Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सार्वजनिक शिक्षाप्रति बदनियत

हाम्रो कोशी आवाज
फाल्गुन १९ २०७८, बिहिबार
सार्वजनिक शिक्षाप्रति बदनियत

हाम्रो शिक्षा प्रणाली वास्तवमा कोरा सैद्धान्तिक तथा किताबी ज्ञानमा आधारित छ । घोकन्ते विद्या, धावन्ते खेती भन्ने उखानलाई मूलमन्त्रको रूपमा स्वीकार गरेको हाम्रो शिक्षा प्रणालीले हामीलाई व्यावहारिक रूपमा सिकेर हासिल गरेको ज्ञान तथा सीपभन्दा पनि शिक्षा भनेको घोकेरै प्राप्त हुने विद्या हो भन्ने सिकाएको छ ।
परीक्षा प्रणालीले विद्यार्थीको व्यावहारिक ज्ञान, कौशल तथा फरक क्षमतालाई पहिचान गर्दै निरन्तर सुधार गर्ने लचिलो तथा अनवरत मूल्यांकनको परिपाटीलाई अँगाल्न सकेको छैन ।
प्रत्येक बिषय र क्षेत्रमा नियतको प्रसंग मेल खान्छ नै । एक अर्कामा दोषारोपण गर्ने र आफू हरेक ढंगले ठीक, अरू सबै बेठीक देख्ने परम्पराभित्र दुर्नियत कायम देखिन्छ । सरकार सधैं शिक्षकलाई दोष लगाउँछ । शिक्षकले नपाढाएको, राजनीति गरेको भन्ने दोष सधैं बर्साइरहन्छ । आफूले कस्ता शिक्षक के भनेर नियुक्ति गरेको हो ? कसरी काम लागाएको छ ? आफ्नो तहबाट निर्माण हुने नीति, नियम, कानुन, ऐनको व्यवस्था र कार्यान्वयनको स्थितिको समीक्षा गर्ने फुर्सद नहुने सरकारले शिक्षकको कामको अनुगमन, निरीक्षण, सुपरीवेक्षण कसरी सम्भव हुन्छ ?
आफूअन्तर्गत शिक्षा प्रशासनका कर्मचारीको नियतबारे स्पष्ट भएर पनि नदेखेको र थाहै नभएको अभिनय गरेर भ्रष्ट प्रशासकले चढाएको भेटीमा रमाउने सरकारलाई त्यहाँभित्रको तमाम नियतबारे कसैले शिक्षा दिनुपर्ला जस्तो लाग्दैन । मुहान नै धमिलो भएपछि धारामा शुद्ध पानी खोज्नु भनेको मुर्खता नै रहेछ । शिक्षालाई व्यापार–व्यवसाय बनाएको, निजीकरणलाई प्रश्रय दिएको त शिक्षकले हैन । सरकार स्वयं नै राजनीतिक पार्टीहरूको प्रतिनिधि हो । शिक्षकलाई राजनीतिमा धकेलेर लडाउने अनि लडिसकेपछि आफैं चिप्लिएर दुर्गति भएको भन्न सक्ने खेलाडीहरू सरकारमा नभएका होइनन् । सक्षम, योग्य र दक्षभन्दा चाकडी, चाप्लुसी, असक्षम एवं भ्रष्टहरूबाट शिक्षालाई सुधार गर्न खोजियो र गलत बाटो रोजेकै कारणले सरकारी नियतमाथि शंका उब्जेको हो । तथ्यहरूले यहि प्रमाणित गरेका छन् । यहाँ दुर्नियतको राज चलेको कुरा जगजाहेर छ, फूलबुट्टा होइन ।
यसरी सरकार, राजनीतिकर्मी तथा उच्च शैक्षिक प्रशासकतर्फ फर्किएर त्यस क्षेत्रको नियतबारे चर्चा उठाउँदा शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय तथा कार्यान्वयन तहका संलग्न सबैलाई सूक्ष्म विश्लेषण गर्नैपर्छ । शिक्षक स्वयं आलोचित भएका छन् । यहाँ शिक्षकहरूको नियतबारे प्रश्न उठाउने गरेको पाइन्छ । जागिरे मनस्थिति बोकेर समय कटाउने अभ्यासमा संलग्न शिक्षकहरूले राजनीतिक झोला बिसाएनन् भनेर आरोप लगाइने गरिएको छ । वास्तविकताभित्र सत्यता छैन भन्न सकिन्न । नतिजा र सरकारी विद्यालयको अवस्थाले आफैं प्रमाणित गरिहेका छन् । तर सबै शिक्षकमा यो लागू छैन । राम्रो गर्नेहरूको चर्चा बजारमा सुन्न सकिन्छ । प्रशंसा र प्रोत्साहन पनि भएका छन् । यिनलाई सकारात्मक र सुनियतपूर्वक हेरिनुपर्छ ।

त्यस्तै विद्यार्थीमा पनि समस्या नभएको होइन । आधारभूत तहबाटै रोजगारमूलक शिक्षा चाहिएको छ । अभिभावक आफ्नो सन्तानले चाँडै आर्थिक उपार्जन गरेको, कमाई गरेको हेर्न चाहन्छन् । यहाँ देखिएको नियत सफा छैन । पढ्ने, सीप सिक्ने, ज्ञान आर्जन गर्ने समयमा कमाई खोज्ने अभिभावक र त्यहि मार्गमा हिँड्ने विद्यार्थी, जसलाई पास चाहिने, ज्ञान र सीप होइन । कक्षा चढ्नुपर्ने, आफ्नो हैसियत र स्तरबृद्धिसँग भन्दा अन्यत्र बढी ध्यान दिने र सारमा नियत नै गलत बोकेको कारणले शैक्षिक स्थितिमा सुधार जटिलता भएको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ जस्ता संस्थाहरू सामाजिक भावनाको जगमा बन्ने भएकोले उनीहरूको नियत अलि भिन्न हुन्छ ।
त्यहाँ राजनीति र सामाजिक विचारको सेवासहित मिश्रण पाइन्छ । त्यो सुधारमा केन्द्रित हुँदैन पनि । विनाआर्थिक फाइदा समाजसेवा भनेको क्षणिक हुन्छ । ऐच्छिक हुन्छ । त्यति जिम्मेवार पनि देखिँदैन । त्यहाँको नियत अलि भिन्न हुन्छ नै । शिक्षामा प्रत्यक्ष संलग्न अंगहरू शिक्षा प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वय र नियत एकै हुनुपर्छ । सफा हुनुपर्छ । हामी राम्रा नियतबाट शैक्षिक सुधारको अपेक्षा गर्दछौं ।
निश्चित रूपमा शिक्षा सामाजिक रूपान्तरणको आधारस्तम्भ हो । शिक्षाले देशको भविष्य निर्धारण गर्दछ । शिक्षाले देशको लागि दक्ष जनशक्ति उत्पादन गर्ने माध्यम बन्नुपथ्र्याे । शिक्षाले मानवीय भावनाको विकास गर्नुपथ्र्याे । शिक्षाले देशको राजनीतिक भविष्य निर्धारण गर्नुपथ्र्याे । शिक्षाले देशमा आर्थिक रूपान्तरण गर्नुपथ्र्याे । तर शिक्षा प्रणालीको व्यवस्थापनमा आएको कमजोरीले शिक्षा प्रणाली नै असफल भएको देखिन्छ । शिक्षण सहज बिषय हैन तर व्यावहारिक उपयोगको आधारमा शिक्षण गर्ने हो भने शिक्षण सामान्य बन्न जान्छ । शिक्षा आफैंमा बेठीक हैन त्यसलाई प्रयोग गर्ने पद्धति बेठीक हो । प्रभावकारी शिक्षणको लागि शैक्षिक सामाग्री महत्त्वपूर्ण हो ।
नेपालमा बर्सेनि हजारौं युवाहरूले विश्वविद्यालयबाट स्नातकोत्तरको डिग्री लिने गर्छन् । पढेका मान्छेहरू धेरै छन्, हातमा सर्टिफिकेट नभएकाहरू सायद कमै भेटिएलान् । तर चासो डिग्री र सर्टिफिकेटमा होइन, चासो ती डिग्रीहरूको उत्पादनशीलता, र उपयोगितामा हो, र चासो पढ्नका लागि गरेको लगानीले राज्य र विद्यार्थी स्वयंलाई कति फाइदा दियो भन्ने हो । हाम्रो शिक्षा कामै नलाग्ने भो भन्दा पनि हाम्रो शिक्षा उत्पादनमुखी भएन भन्ने यो पंतिmकारको गुनासो हो । एकातिर, नेपालमा केही उत्कृष्ट मानिने डाक्टर इन्जिनियरिङ विषयहरू हुने खानेले पढ्न मात्र सम्भव छन्, बिहान बेलुका घरको काम भ्याएर दिउँसो स्कुल जाने दूरदराजका गरिबका छोराछोरीलाई डाक्टर इन्जिनियरिङ विषयहरू आकाशको फल जस्तै छन् । अर्कोतर्फ, बहुसंख्यक विद्यार्थीले वर्षौं खर्चेर लिने डिग्रीका सर्टिफिकेटहरू बायोडाटाको पाना भर्नको लागि मात्र काम लाग्ने खालका छन् । कारण, हाम्रा विद्यालय, विश्व विद्यालयले विद्यार्थीको चाहना अनुसारको शिक्षा दिन सकेका छैनन् । यो शिक्षा देशलाई अहिलेको अवस्थामा चाहिने जनशक्ति दिन सक्ने खालको छैन ।
हुन त संविधानमा उल्लेख गर्दैमा शिक्षाले फड्को मारिहाल्छ भन्न सकिँदैन । सरकारले बर्सेनि लागू गर्ने वार्षिक नीति तथा कार्यक्रममा शिक्षाका लोभलाग्दा योजनाहरू प्रस्तुत हुन्छन् तर व्यवहारमा कहिल्यै लागू हुँदैनन् । शिक्षामा रूपान्तरणको लागि संविधान र शिक्षा नीतिलाई व्यवहारमा उतार्नुपर्छ । संविधानमा अट्न नसक्ने तर परिवर्तन गर्नै पर्ने शिक्षाका भित्री तत्त्वहरू पनि थुप्रै छन् । ती तत्त्वलाई सुझावस्वरूप यस आलेखमा बुँदागत रूपमा प्रस्तुत गरिएको छ:

१.विकट गाउँमा सञ्चालित शिक्षा र सहरमा सञ्चालित शिक्षाबीच ठूलो भिन्नता छ । सहरमै पनि बोर्डिङ स्कुल र सरकारी स्कुल बीचको खाडल गहिरो छ । प्राथमिक तहदेखि नै शिक्षाको व्यापार हुनु राम्रो होइन ।
२. विद्यार्थीले रोजेको र क्षमता अनुसारको विषय पढ्नपाउने व्यवस्था हुनुपर्छ । खेल खेल्न चाहनेलाई खेलकुद, संगीत चाहनेलाइ संगीत, र कृषि पढ्न चाहनेलाई विद्यार्थी कालदेखि नै वैज्ञानिक कृषि प्रणाली सिक्न पाउने व्यस्था राखिनुपर्छ ।
३. हो लोकतन्त्रको मेरुदण्ड नै राजनीति हो तर कहिले र कहाँ यसको पनि ख्याल गरिनु जरुरी छ । तर शिक्षक पढाउन जानुपर्नेमा कुनै पार्टीको झन्डा बोकेर राजनीति गर्न जाने, विद्यार्थीले राजनीति गरेर शैशिक संस्था बन्द गर्ने र राजनीतिक दलले विद्यालयलाई नै राजनीति गर्ने थलो सम्झिँदा हाम्रो शिक्षा खस्किँदो क्रममा छ ।
४. अझैपनि स–साना नानीहरूलाई लठ्ठीको त्रासमा शिक्षा दिन खोजिएको हुन्छ । सिकाइमा एउटा लठ्ठीले भन्दा एउटा चकलेटले ठूलो भूमिका खेल्छ भन्ने कुरा हाम्रा शिक्षकहरूलाई सिकाउनुपर्छ ।
५. विद्यार्थीलाई स्वतन्त्रता चाहिन्छ । एउटा बालकको दिमाग सञ्चालन गर्ने आफू ड्राइभर नभई बाबुआमा भइदिँदा बालक कि त बाबुआमाप्रति निर्भर हुन थाल्छ कि अटेर बन्न पुग्छ र गलत बाटो लिन पुग्छ । त्यसकारण बालबालिकालाई स्वतन्त्र छोडिदिनुपर्छ । अभिभावकले छोराछोरीको पढाइ आफ्नो इज्जत र प्रतिष्ठासँग तुलना गरिदिँदा विद्याथीले आत्महत्यासम्म गर्नुपरेको छ ।
६. विद्यार्थीको परीक्षाको नतिजा जसले पनि हेर्न पाउने व्यवस्था छ, हाम्रो शिक्षामा गोपनीयता छैन । जबकि, सबै विद्यार्थीको नतिजा गोप्य राखिनुपर्छ । विद्यार्थी स्वयंले बाहेक दोस्रो व्यक्तिले नतिजा थाहा नपाउने व्यवस्था राख्ने हो भने विद्यार्थीमा तनाव कम हुन्छ, र आफूले सुध्रिने मौका पाउँछन् । हाम्रोमा परीक्षाको नतिजा पत्रपत्रिकामा निकाल्ने चलन छ, जसले विद्यार्थीको गोपनीयताको हकलाई उल्लंघन पनि गर्छ र सबैले नतिजा थाहा पाउने भएपछि विद्यार्थीले लाज, डर र तनावका कारण आत्महत्यासम्म गर्न पुग्छ ।
७. हाम्रो शिक्षा अन्तर्राष्ट्रिय शिक्षासँग प्रतिस्पर्धी छैन । पुरानो शिक्षा प्रणाली, पुरानै शैलीका पाठ्यक्रम, राजनीतिक दबाबमा नियुक्ति गरिएका असक्षम शिक्षक कर्मचारी, र अव्यवस्थित तथा अमर्यादित परीक्षा प्रणालीले हाम्रो शिक्षालाई कमजोर बनाएको छ ।
८. हाम्रा शैक्षिक संस्थामा औपचारिक शिक्षा मात्र पढाइ हुन्छ । कुनै डिग्री लिन नचाहने विद्यार्थी पनि वर्षौंसम्म क्याम्पस धाउनुपर्ने बाध्यता छ । दैनिक जीवनमा काम लाग्ने कम्प्युटर अपरेटर, मेकानिक, कृषि, सौन्दर्य, सिलाइ बुनाइ, कला, लेखा, डकर्मी, सिकर्मी, जस्ता विषयलाई स्कुल र क्याम्पसहरूमा सिकाउनुपर्छ, र यी सीप सिकेर काम गर्न चाहने विद्यार्थीलाई सर्टिफिकेट दिने व्यवस्था गर्नुपर्छ । छोटो समयमा दक्ष जनशक्ति उत्पादन गर्न र युवालाइ विकासप्रति उत्प्रेरित गर्न पनि सीपमूलक शिक्षाको आवश्यकता छ ।
९. देशभरिका विद्यालयमा समान भौतिक पूर्वाधारको विकास गर्नुपर्छ । प्रयोगात्मक शिक्षाको लागि प्रयोगशालाको आवश्यकता छ । ताकि विद्यार्थीको विद्यालयप्रति चाहना बढोस् ।
१०. शिक्षाका निम्ति बनेका नीति, नियम र कानुनलाई अक्षरशः पालन गर्नुपर्ने संस्कार बसाउनुपर्छ । नियमभन्दा बाहिर जाने शिक्षक, कर्मचारी र प्रसाशनलाई कारबाही गरी विद्यार्थी सिकाइ र शिक्षाको स्तरोन्नति गर्नु आजको आवश्यकता हो ।
११.शिक्षकहरूको बीचमा पनि बढुवा प्रणाली ल्याउनु जरुरी छ ताकि सर्टिर्फिकेट र क्षमता, मूल्यांकनका आधारमा निजामती कर्मचारी जस्तो शिक्षकहरूलाई बढुवा गर्ने प्रावधान ल्याउनु पर्दछ ताकि एक तहबाट अर्को तहमा बढुवा होस्, जबकि अहिले स्नाकोत्तरसम्म पढेकाहरू प्रावि तहमा छन् भने त्यही नै सीमित हुन्छन्, यस्ताकारणले पनि दक्ष शिक्षकहरू शिक्षण पेसाभन्दा अन्य पेसामा बढी आकर्षित हुने गरेका छन् ।
अतः हाम्रो शिक्षाले यस्ता खालका विद्यार्थी उत्पादन गरोस् जसले देशलाई माया गरोस्, राष्ट्रिय चिह्न र सम्पदाको सदैव रक्षा गरोस् । नेपाली भएकोमा गौरव गरोस्, पढाइ पूरा गरेपछि देशमै केही गर्नुपर्छ भन्ने सोच सबै विद्यार्थीमा विकास होस् ।

प्रकाशित मिति: फाल्गुन १९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend