धरानः आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान फेला परेको हो ।
थासाङ २, मुस्ताङको सानोशरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरलाइन्सको जहाज अन्ततः मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित पटके लेक सानोसोरामा क्षतविक्षत अवस्थामा सोमबार बिहानै फेला परेको छ ।
दुर्घटनाग्रस्त विमानको तस्बिर एक स्थानीयले खिचेर नेपाली सेनालाई पठाएको खुलेको छ । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका यार्सागुम्बा खोज्न गएका सुमित गौचनले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएको बताए ।
मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा टाढाबाट जहाज देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको टोली त्यसतर्फ लागेको गाउँपालिकाका अध्यक्ष गौचनले जानकारी दिए । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजमा आगो भने नलागेको भेटिएको छ । जहाज पहाडमा ठोकिएको र लास समेत चिनिने अवस्थामा रहेको त्यहाँ पुगेका स्थानीय इन्द्रसिंह शेरचनले बताए ।
पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतबार बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । हराएको जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु रहेका जनाइएको छ । आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०ः१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०ः०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो ।
जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए । जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् । उनीहरुको अवस्थाबारे हालसम्म कुनै जानकारी आएको छैन ।