धरानः धरानको पुरातत्व, इतिहास, पर्यटन र धार्मिक सम्पदा रहेको विजपुरस्थित दरबार क्षेत्र र मन्दिरहरुको सम्वद्र्धनका लागि उपमहानगरपालिकाले गुरुयोजना तयार गरेको छ ।
धरानलाई खेलकुदको शहर बनाउने, मासु व्यवसायलाई वैज्ञानिकरुपमा व्यवस्थित गर्ने गुरुयोजना पनि तयार भएको छ । ती गुरुयोजनाहरु महत्वकांक्षी छन् । दीर्घकालिन र अल्पकालीन ती योजनाहरु कार्यान्वयन हुनसके धरानको भौतिक विकासमा नयाँ कोषे ढुंगा स्थापित हुनेछ ।
उपमहानगरपालिकाले आइतबार गुरुयोजनाहरुको प्रारम्भिक मस्यौदाहरु सरोकारवालाहरुसँग छलफलका लागि सार्वजनिक गरेको हो । स्पोर्ट सिटी र कभर्डहलको गुरुयोजना जेभी अफ ग्राइड कन्सल्ट प्रालि र इन्नोभेसन डिजाइन कन्सर्न प्रालिले तयारी गरेको हो ।
भक्तराज कन्दङवा क्रिकेट स्टेडियम र पशु बधशालाको गुरु योजना जेभी अफ आरआइडी प्रालि र श्रेष्ठ कन्सल्टेन्ट प्रालि, अर्वन प्लानिङ एण्ड डिजाइन कन्सल्टेन्ट नेपाल प्रालिले तयार गरेको हो । विजयपुर दरबार तथा दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरको गुरुयोजना आइइआरसी इकोकेड स्ट्रेन्थ जेभीले तयार गरेको हो ।
मेयर तिलक राईले भने, ‘धरानको ऐतिहासिक, धार्मिक सम्पदाको सम्वद्र्धन गर्दै व्यवस्थित शहरको रुपमा उचाई थप्न गुरु योजनाहरु तयारी गरिएका हुन्, यसमा सरोकारवाला समुदायसँग छलफल गरिने छ ।’ निकै महत्वकांक्षी योजना पनि यसमा भएको बताउँदै यसको कार्यान्वयन तीनै तहका सरकारको साधन–स्रोत जुटाएर गर्न सकिने उनले बताए ।
योजनाहरुमध्ये कतिपय उपमहानगरपालिकाको बहुवर्षीय योजनाको रुपमा प्रारम्भिक चरणका कामहरु भइरहेका छन् । धरान–१५ स्थित भक्तराज कन्दङवा क्रिकेट स्टेडियम निर्माणस्थल सम्याउने कार्य अन्तिम चरणमा पुगेको छ । यस्को गुरुयोजना तयार भएको छ । अन्तर्राष्ट्रिय मापदण्डमा बन्ने क्रिकेट स्टेडियममा जग्गाको कारण दर्शक क्षमता २५ सय मात्र रहने भएकाले योजनालाई परिमार्जन गरी सुविधानहरु थप्ने सुझाव दिइएको छ ।
क्रिकेट स्टेडियमका साथै धरानलाई खेलकुदको शहर बनाउने सम्भावनाको मार्गचित्र पनि तयार गरिएको छ । भएका पूर्वाधारमा सुधार थप पूर्वाधारको निर्माण पहिचान गरिएको छ । अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा क्षेत्रीयस्तरका खेलकुद प्रतियोगिता एकै साथ धरानमै आयोजना गर्न आवश्यक पूर्वाधारहरुको बारेमा मार्गचित्र बनाइएको हो । पूर्वाधारको प्रारम्भिक निर्माण कार्यका लागि धरान-१७ स्थित एन्फा टेक्निकल सेन्टरसँग जोडिएका जग्गामा खेलकुदग्रामको गुरु योजना तयार गरिएको छ । दर्शकदीर्घासहित सुविधायुक्त इण्डोर खेलको अत्याधुनिक कभर्ड हलको लागत करिब १३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
धरानको पर्यटन गन्तव्य विजयपुरस्थित दरवारस्थल र प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिरको मौलिक ऐतिहासिकरुपलाई सम्वद्र्धन गर्दै धार्मिक पर्यटनको केन्द्र बनाउने गुरुयोजना तयार गरिएको छ । पछिल्लो कालखण्डमा भएको भूकम्पले सो स्थलहरुको कमजोर बनाएको संरचनाको मर्मत सम्भारका गुरुयोजनामा किटान गरिएको छ । विकास मर्मत सम्भारको नाममा मन्दिरुहरुको मौलिक स्वरुपमा आएको परिवर्तनलाई थप विग्रन नदिने गरी सम्बर्धन गर्ने तथा तिर्थालुका लागि पर्याप्त परिवेश विकास गर्ने योजनामा उल्लेख छ ।
विजयपुरको किरातकालीन इतिहासमा उल्लेख भएअनुसार त्यस बेलाका राजाको दरवार, सैनिक गढीको अस्तित्व खोजी गर्दै विद्यमान अवस्थामा त्यसलाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना पनि तयार गरिएको छ ।
ऐतिहासिक तथ्य अनुसार पञ्चकन्या जंगलको शिखरमा भग्नावशेष संरचना समेत रहेको स्थल त्यस बेलाको सैनिक गढी भएको योजनामा उल्लेख छ । सो गढीमा सैनिक सुरक्षाका लागि त्यस बेला राखिएको तोपहरु र शत्रुको निगरानी गर्न सैनिक बस्ने मचान निर्माण गर्ने योजना डिजाइन गरिएको छ ।
गुरु योजनामा छलफल हुँदा सहभागीहरुले पुरातात्विक महत्व समेत रहेको विजयपुरको इतिहासलाई सम्वद्र्धन गर्न समग्र विजयपुरलाई समेटेर छुट्टै गुरुयोजना बन्नुपर्ने विषयलाई पनि उठाएका छन् । विजयपुरस्थित धार्मिक र ऐतिहासिक स्थलहरुका लागि सरोकारवालाहरुको छुट्टाछुट्टै समिति बनाएर नीति निर्माण गर्न बारेमा पनि छलफल भयो । उपमहानगरपालिकाले विजयपुर विकास समिति गठन गर्ने सुझाव पनि सहभागीहरुले दिए । विजयपुरका पुरातत्विक महात्वका स्थल, वस्तुर र मुर्तिहरु नष्ट हुनेक्रम जारी रहेकोमा पनि ध्यानाकर्षण गराइएको छ ।
गुरुयोजनाहरुकै क्रममा धरानको उपभोक्ता बजारलाई बदलिँदो समय, ऐन, कानुन अनुसार आधुनिक सेवा सुविधा उन्मुख गराउन प्रारम्भिक रुपमा मासु व्यवसायलाई वैज्ञानिक बनाउने योजना प्रस्तुत गरियो । धरान-६ स्थित प्रस्तावित औद्योगिक क्षेत्रसँगै स्वास्थ्यकर मासुका लागि पशु बधस्थल तथा मासु बजार निर्माण गरिने भएको हो । शहरीकरणसँगै परम्परागत मासु बजारलाई आधुनिक बनाउने योजनामा पशुबध गर्नुअघि स्वास्थ्य परीक्षण, वैज्ञानिक तरिकाले पशुबध गर्ने र थोक तथा खुद्रा मासु आपूर्ति गर्ने भौतिक सुविधाका संरचनाहरु डिजाइन गरिएको छ ।
गुरुयोजना प्रस्तुति र छलफलमा सरोकारवालाहरु जातिय तथा धार्मिक संस्थाहरुका प्रतिनिधि, राजनैनिक दलका स्थानिय नेतृत्वहरु, उद्योग वाणिज्य संघ, मासु व्यवसायी संघ, विज्ञहरु, उपमहानगरपालिकाका सल्लाहकारहरु सहभागी थिए । छलफलले आएका सुझाव, स्थलगत अध्ययन, सरोकारवालासँग थप छलफल गरी गुरुयोजनामा परिमार्जन गरिनुपर्ने निष्कर्ष निकालेको छ ।