धरानः आज (शुक्रबार) सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने प्रदेश नम्बर १ र २ का एक दुई स्थानमा हल्का वर्षा–हिमपात भएको छ ।
बुलेटिनअनुसार आज दिउँसो (बिहान १०–११ बजेदेखि साँझ ६ बजेसम्म) सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।
यस्तै राति (साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म) प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । यसैका कारण देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना देखिएको हो ।