Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारी स्कुल सोचे जस्तो हुनै सकेन

हाम्रो कोशी आवाज
चैत्र २७ २०७८, आइतबार
सरकारी स्कुल सोचे जस्तो हुनै सकेन

 यस्तो लागेको थियो, प्रजातन्त्रपछि नेपालको शिक्षा पद्यतिमा चल्नेछ । सामुदायिक विद्यालयको स्तर सुधार हुनेछ र त्यस प्रतिको आम मानिसको विश्वास पनि बढ्ने छ । आम नागरिक सामुदायिक विद्यालयप्रति थप जिम्मेवार बन्ने छन् । यसले सामुदायिक विद्यालयको गुणस्तर बढाउने छ । २०४८ अघिका यी अपेक्षा पूरा भएनन् । सामुदायिक विद्यालय चर्चा र चासोमा छ तर सुधारको पहल राज्य तहबाट नै पनि प्रभावकारी रुपमा हुन सकेको छैन ।
अपेक्षा त अरु पनि थियो । जस्तो सामुदायिक विद्यालय व्यवस्थापन समितिहरु अधिकार प्रदत्त हुँदै जानेछन् । यसले हाम्रा विद्यलायमा विद्यार्थीको संख्या बढाउने छ । विद्यलाय प्रति अभिभावक र व्यवस्थापन समितिको सक्रियता बढ्नेछ । विद्यार्थी भर्ना करकाप र बाध्यताले होइन स्वस्फूर्त रुपमा हुनेछ । शिक्षकको तलब भत्ता बढ्नेछ । त्यसको सकरात्मक प्रभाव विद्यालयको कक्षा कोठाको पठन पाठनमा पर्नेछ । शिक्षकहरुले थप र प्रभावकारी तालिम पाउनेछन् । शिक्षण विधि बदलिने छ । घोकाइ भन्दा विद्यलायको शिक्षा सिकाइ मूलक हुनेछ । सारा प्रगतिहरु हेर्दै सरकारले शिक्षा सुधारका लागि व्यवहारिक परियोजनाको परिकल्पना, विकास र विस्तार गर्नेछ । नीतिमा सामयिक सुधारहरु हुनेछन् । समय सापेक्ष पाठ्यक्रमहरु बदलिने छ । शिक्षाको बजेट क्रमशः बढ्नेछ । सूचना र प्रविधिको तिब्र विकासलाई ध्यामा राखेर हाम्रा विद्यालयका विद्यार्थीले त्यसको उपयोगिता बारे कक्षा बाट नै जानकारी पाउने छन् ।
सोचे जस्तो हुनै सकेन । राज्यले चाहेन वा गरेन यसको बहसको पाटो अझ लामो हुन सक्छ । प्रजातन्त्र स्थापनापछि हामीले चाहेको जस्तो सामुदायिक शिक्षा विकास हुन नसकेको चाँहि पक्का हो । यो देखिएको सत्य हो ।
सरोकारवालाको चाहना के हो भने नेपालको शिक्षा ऐन समयानुसार बदलियोस् । त्यो माटो सुहाउँदो होस् । जनमुखि होस् । र नेपालका सबै बालबालिकाले पढ्ने सामुदायिक विद्यालयको सुधारको सपना साकार पार्ने खालको होस् । तर यी केही पनि भएनन् ।
विस्तारै सामुदायिक विद्यालय सुधारका सपनामाथि राज्य तहबाटै प्रहार भएको अनुभव भइरेको छ । सामुदायिक विद्यालय सुधारका हाम्रा सपनाहरु विलय हुदै गए जस्तो भान हँदैछ । किनकी राज्य शिक्षा प्रति झन् झन् उदासिन देखिदै गएको छ । हाम्रो मौलिक माटो सुहाउँदो भन्दा पनि विद्यालय शिक्षाका योजनाहरु विदेशबाट नक्कल गर्न थालिएको छ । विदेशीका योजनाहरुका आधारमा शिक्षा चल्न थालेको छ । योजनाहरु नेपालका शिक्षाका सरोकारवालाको सरोकार सित भन्दा विदेशीको जागिरको योजना अनुसार हुदै गएको छ ।
यसले सरकारको ठूलो लगानी रहेको सामुदायिक विद्यालय र त्यहाँको शिक्षा खस्कदै गएको छ । निजी विद्यालय बढ्दै गएका छन् । कक्षा १० को एसएलसी नतिजालाई हेर्ने हो भने प्रतिफल सामुदायिकको कमजोर देखिन्छ । परिणाम सामुदायिक विद्यलाय प्रतिको भरोसा प्रति नै प्रश्न उब्जिन थालेको छ ।
अवस्था सबैलाई जानकारी छ । दाताहरु तारे होटलमा गोष्ठी गरेर सामुदायिक विद्यालयका नाममा पैसा सकिरहेका छन् । मन्त्रालयको पदाधिकारी त्यही गोष्ठीमा सहभागी भएर निर्लज्ज भनिरहेका छन् सामुदायिक विद्यालय खस्किदै गएको सत्य हो । देशको शिक्षाविद्रुलाई कार्यपत्र लेख्न र प्रस्तुत र्न भ्याइनभ्याइ भएको छ । र तिनै तारे होटलमा देशको शिक्षा सुधारको, जनहभागिताको, अभिभावकको क्रियाशिलताको र विद्यालय व्यवस्थापन समितिको सक्षमताको बारेमा चर्चा चलिरेको छ ।
शिक्षा प्रति सबैको चासो हुनु नराम्रो होइन । स्थानीय जनताको सहभागिता, अभिभावकको क्रियाशिलता र विद्यालय व्यवस्थापन समितिको सक्षमताको खाँचो राज्यले, दाताले वा शिक्षाविद्ले भित्रैदेखि महसुस गरेका हुन् कि हैनन् भन्ने महत्वपूर्ण कुरा हो । यदि राज्यले यस्तो महसुस गरेको हो भने सरकारले अब साँचो कुरा बोल्नु पर्दछ । नेपालमा रहेका ३४ हजार सामुदायिक विद्यालय मध्ये विद्यार्थी संख्या कम भएर मर्ज भएकाहरुलाई घटाउँदा बाँकी रहेका २९ हजार ६ सय ६० वटा विद्यालयहरु सरकारी विद्यालय हो या सामुदायिक विद्यालय हो ?
आम मानिसको बुझाइ छ, सरकारले अहिले समुदायलाई हस्तान्तरण भनेको विद्यालय वा हस्तान्तरण नगरेको दुवै खाले विद्यालयमा लगानी आफैले गरेको छ । नितिमा निर्णायक शक्ति आफूमै केन्द्रीत बनाएको छ । शिक्षक आफै नियूक्ति गर्दछ । सरुवा र बढुवा सरकार आफैले गर्छ । शिक्षक दरवन्दी पनि आफै सिर्जना गर्दछ । सबै सबै काम आफैं गर्दै आएको छ अनि कसरी भयो विद्यालय सामुदायिक वा समुदायको जिम्मेवारीको ? सबै कुरा आफैले जिम्मा लिएर राज्य किन विद्यालयलाई सामुदायिक भनेर प्रचार गरिरहेको छ ? योजना बनाउँने, नियन्त्रण गर्ने सबै केन्द्रीय स्तरबाट अनि भन्ने सामुदायिक ? यसले नेपालमा सामुदायिक विद्यालय समुदायको होइनन् र यी पूर्ण रुपमा सरकारी जिम्मेवारीका हुन् भन्ने मानसिक बिकास गर्न सघाएको मात्रै छ ।
बोलीमा मात्र सामुदायिक होइन, सरकारले व्यवहार मानै लागू हुने गरी विद्यालयलाई सामुदायिक बनाउनु जरुरी छ । समुदायकै पूर्ण जिम्मेवारीमा विद्यालय सञ्चालन गर्ने परिपाटी सहितको नीति नआएसम्म सामुदायिकको सुधार सम्भव छैन । स्थानीय अभिभावकमा यो विद्यालय मेरो हो भन्ने भावना जगाउनु जरुरी छ त्यसका लागि हाम्रो विद्यालय राम्रो विद्यालय भन्ने भावना विकास गराउनतर्फ राज्यले सहयोग गर्नु पर्छ । अहिले कै जस्तो विद्यालय सबै सरकारको नियन्त्रणमा चल्ने, नाम मात्रैको सामुदायकले तिनको सुधार सम्भव छैन । बरु सामुदायिक विद्यालयको हालत अहिले भन्दा झन् झन् खस्केर जाने छ ।
सामुदायिक विद्यालयलाई खास समुदायको बनाउन र सुधार गर्न राज्यले तत्काल सोच्नु जरुरी छ ।

प्रकाशित मिति: चैत्र २७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend