धरानः नेपालमा दैनिक १८ देखि १९ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाउँछ । यो सङ्ख्यालाई नै आधार मान्ने हो भने नेपालमा वर्षेनी आत्महत्या गर्नेको सङ्ख्या १ हजारका दरले बढ्दै गरेको छ । वर्षेनी आत्महत्या बढ्नुमा आम सर्वसाधारणले सीमित मानसिक स्वास्थ्य सहयोग पाउने अवस्था रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
नेपालमा कोरोनाभाइरसको महामारी देखा परेयता विगतको तुलनामा उल्लेख्य रूपमा आत्महत्याका घटनाहरूमा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ । आत्महत्या गर्नेहरूमा ८० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको तथ्याङ्कले देखाउँछ । तर, नेपाली समाजमा भने त्यही मानसिक स्वास्थ्यको बारेमा राम्रोसँग छलफल हुँदैन ।
नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७३–७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका छन् । जसमा २ हजार १ सय ७४ महिला छन् भने २ हजार ७ सय ५३ महिला छन् । त्यसैगरी २०७४–७५ मा ५ हजार ३ सय १७ जनाले आत्महत्या गरेका छन् । जसमा ७ सय १५ महिला छन् भने ७ सय ६ पुरुष रहेका छन् ।
आर्थिक वर्ष २०७५–७६ मा ५ हजार ७ सय ५६ जनाले आत्महत्या गरेका छन् । जसमा २ हजार २ सय ५ महिला रहेका छन् भने ३ हजार १ सय २३ महिला रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७६–७७ मा ६ हजार २ सय १४ जनाले आत्महत्या गरेका छन् । जसमा २ हजार १ सय ८४ महिला छन् भने ३ हजार ४ सय ७ पुरुष रहेका छन् । आर्थिक वर्ष २०७७–७८ मा ६ हजार १ सय १७ जनाले आत्महत्या गरेका छन् । जसमा २ हजार ४ सय ४९ महिला छन भने ३ हजार ९ सय २८ पुरुष रहेका छन ।
वरिष्ठ मनोचिकित्सक डा.बासु कार्की नेपालमा आत्महत्या बढेको स्वीकार्छन् । मानसिक स्वास्थ्यलाई हेलचेक्राइँ गर्दा आत्महत्या जस्तो दुर्घटना हुने गरेको उनको भनाइ छ । कार्की भन्छन्, ‘आत्महत्या एउटै कारणले हुँदैन ।

यसका बहुआयामिक कारणहरू हुन सक्छन् । ९० प्रतिशत आत्महत्याको कारण मानसिक स्वास्थ्य समस्या र तिनीहरूको समयमा पहिचान हुन नसक्नु हो ।’ ९० प्रतिशत भित्रमा पनि ८० प्रतिशत उदासीनता र बाँकी १० प्रतिशत लागुऔषध र मदिराजन्य पदार्थको सेवनबाट हुने गरेको उनी बताउँछन् ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्र्तगत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा.फणिन्द्र बराल आत्महत्या गर्ने सङ्ख्या डरलाग्दो रहेको बताउँछन् । उनी भन्छन्, ‘नेपालमा आत्महत्या गर्नुको ८० प्रतिशत कारण मानसिक अस्वस्थ्ता हो । त्यसमा डिप्रेसन प्रमुख तत्व हो । अन्यमा गरिबी, रोजगारी, लागूऔषको प्रयोग, मान्छेहरूको स्वभाव सामाजिक लाञ्छना आदि हुन् ।’
मानसिक स्वास्थ्यसँग सम्बन्धित सचेतना नभएसम्म आत्महत्या कम नहुने उनी बताउँछन् । उनले मानसिक स्वास्थ्य सबै नागरिकको पहुँचमा पुरयाउन राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ बनाएको र त्यसमा आत्महत्या कसरी कम गर्न सकिन्छ भन्ने कुराहरू समेटिएको बताए । तर, मुख्य भनेको समाजमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको पहिचान गर्ने, उनीहरूको समयमा उपचार गर्ने काम मात्रै गरयौं भने पनि आत्महत्या कम गर्न सकिने उनको भनाइ छ । त्यस्तै अहिले स्वास्थ्यकर्मीहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिमहरू दिइरहेका र त्यसले समाजमा मानसिक स्वास्थ्यसँग सम्बन्धित सचेतना फैलाउन मद्दत गर्ने उनले बताए ।
मनोपरामर्शदाता पशुपति महतले आत्महत्या रोक्नका लागि सबैले आ आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपरे बताए । उनले मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएकाले बढी आत्महत्या गर्ने भएकाले घर परिवारका सदस्यले यदि परिवारमा कसैलाई मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या देखिए उसलाई एक्दै नछोड्ने, एक्लै बस्न थालेको छ भने उसलाई व्यस्त राख्ने काम गर्ने, मनोपरामर्शदातासँग सल्लाह लिने र दिलाउने काम गर्नुपर्ने सुझाव दिए । उनले परिवार र साथीभाइ चनाखो भए आत्महत्या गर्ने व्यक्तिहरूलाई सुरुमा नै सहयोग दिने ठाउँहरूसम्म पुरयाउन सकिने पनि बताए ।