टिकटक भन्ने बित्तिकै युवापुस्ता मात्र नभई बुढापाकादेखि लिएर बालबच्चासम्मको ध्यान केन्द्रित भइहाल्छ । साना बालबालिका मात्र होइन उमेर ढल्केका मानिसहरूलाई पनि टिकटकमा झुलिरहेको देख्न सकिन्छ । सामान्य मानिसहरूदेखि लिएर चलचित्र क्षेत्रका अग्रज कलाकारहरूलाई पनि टिकटकमा देख्न सकिन्छ ।
हाल विश्वमा भिडिओ शेयरिङ एप टिकटकका मासिक सक्रिय प्रयोगकर्ता एक अर्ब भन्दा बढी पुगिसकेका छन् । २०२१ मा टिकटक विश्वव्यापीरूपमा सबैभन्दा धेरै डाउनलोड भएको एप हो । योसँगै टिकटकपछि इन्स्टाग्राम, फेसबुक, व्हाट्सएप र फेसबुक मेसेन्जर सबैभन्दा धेरै डाउनलोड भएका छन् । टिकटक हाल विश्वमा धेरै कमाउने एपरूपमा पनि चिनिएको छ । बाइट डान्स भन्ने चिनियाँ कम्पनीले टिकटक सन् २०१६ मा अर्थात् केवल ५ वर्ष अगाडि रिलिज गरेको एप हो । रिलिजको छोटो समयमा पनि मेसेन्जर र व्हाटस्याप जस्ता एपलाई भेटाउन सफल भएको टिकटक अहिलेको सबैभन्दा द्रुत गतिमा फस्टाउने सामाजिक सञ्जाल बनेको छ ।
कम्पनीका सिइओ झाङ यिमिङले टिकटक छोटो समयको भिडियो बनाउनका लागि मात्र प्रतिपादन गरेका थिए । यो एप्लिकेशनको प्रयोगकर्ता चीनमा मात्र एक सय मिलियनभन्दा बढी पाए र दिनहुँ एक मिलियनभन्दा बढी भिडियोहरू अपलोड हुन थालेपछि उनले सन् २०१७ मा यसलाई थाइल्यान्ड, जापानलगायतका एसियन देशका साथै अन्य बाँकी देशहरूमा विस्तारको योजना बनाए । पछि उही नेचरको म्युजिकल्ली भन्ने एप्लिकेशनलाई किनेर आफ्नैमा गाभे र सन् २०१८ बाट दुइटैलाई मर्ज गरेर औपचारिक रूपमा टिकटकको सुरुवात गरे ।
हाल टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड भन्दा निकै माथि पुगेको छ । चिनियाँ सामाजिक सञ्जाल टिकटकले उच्च स्थानमा भएको फेसबुकको वर्चस्वलाई पनि तोड्न सफल भएको छ । पछिल्लो समय टिकटक प्रयोगमा अतयधिक वृद्धि हुँदा मानिसहरूको गोपनीयता पनि भङ्ग हुन थालेको छ । लकडाउन सुरु भएदेखि तीव्र रूपमा बढेको टिकटकको प्रयोग पछिल्लो समयमा झनै अस्वाभाविक मात्रामा वृद्धि भएको छ ।
पछिल्लो समय अपशब्द बोल्ने, अभद्र व्यवहार गर्ने, रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र हत्या गर्ने, गोप्य कुराको खुलासा गरिदिने कामहरू पनि टिकटकबाट नै भइरहेका छन् । टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्ने जस्ता गलत क्रियाकलाप पनि भइरहेको छ ।
आफ्नो परिवारको व्यक्तिगत कुराहरूलाई बाहिर ल्याउने, जथाभाबी अङ्ग प्रदर्शन गर्ने, उठेको, बसेको, खाएको, हिँडेको, नाचेको, घुमेको सबै भिडियो बनाई सार्वजनिक भइरहेको हुन्छ । टिकटकबाट नै आफ्नो गरगहना प्रदर्शन गर्ने क्रियाकलाप पनि बढ्दै गएको छ । जसका कारणले चोरी–डकैती नहोला भन्न सकिन्न । विभिन्न सङ्घ सङ्गठनका कर्मचारीले कार्य कक्षमा काम गर्दा गर्दै टिकटक अपलोड गरेको पाइएको छ । त्यति मात्र नभएर श्रीमान श्रीमतीकोबीचको सम्बन्धलाई पनि टिकटकमा देखाउने होडबाजी सुरु भइसकेको छ ।
कलाकारहरूले पनि लापरबाही तरिकाले टिकटकमा प्रदर्शन गरिरहँदा कलाकारको महत्व र अस्तित्व अस्ताउँदै गएको भान हुन थालेको छ । आफूलाई चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड, गाली गलौच गरिदिने प्रवृत्ति पनि बढेको छ । टिकटककै माध्यमबाट ठगीसमेत हुन थालेको छ । टिकटकबाट नै गोपनीयता भङ्ग भएका कारण मानसिक तनाव , हिंसा भइरहेको भन्दै प्रहरीकोमा उजुरी दिनेको संख्या पनि बढेको छ ।
व्यक्तिका आइडी ब्लक गरिदिने जस्तो कार्य गर्दै आएको छ । पछिल्लो समय टिकटक बनाउँदै गर्दा विभिन्न घटनाहरू पनि हुन थालेका छन् । खोलामा खस्ने, सडक दुर्घटना हुने, आफ्ना अश्लील सामग्री प्रसार भएर आत्महत्या गर्ने, घरका माथिल्लो तलाबाट खस्ने गरेका जस्ता समाचार पनि आइरहेका हुन्छन् । अहिले टिकटकमा आफूलाई अरूसँग दाँज्ने प्रचलन पनि सुरु भइसकेको छ ।
पछिल्लो समयमा टिकटक एकाउन्टबाट यसको प्रयोगकर्ताको लोकेसन तथा अन्य गोप्य कुराहरू सजिलै पत्ता लगाउन सकिन्छ । त्यसैले सुरक्षाको दृष्टिले हेर्ने हो भने पनि टिकटक निकै खतरनाक बताउन बन्दै गइरहेको छ, जसको परिणाम नराम्रो नहोला भन्न सकिन अवस्था छैन । टिकटकमा सूचना सम्प्रेषण, मनोरञ्जन र आफूमा भएको प्रतिभा प्रस्फुटन देखिए गर्ने माध्यम देखिएपनि नेपालमा यसको असल सदुपयोग भएको भने पाइँदैन ।