्नेछन् ।
आगामी दिनहरूमा पर्यटकहरूलाई पशुपतिनाथ, स्वयम्भू र ठमेलको गल्लीमा मात्रै सीमित राख्न सकिने छैन । किनकि यो कुरा अब पुरानो भएको छ । नेपालमा घुम्न आउने धेरै पर्यटकहरू आर्थिक रूपले त्यति सम्पन्न हँुदैनन् । उनीहरू थोरै खर्च गरेर बढी अवलोकन गर्न चाहन्छन् । वास्तवमा उनीहरूको यहाँको बसाइ बढाएर बढी फाइदा लिने हो भने ग्रामीण पर्यटन र होमस्टेलाई बढी जोड दिनुपर्छ ।
वस्तुतः पर्यटकहरूका लागि काठमाडौं एक ट्रान्जिट प्वाइन्ट मात्र हो । वर्तमान अवस्थामा पर्यटनबाट फाइदा लिन ग्रामीण पर्यटन र होमस्टे सञ्चालका आधारशिला खडा गर्न जरुरी छ । सरकारले निजी स्तरबाट सञ्चालनमा आएको होमस्टे, रिसोर्ट र ग्रामीण क्षेत्रमा खोलिएका होटलहरूलाई सहुलियत ऋण प्रदान गर्नुका साथै करमा समेत छुट दिएर उनीहरूको व्यापारिक मनोबल बढाउनु जरुरी छ ।
वर्तमान परिस्थितिमा निजी तथा साझेदारीमा खोलिएका ग्रामीण होमस्टेको विकास गर्नुपर्छ । यसो गर्न सकेमा आन्तरिक पर्यटकहरूबाट पनि धेरै आम्दानी हुन सक्छ ।
नेपालीहरूले अब विदेश होइन, स्वदेश घुमेर आफ्नो राष्ट्रको आन्तरिक पर्यटनलाई मौलाउन सघाउ पु¥याउनुपर्छ । उक्त पर्यटनलाई बढावा दिन सके देशका विभिन्न ठाउँमा निजी तथा साझेदारीमा खोलिएका होमस्टेका सञ्चालकहरू बेरोजगार हुने छैनन् । योबाहेक गाउँलेहरूसँग रमाइलो गर्ने र उनीहरूको खेतबारीमा उब्जेको आर्गानिक खाना खाने गर्नाले स्थानीय संस्कृतिको आदानप्रदान भई यहाँको आर्थिक विकासमा पनि केही टेवा पुग्नेछ ।

प्रकाशित मिति: मंसिर २२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend