धरानः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेता पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
वर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य हुन् । खड्का दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित शेरबहादुर देउवा ‘प्यानल’बाट उम्मेदवार बनेका थिए भने गुरुङ सभापति पदका प्रमुख प्रतिस्पर्धी नेता डा. शेखर कोइराला ‘प्यानल’को उम्मेदवार हुन् ।
उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार दुई मतले पराजित भए । सभापति देउवा ‘प्यानल’ कै उनले एक हजार ९०६ मत प्राप्त गरे ।
समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा. चन्द्र भण्डारीले एक हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।
कांग्रेसले विधानतहः उपसभापतिको निर्वाचन पहिलोपटक गरेको हो । यसअघि उपसभापति मनोनीत हुने प्रावधान थियो । सोमबारको निर्वाचनको मतगणना बुधबार साँझदेखि सुरु भई बिहीबार बिहान १ बजे सम्पन्न भएको हो । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको हो ।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा पुनः सभापतिमा निर्वाचित भएका छन् ।
