धरानः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनले डरत्रासबाट मुक्त समाज निर्माणको निर्णय गर्ने बताएका छन् ।
१४ औं महाधिवेशनको उद्घाटन समारोहमा देउवाले महाधिवेशनबाट आफू निर्वाचित भए डरत्रासमुक्त शासन ल्याएरै छाड्ने दाबी गरे।
‘हिजो तपाईँहरूलाई थाहै छ, देशभर कस्तो अवस्था थियो, सारा साथीहरू डराउनुपर्ने अवस्था थियो। डरत्रासको अवस्था थियो। जुन दिन मेरो सरकार बन्यो म प्रधानमन्त्री भएको भोलिपल्ट नै सबै मान्छेले मुक्ति पाएको अवस्था भयो,’ देउवाले भने, ‘त्यस्तो अवस्थाबाट जो मुक्ति पाएका छौं, त्यसलाई बचाउने हो कि होइन ? त्यसका लागि यो महाधिवेशनले तयार गर्छ। यो महाधिवेशनले डरत्रासबाट मुक्त समाज निर्माण गर्ने कि नगर्ने भन्ने निर्धारण गर्नुपर्छ,’ देउवाले भने।
प्रधानमन्त्री देउवाले महाधिवेशनले त्यस्तो निर्णय गरेको अवस्थामा गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार निर्माणको जिम्मा आफूले लिने बताए।
‘महाधिवेशनले त्यो निर्णय गर्न सक्नुपर्छ। त्यो निर्णय गरेको खण्डमा गाउँदेखि केन्द्रसम्मै कांग्रेसको सरकार हुन्छ, त्यो मेरो जिम्मा भयो,’ देउवाले भने।
सभापति देउवाले मञ्चबाटै भोट समेत मागे। उनले मञ्चबाटै भने,‘मलाई एकपटक जिताइदिनुस्।’ कांग्रेसको महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै बन्दसत्र सुरु भएको छ।
नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आफूले धेरै योगदान गरेको दावी गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै पौडेलले भ्रष्टाचारमुक्त समाज बनाउन कांग्रेस सच्चिन आवश्यक भएको बताए । पार्टीभित्र आफूले धेरै त्याग र तपस्य गरे पनि उचित मूल्याङ्कन नभएकोमा उनले गुनासो पोखे । अब कार्यकर्ताले उचित मूल्याङ्कन गर्ने बेला भएको उनले बताए । ‘कार्यकर्ताले पनि अब नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ । रोकिएको गतिलाई अगाडि बढाउन जरुरी छ’, उनले भने ।