Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरद्वारा चार गुरुयोजना सार्वजनिक

हाम्रो कोशी आवाज
पुष २६ २०७८, सोमबार
धरान उपमहानगरद्वारा चार गुरुयोजना सार्वजनिक

धरानः धरानको पुरातत्व, इतिहास, पर्यटन र धार्मिक सम्पदा रहेको विजपुरस्थित दरबार क्षेत्र र मन्दिरहरुको सम्वद्र्धनका लागि उपमहानगरपालिकाले गुरुयोजना तयार गरेको छ ।
धरानलाई खेलकुदको शहर बनाउने, मासु व्यवसायलाई वैज्ञानिकरुपमा व्यवस्थित गर्ने गुरुयोजना पनि तयार भएको छ । ती गुरुयोजनाहरु महत्वकांक्षी छन् । दीर्घकालिन र अल्पकालीन ती योजनाहरु कार्यान्वयन हुनसके धरानको भौतिक विकासमा नयाँ कोषे ढुंगा स्थापित हुनेछ ।
उपमहानगरपालिकाले आइतबार गुरुयोजनाहरुको प्रारम्भिक मस्यौदाहरु सरोकारवालाहरुसँग छलफलका लागि सार्वजनिक गरेको हो । स्पोर्ट सिटी र कभर्डहलको गुरुयोजना जेभी अफ ग्राइड कन्सल्ट प्रालि र इन्नोभेसन डिजाइन कन्सर्न प्रालिले तयारी गरेको हो ।
भक्तराज कन्दङवा क्रिकेट स्टेडियम र पशु बधशालाको गुरु योजना जेभी अफ आरआइडी प्रालि र श्रेष्ठ कन्सल्टेन्ट प्रालि, अर्वन प्लानिङ एण्ड डिजाइन कन्सल्टेन्ट नेपाल प्रालिले तयार गरेको हो । विजयपुर दरबार तथा दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरको गुरुयोजना आइइआरसी इकोकेड स्ट्रेन्थ जेभीले तयार गरेको हो ।
मेयर तिलक राईले भने, ‘धरानको ऐतिहासिक, धार्मिक सम्पदाको सम्वद्र्धन गर्दै व्यवस्थित शहरको रुपमा उचाई थप्न गुरु योजनाहरु तयारी गरिएका हुन्, यसमा सरोकारवाला समुदायसँग छलफल गरिने छ ।’ निकै महत्वकांक्षी योजना पनि यसमा भएको बताउँदै यसको कार्यान्वयन तीनै तहका सरकारको साधन–स्रोत जुटाएर गर्न सकिने उनले बताए ।
योजनाहरुमध्ये कतिपय उपमहानगरपालिकाको बहुवर्षीय योजनाको रुपमा प्रारम्भिक चरणका कामहरु भइरहेका छन् । धरान–१५ स्थित भक्तराज कन्दङवा क्रिकेट स्टेडियम निर्माणस्थल सम्याउने कार्य अन्तिम चरणमा पुगेको छ । यस्को गुरुयोजना तयार भएको छ । अन्तर्राष्ट्रिय मापदण्डमा बन्ने क्रिकेट स्टेडियममा जग्गाको कारण दर्शक क्षमता २५ सय मात्र रहने भएकाले योजनालाई परिमार्जन गरी सुविधानहरु थप्ने सुझाव दिइएको छ ।
क्रिकेट स्टेडियमका साथै धरानलाई खेलकुदको शहर बनाउने सम्भावनाको मार्गचित्र पनि तयार गरिएको छ । भएका पूर्वाधारमा सुधार थप पूर्वाधारको निर्माण पहिचान गरिएको छ । अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा क्षेत्रीयस्तरका खेलकुद प्रतियोगिता एकै साथ धरानमै आयोजना गर्न आवश्यक पूर्वाधारहरुको बारेमा मार्गचित्र बनाइएको हो । पूर्वाधारको प्रारम्भिक निर्माण कार्यका लागि धरान-१७ स्थित एन्फा टेक्निकल सेन्टरसँग जोडिएका जग्गामा खेलकुदग्रामको गुरु योजना तयार गरिएको छ । दर्शकदीर्घासहित सुविधायुक्त इण्डोर खेलको अत्याधुनिक कभर्ड हलको लागत करिब १३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
धरानको पर्यटन गन्तव्य विजयपुरस्थित दरवारस्थल र प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिरको मौलिक ऐतिहासिकरुपलाई सम्वद्र्धन गर्दै धार्मिक पर्यटनको केन्द्र बनाउने गुरुयोजना तयार गरिएको छ । पछिल्लो कालखण्डमा भएको भूकम्पले सो स्थलहरुको कमजोर बनाएको संरचनाको मर्मत सम्भारका गुरुयोजनामा किटान गरिएको छ । विकास मर्मत सम्भारको नाममा मन्दिरुहरुको मौलिक स्वरुपमा आएको परिवर्तनलाई थप विग्रन नदिने गरी सम्बर्धन गर्ने तथा तिर्थालुका लागि पर्याप्त परिवेश विकास गर्ने योजनामा उल्लेख छ ।
विजयपुरको किरातकालीन इतिहासमा उल्लेख भएअनुसार त्यस बेलाका राजाको दरवार, सैनिक गढीको अस्तित्व खोजी गर्दै विद्यमान अवस्थामा त्यसलाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना पनि तयार गरिएको छ ।
ऐतिहासिक तथ्य अनुसार पञ्चकन्या जंगलको शिखरमा भग्नावशेष संरचना समेत रहेको स्थल त्यस बेलाको सैनिक गढी भएको योजनामा उल्लेख छ । सो गढीमा सैनिक सुरक्षाका लागि त्यस बेला राखिएको तोपहरु र शत्रुको निगरानी गर्न सैनिक बस्ने मचान निर्माण गर्ने योजना डिजाइन गरिएको छ ।
गुरु योजनामा छलफल हुँदा सहभागीहरुले पुरातात्विक महत्व समेत रहेको विजयपुरको इतिहासलाई सम्वद्र्धन गर्न समग्र विजयपुरलाई समेटेर छुट्टै गुरुयोजना बन्नुपर्ने विषयलाई पनि उठाएका छन् । विजयपुरस्थित धार्मिक र ऐतिहासिक स्थलहरुका लागि सरोकारवालाहरुको छुट्टाछुट्टै समिति बनाएर नीति निर्माण गर्न बारेमा पनि छलफल भयो । उपमहानगरपालिकाले विजयपुर विकास समिति गठन गर्ने सुझाव पनि सहभागीहरुले दिए । विजयपुरका पुरातत्विक महात्वका स्थल, वस्तुर र मुर्तिहरु नष्ट हुनेक्रम जारी रहेकोमा पनि ध्यानाकर्षण गराइएको छ ।
गुरुयोजनाहरुकै क्रममा धरानको उपभोक्ता बजारलाई बदलिँदो समय, ऐन, कानुन अनुसार आधुनिक सेवा सुविधा उन्मुख गराउन प्रारम्भिक रुपमा मासु व्यवसायलाई वैज्ञानिक बनाउने योजना प्रस्तुत गरियो । धरान-६ स्थित प्रस्तावित औद्योगिक क्षेत्रसँगै स्वास्थ्यकर मासुका लागि पशु बधस्थल तथा मासु बजार निर्माण गरिने भएको हो । शहरीकरणसँगै परम्परागत मासु बजारलाई आधुनिक बनाउने योजनामा पशुबध गर्नुअघि स्वास्थ्य परीक्षण, वैज्ञानिक तरिकाले पशुबध गर्ने र थोक तथा खुद्रा मासु आपूर्ति गर्ने भौतिक सुविधाका संरचनाहरु डिजाइन गरिएको छ ।
गुरुयोजना प्रस्तुति र छलफलमा सरोकारवालाहरु जातिय तथा धार्मिक संस्थाहरुका प्रतिनिधि, राजनैनिक दलका स्थानिय नेतृत्वहरु, उद्योग वाणिज्य संघ, मासु व्यवसायी संघ, विज्ञहरु, उपमहानगरपालिकाका सल्लाहकारहरु सहभागी थिए । छलफलले आएका सुझाव, स्थलगत अध्ययन, सरोकारवालासँग थप छलफल गरी गुरुयोजनामा परिमार्जन गरिनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति: पुष २६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend