Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डरलाग्दो गरी बढ्दै आत्महत्या

हाम्रो कोशी आवाज
माघ २४ २०७८, सोमबार
डरलाग्दो गरी बढ्दै आत्महत्या

धरानः नेपालमा दैनिक १८ देखि १९ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाउँछ । यो सङ्ख्यालाई नै आधार मान्ने हो भने नेपालमा वर्षेनी आत्महत्या गर्नेको सङ्ख्या १ हजारका दरले बढ्दै गरेको छ । वर्षेनी आत्महत्या बढ्नुमा आम सर्वसाधारणले सीमित मानसिक स्वास्थ्य सहयोग पाउने अवस्था रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
नेपालमा कोरोनाभाइरसको महामारी देखा परेयता विगतको तुलनामा उल्लेख्य रूपमा आत्महत्याका घटनाहरूमा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ । आत्महत्या गर्नेहरूमा ८० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको तथ्याङ्कले देखाउँछ । तर, नेपाली समाजमा भने त्यही मानसिक स्वास्थ्यको बारेमा राम्रोसँग छलफल हुँदैन ।
नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७३–७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका छन् । जसमा २ हजार १ सय ७४ महिला छन् भने २ हजार ७ सय ५३ महिला छन् । त्यसैगरी २०७४–७५ मा ५ हजार ३ सय १७ जनाले आत्महत्या गरेका छन् । जसमा ७ सय १५ महिला छन् भने ७ सय ६ पुरुष रहेका छन् ।
आर्थिक वर्ष २०७५–७६ मा ५ हजार ७ सय ५६ जनाले आत्महत्या गरेका छन् । जसमा २ हजार २ सय ५ महिला रहेका छन् भने ३ हजार १ सय २३ महिला रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७६–७७ मा ६ हजार २ सय १४ जनाले आत्महत्या गरेका छन् । जसमा २ हजार १ सय ८४ महिला छन् भने ३ हजार ४ सय ७ पुरुष रहेका छन् । आर्थिक वर्ष २०७७–७८ मा ६ हजार १ सय १७ जनाले आत्महत्या गरेका छन् । जसमा २ हजार ४ सय ४९ महिला छन भने ३ हजार ९ सय २८ पुरुष रहेका छन ।
वरिष्ठ मनोचिकित्सक डा.बासु कार्की नेपालमा आत्महत्या बढेको स्वीकार्छन् । मानसिक स्वास्थ्यलाई हेलचेक्राइँ गर्दा आत्महत्या जस्तो दुर्घटना हुने गरेको उनको भनाइ छ । कार्की भन्छन्, ‘आत्महत्या एउटै कारणले हुँदैन ।

यसका बहुआयामिक कारणहरू हुन सक्छन् । ९० प्रतिशत आत्महत्याको कारण मानसिक स्वास्थ्य समस्या र तिनीहरूको समयमा पहिचान हुन नसक्नु हो ।’ ९० प्रतिशत भित्रमा पनि ८० प्रतिशत उदासीनता र बाँकी १० प्रतिशत लागुऔषध र मदिराजन्य पदार्थको सेवनबाट हुने गरेको उनी बताउँछन् ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्र्तगत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा.फणिन्द्र बराल आत्महत्या गर्ने सङ्ख्या डरलाग्दो रहेको बताउँछन् । उनी भन्छन्, ‘नेपालमा आत्महत्या गर्नुको ८० प्रतिशत कारण मानसिक अस्वस्थ्ता हो । त्यसमा डिप्रेसन प्रमुख तत्व हो । अन्यमा गरिबी, रोजगारी, लागूऔषको प्रयोग, मान्छेहरूको स्वभाव सामाजिक लाञ्छना आदि हुन् ।’
मानसिक स्वास्थ्यसँग सम्बन्धित सचेतना नभएसम्म आत्महत्या कम नहुने उनी बताउँछन् । उनले मानसिक स्वास्थ्य सबै नागरिकको पहुँचमा पुरयाउन राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ बनाएको र त्यसमा आत्महत्या कसरी कम गर्न सकिन्छ भन्ने कुराहरू समेटिएको बताए । तर, मुख्य भनेको समाजमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको पहिचान गर्ने, उनीहरूको समयमा उपचार गर्ने काम मात्रै गरयौं भने पनि आत्महत्या कम गर्न सकिने उनको भनाइ छ । त्यस्तै अहिले स्वास्थ्यकर्मीहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिमहरू दिइरहेका र त्यसले समाजमा मानसिक स्वास्थ्यसँग सम्बन्धित सचेतना फैलाउन मद्दत गर्ने उनले बताए ।
मनोपरामर्शदाता पशुपति महतले आत्महत्या रोक्नका लागि सबैले आ आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपरे बताए । उनले मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएकाले बढी आत्महत्या गर्ने भएकाले घर परिवारका सदस्यले यदि परिवारमा कसैलाई मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या देखिए उसलाई एक्दै नछोड्ने, एक्लै बस्न थालेको छ भने उसलाई व्यस्त राख्ने काम गर्ने, मनोपरामर्शदातासँग सल्लाह लिने र दिलाउने काम गर्नुपर्ने सुझाव दिए । उनले परिवार र साथीभाइ चनाखो भए आत्महत्या गर्ने व्यक्तिहरूलाई सुरुमा नै सहयोग दिने ठाउँहरूसम्म पुरयाउन सकिने पनि बताए ।

प्रकाशित मिति: माघ २४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend