एसइईको नतिजा आइसकेको छ । विद्यार्थी, अभिभावकलाई कुन कलेज, कुन विषयमा अध्ययन गर्ने गराउने भन्ने चिन्ता थपिएको छ । धेरै अभिभावक तथा विद्यार्थीले समयमा उपयुक्त विषय छनोट गर्न नसक्दा उच्च तहमा पुगेर अलपत्र पर्ने गरेको पाइन्छ ।
हालसम्मको अध्ययनले धेरै जसो विद्यार्थीले कक्षा १२ पछि आफूले पढेको विषय बदल्ने गरेका उदाहरण पनि प्रशस्त पाइन्छ । विगत वर्षहरुमा प्लस २ मा साइन्स पढेका विद्यार्थी माथिल्लो तहमा अन्य विषय अध्ययन गरेको उदाहरण धेरै रहेको छ । विद्यार्थीको क्षमता र इच्छा अनुसार विषय छनोट गर्न नसक्दा उच्च तहमा गएर विषयमात्र होइन संकाय नै बदलेको प्रशस्त घटनाहरु रहेका छन् । एसइई दिएका विद्यार्थीले कस्ता विषय रोज्ने ? त्यो विषय अध्ययन गरेका जनशक्तिको बजारमा कस्तो माग छ ? रोजेको विषय पढेर पूरा गरेपछि त्यसको समाजमा कस्तो हैसियत हुन्छ जस्ता कुराहरुले विद्यार्थीलाई अलमलमा परेको पाइन्छ ।
कामप्रति सम्मान र आम्दानीका हिसाबले राम्रो गे्रड आउँदै काम लाग्ने र कम ग्रेड आउँदा काम नै नलाग्ने भन्ने सोच विस्तारै बदलिँदै गएको छ । साधारण लेखपढ गर्न जान्ने तर प्राविधिक र व्यावसायिक शिक्षामा राम्रो गर्ने मानिसले सम्मान, पैसा र जीवनयापन राम्ररी गरेका धेरै उदाहरण रहेका छन् ।
आम्दानी पढाइ मात्र हैन, सीपले पनि दिने कुरा अहिले आएर प्रमाणित भएको छ । सीप भएका मानिसले स्वदेश तथा वैदेशिक रोजगारीमा समेत राम्रो काम र दाम पाएका छन् । कुनै पनि विद्यार्थीले आफ्नो विषय छान्दा त्यो विषयमा स्वदेश तथा विदेशमा माग कस्तो छ, हेर्नुपर्ने समय आइसकेको छ । त्यति मात्र होइन विषय छान्दा विद्यार्थीले लगानीको प्रतिफल दिने तथा समाजमा राम्रो स्टाटस दिन सक्ने विषय छान्नुपर्छ ।
विश्व बजारलाई हेर्दा सिए, बिबिए, बिबिएस, एमविएस, एमविए, आइटी, इन्जिनियरलगायत प्राविधिक विषयको माग राम्रो देखिन्छ । समाजमा पनि यस्ता विषय पढ्ने व्यक्तिलाई फरक दृष्टिकोणले हेर्ने गरेको पाइन्छ । यस कारण आफ्नो क्षमता भए उच्च तहमा यस्ता विषय अध्ययन गर्न सहज हुने गरी कक्षा ११ बाट नै अध्ययन नियमित गराउनु उपयुक्त हुन्छ ।
अब कक्षा ११ र १२ को अध्ययन पछि अन्तरराष्ट्रिय गुणस्तरका कोर्स अध्ययनका लागि विदेश जानुपर्ने अवस्था छैन ।नेपालमा नै विभिन्न किसिमका प्राविधिक तथा साधारण कोर्सका लागि नेपाली विश्वविद्यायलदेखि विदेशी विश्वद्यालयका कार्यक्रमहरु रहेका छन् । त्यस्ता विषयहरु निजी स्तरका विभिन्न कलेजले समेत पढाउँदै आइरहेका छन् । प्राविधिक शिक्षा अध्ययन गर्नुअघि विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ । प्राविधिक शिक्षा पढ्नुअघि कुनै पनि विद्यार्थीले पढ्न लागेको विषयको नेपाल र विश्वमा माग छ कि छैन ? आफूले पढ्न सक्छु सक्दैन भनेर विषयको बारेमा बुझ्ने, उक्त विषय पढ्न आफ्नो आर्थिक अवस्थाले भ्याउँछ कि भ्याउँदैन भनेर पहिले नै विचार गर्नुपर्छ । विद्यार्थीले अध्ययन गर्न खोजेको विषयको कार्यक्रम कुन विश्वविद्यालयमा छ, त्यसबारे पहिले ध्यान दिनुपर्छ ।
नेपालमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडांै विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लगायतका निजी विश्वविद्ययालयबाट समेत विभिन्न संकायका कार्यक्रमहरुको अध्यापन हुने गरेको छ । यसैगरी केही निजी कलेजहरुले विदेशी विश्वविद्यालयका कोर्षहरु पनि अध्यापन गराएका छन् । तपाई कुन विश्वविद्यालयको कोर्ष पढ्न चाहनुहुन्छ सो बारे निश्चित हुनुपर्छ । यस्ता विद्यालयहरुका विषय छान्नुभन्दा पहिले उनीहरुको पाठ्यक्रम, सिलेबस पनि हेर्न जरुरी हुन्छ । यसरी तपाईलाई बढी रुचि भएको तथा आफ्नो आर्थिक अवस्थाले भ्याउने खालका विषय छान्दा अझ राम्रो हुन्छ ।
यसैगरी विश्वविद्यालयको सफलता तथा नेपाल तथा विदेशमा दिइने मान्यता हेर्नु अर्को महत्वपूर्ण कुरा हो । यसको अर्थ तपाईंले अध्ययन गरेको युनिभर्सिटी कोर्षलाई अर्को विश्वविद्यालयले कत्तिको मान्यता दिन्छ भन्ने हो । अध्ययनका क्रममा अर्को विश्वविद्यालयमा अध्ययन गर्ने चाहना राख्दा ट्रान्सफर गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा बुझ्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कलेजमा अध्ययन गरेको ज्ञानलाई व्यवहारिक रुपमा उतार्न इन्टर्नशिप तथा प्रोफेसनल ट्रेनिङहरुको आवश्यकता पर्दछ । यसको लागि सम्बन्धित कलेजले इन्टर्नशिपका लागि विद्यार्थीलाई आइटी इन्डस्ट्रीमा पठाउने गरेको छ कि छैन भन्ने कुरा हेर्नुपर्दछ ।
वास्तवमा कुनै पनि विषय वा संकाय आफैमा नराम्रा र राम्रा छैनन् । प्रत्येक विषयबाट मानिस उत्तिकै सफल बन्दछ । एउटा शिक्षक र डाक्टर अनि एउटा व्यवसायी र पेसाकर्मी बराबरी सफल र प्रख्यात भएका प्रशस्त उदाहरण छन् । विज्ञान पढेर नास्टमा वा नासामा काम गर्ने वैज्ञानिक, व्यवस्थापन संकाय पढेर आएका सफल व्यापारी वा बैंकर, शिक्षा पढेर सफल भएका प्राध्यापक, साहित्यमा लागेर नोबेल पुरस्कार पाएका सर्जक, अनि आमसञ्चारबाट आएका सफल पत्रकार सबैको प्रतिष्ठा बराबर छ । कुन विषय राम्रो अथवा नराम्रोभन्दा पनि त्यो विषयको अध्ययन विद्यार्थीले कुन तवरबाट गर्छ र कति सफलता हात पार्दछ भन्ने कुरा मुख्य हो ।
यद्यपि विद्यार्थीहरू शारीरिक, मानसिक, मनोवैज्ञानिक हिसाबले कुनै विषयमा बढी र कुनैमा कम जायज हुन सक्छन् । गणितमा तगडा विद्यार्थी विज्ञानमा र भाषामा तगडा मानविकीमा जायज हुन सक्छ । मनोविज्ञानका एक विख्यात दार्शनिक जोन होल्याण्डले गरेकोे मानवीय स्वभावको विभाजन यसका लागि महत्वपूर्ण रहन्छ । त्यसैले विद्यार्थीले अध्ययनको सहायताले सफल हुने हो भने प्रत्येक संकायका महत्तम् सम्भावनाबारे जानकारी राख्ने, ती सम्भावनाबाट आफ्नो स्वभाव र सामथ्र्य मिल्ने एउटा लक्ष्य छनौट गर्ने, आफूले छनौट गरेको लक्ष्यमा नमूना व्यक्ति पत्ता लगाउने र लक्ष्यलाई सघाउने खास संकाय र विषय छनौट गर्नुपर्छ । विषय छनौट बुवाआमा, साथी वा अन्य कसैलाई नभएर केवल आफ्नै इच्छा, रुचि, लक्ष्य र पेशागत आर्कषणलाई हुनपर्छ ।
राम्रो वा नराम्रो विषय हुँदैन, आफूले राम्रो वा नराम्रो हिसाबले अध्ययन गर्ने कुराले आगामी भविष्यलाई पूर्णरुपमा नियन्त्रण गर्दछ । तसर्थ, जानकार र बुजुर्कले कुनै विद्यार्थीलाई कुनै एक विषय वा संकायको लागि बाध्य गर्नेभन्दा प्रत्येक विषयबाट प्राप्त गर्न सकिने उपलब्धीलाई उनीहरू सामु देखाइदिनुपर्छ ।