Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब कस्तो कांग्रेस, कस्को कांग्रेस ?

हाम्रो कोशी आवाज
मंसिर २७ २०७८, सोमबार
अब कस्तो कांग्रेस, कस्को कांग्रेस ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा विशेषतः शेरबहादुर देउवा र डा. शेखर कोइरालाले मात्रै पूर्ण टिमसहित मैदानमा उत्रिएका छन् । देउवालाई शेखर मैदानमा उत्रिएपछि भने निकै ठूलो संकट परेको छ । सुरुमा सिटौलाको साथले पुग्ने आँकलन गरेका देउवाले शेखरको टिम हेर्दा भने देउवा निराश बनेका छन् ।
देउवा टिमभित्र व्यापक असन्तुष्टि पनि देउवालाई कमजोर बनाउने अर्को कारण हो । तर, देउवा समूहमा रहेर देउवाको चाकरी गर्नेहरुले भने प्रकाशमान पनि उम्मेदवार भएकोले शेखर कमजोर हुने ब्रिफिङ गरिरहेका छन् । तर, त्यो ब्रिफिङ निकै फितलो र निर्वाचनको समीकराणीय धरातलमा आधारित छैन । संस्थापनइतर समूहका साझा उम्मेदवार अहिले शेखर कोइराला हुन् ।
महाधिवेशन प्रतिनिधिको रुझान हेर्दा डा. शेखर कोइरालाको टिममा पार्टीमा रुपान्तरण र पुस्तान्तरण चाहाना राख्ने पुस्ता एक ठाउँमा उभएिको छ ।
अहिले नेपाली राजनीतिमा नेपाली कांग्रेसको महाधिवेशनको सन्दर्भलाई लिएर मुलुक तातेको छ । अधिकांश शुभचिन्तकमा नेतृत्व परिवर्तन गरी आउँदो चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्छ भन्ने मत देखिन्छ । कांग्रेस लोकतान्त्रिक ठूलो शक्ति भएकाले अबको नेपाली कांग्रेस कस्तो होला ? कुन धारबाट अगाडि बढ्ला ? अनि नेतृत्व कस्तो आउला भन्ने आमचासोको विषय बनेको छ । त्यसैले पनि यो महाधिवेशन नेता–कार्यकर्ताभित्र मात्र नभई नेपालमा रहेका सबै दलका नेताहरूको नजरमा पनि छ ।
नेपाली कांग्रेस नेपालको यस्तो महत्वपूर्ण दल हो जसले उठाएका विचार, सिद्धान्त अनि राजनीतिक सोचले राष्ट्रिय राजनीतिमा गहिरो प्रभाव राख्छ । अबको महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व कसले गर्ने भन्ने विषयलाई लिएर आन्तरिक विभाजन र अस्वस्थ प्रतिस्पर्धाको होडबाजी छ । राष्ट्र र जनताको सम्पन्नतामा तथा समृद्धिमा रमाउने नेताको खाँचो अहिले महसुस भएको अवस्थामा अनुभवी, पार्टीलाई चिनेको, बुझेको व्यक्ति अहिलेको कार्यकर्ताले चाहेका छन् ।
नेपाली कांग्रेस बलियो भएर उभिन जनता र कार्यकर्ताले सबैभन्दा बढी रुचाइएका सक्षम, कुशल नेतृत्वको भूमिका बहन गर्न सक्ने सक्षम व्यक्तित्व अग्रपंक्तिमा आई लोकतान्त्रिक पुरानो दलको सान्दर्भिकता बढाउन सक्ने र कांग्रेसको भविष्य सुरक्षित गर्न सक्ने नेतृत्वको खाँचो देखिन्छ ।
कम्युनिष्ट नेतृत्वको सरकारका कारण मुलुकमा यति धेरै बेथिति, भ्रष्टाचार, कुशासन छ कि जनता आजित भइसकेका छन् । बेरोजगारी समस्या चुलिँदै गएको छ । जनतामा निराशा मात्रै छाएको छ । अबको नेतृत्वले यस्ता कुरामा पनि ध्यान दिन सक्नुपर्छ । अब राजनीति बुझेर मात्रै हुँदैन । देशको आर्थिक, सामाजिक, राजनीतिक नीति कस्तो हुनुपर्छ भन्ने पनि कांग्रेसले स्पष्ट दृष्टिकोण राख्नुपर्छ । यो भनेको नेतृत्वले अघि सार्ने हो ।
नेपालकै ठूलो पार्टी कांग्रेसको महाधिवेशन भनेपछि चर्चा–परिचर्चा हुनु स्वाभाविक नै हो । नेपाली कांग्रेस आफंैमा प्रजातन्त्रको हिमायती भएकाले पनि नेतृत्वका आकांक्षी धेरै हुनु स्वाभाविकै हो । योगदान, योग्यता, क्षमतालाई आधार मानेर नेतृत्व चयन गर्नु कार्यकर्ताको जिम्मेवारी पनि हो । नयाँ पुस्ताहरूमा नेतृत्वको आकांक्षा हुँदाहुँदै पनि पुरानो पुस्ताले ठाउँ खाली नगर्दा धेरै नयाँ पुस्ता पछाडि परेका छन् । अब भने नेपाली कांग्रेसभित्र यो कुरा सुधार हुन आवश्यक छ । कांग्रेसमा अब पार्टीलाई सही दिशामा डोहोरयाउने नेतृत्व आवश्यक छ । पुराना नेताहरू फेरि पनि नेतृत्वमा आउने हो भने कम्तीमा पनि हामीले विश्वास गर्न सक्ने गरी नयाँ भिजनका साथ आउनुपरयो । नत्रभने योग्यता, क्षमता र नयाँ भिजन भएका नयाँ पुस्तालाई पनि ठाउँ दिनुपरयो ।
नागरिक स्तरबाट पनि अब कांग्रेसको कस्तो नेतृत्व आउँछ भनेर हेरिरहेका छन् । अब नयाँ पुस्तालाई स्थान नदिने हो भने कांग्रेसको सांगठनिक अवस्था कस्तो होला अनुमान गर्न सकिन्न । अहिलेको महाधिवेशनले नेपाली कांग्रेसको भविष्य निर्धारण गर्छ । कांग्रेसमा युवादेखि अत्यन्तै अनुभवी नेताहरू छन् । भावी नेतृत्व पनि तयार गर्दै नयाँ अत्यन्तै जोस भएका क्षमतावान् युवाहरूलाई समेट्नु आजको आवश्यकता हो ।
जब युवालाई पाखा लगाइन्छ, यसरी न कांग्रेस सुध्रिन्छ, न मुलुक नै । नेतृत्वमा हुनुपर्ने उदात्तता, अग्रसरता र अग्रगामी सोचको अभावपूर्तिका कांग्रेसमा व्यापक पुनर्जागरण एवं पुनर्ताजगीको खाँचो छ । कांग्रेसको संगठन र विचारमा समेत नयाँ तवरमा रक्तसञ्चार गर्न आवश्यक छ । अहिलेको दिशाहीनता चिर्न र नेतृत्व संकटको सामना गर्न नयाँ पुस्ता नेतृत्वमा आउन आवश्यक छ ।
युवापंक्तिको साथ, सपोर्ट र भरोसा नेपाली कांग्रेसले पाउनसक्यो भने यसको भविष्य पनि सुनौलो भइदिन्छ । विडम्बना के छ भने कांग्रेसका शीर्ष नेतृत्वले आफू मृत्युश®यामा नपुग्दासम्म पद हस्तान्तरण गर्न नचाहने प्रवृत्ति । कांग्रेसमा पुस्ता हस्तान्तरण गरी पार्टीमा सुदृढीकरण गर्न जरुरी छ । पार्टीलाई युगयुगान्तर बचाइराख्नका लागि पुरानै ढर्रामा अघि बढेर सफलताको मार्गचित्र कोर्न सकिँदैन । पार्टीलाई जीवन्त बनाउन पनि युवापिढीले आफ्नो हस्तक्षेपकारी भूमिका आसन्न महाधिवेशनमा देखाउन सक्नुपर्छ । युवा पिढीबाटै सामाजिक रुपान्तरण र परिवर्तनकारी भूमिकाको आशा र भरोसा जनताले गरेका हुन्छन् ।

प्रकाशित मिति: मंसिर २७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend