Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सर्दुको बगरमा सयौंको जनश्रमदान

हाम्रो कोशी आवाज
साउन १४ २०७९, शनिबार
धरानमा सर्दुको बगरमा सयौंको जनश्रमदान

धरानः शनिबार अघिल्लोपटकको शनिबारभन्दा धेरै श्रमदानका लागि पुगेका छन् ।
मेयर हर्कराज राई साम्पाङको आह्वानमा सयौं जनता श्रमदानका लागि पुगेका हुन् । सर्दुखोलामा इन्टेक निर्माण भइरहेको छ । शनिबार नै लगभग इन्टेक निर्माणको काम सकिएको छ । इन्टेक निर्माण, पाइप विस्तारका लागि जनताले श्रमदान गरेका हुन् । धरानसँगै विभिन्न जिल्ला (झापा, मोरङ, सुनसरी, धनकुटा र चितवनदेखि पनि) बाट जनता हेर्नकै लागि भएपनि आएका थिए ।
‘विशेषतः धरानमा पानीकै समस्या छ, पानीको दुःख मेट्न मेयर लागिपरेको देखेर स्वतस्फुर्त यहाँ आइपुगेको हुँ’, स्थानीय प्रविन राईले थपे, ‘हामीले दुःख गर्दा पानी आइहाल्छ भने किन नखट्ने ? राम्रो काम गर्ने मेयरलाई साथ दिन यहाँ आएको हुँ ।’
पकुवापछि धरान–१३ मा अघि बढिरहेको निशाने प्रोजेक्टको काम सकिएको छ भने सर्दुको पानी ल्याएर जम्मा गर्ने स्थल (करिब २ लाख लिटर अट्ने खानेपानी ट्याङ्की निर्माणस्थल) मा मेयरलगायत सयौं जनता यसपटक पनि उत्साहपूर्ण सहभागिता जनश्रमदान सकिएको छ ।
चुनाव जितेपछि उनी खानेपानीको सेवा सुधारमा तल्लिन छन् । सयौं जनताको उत्साहपूर्ण उपस्थिति देखेपछि मेयर साम्पाङ पनि चकित बनेका थिए । ‘खोलाको बगरभरी, पाखैभरी जनता देखियो, यसपटक पनि खोला र बगर श्रमदान गर्नेले नै ढाके, यसले धरानको मुहार चाँडै फेरिन्छ जस्तो अनुभूति भएको छ ।’ उनले भने ।
बिहान भावुक बन्दै भक्कानिँदै धरधरी रोएछु, अहिले खुशी छुः मेयर
खानेपानीलगायत जनताकै पक्षमा आवाज उठाइरहँदा उनी शनिबार बिहान भने भावुक बने । एक्लो हर्कराज एक्लै कुदिँरहँदा उनको साथमा कोही थिएनन् । तर पनि उनले हार मानेनन् र चुनाव जितिछाडे । चुनाव जितेपछि पनि उनी एक्लो रहेनन्, सयौं धराने जनताले साथ दिइरहे ।
धरानवासीको तिर्खा मेटाउन भन्दै खोलाखोला चहारिरहेका उनलाई जनताले भन्न थालिसकेका छन्– मेयर हुन् त हर्कजस्तो । तर पनि उनी शनिबार एकाएक भक्कानिएर धरधरी रोए । सार्वजनिकस्थलमै सञ्चारकर्मीमाझ भक्कानिएर रुन पुगे । बृक्षारोपण गरेर फर्किँदै गर्दा मेयर साम्पाङसँगै विरुवा रोप्ने भन्दै मिस धरान नामक सुन्दरी प्रतियोगिताका प्रतिस्पर्धी आएका थिए । त्यसपछि उनले केही प्रेरणादायी कुरा गर्दै थिए । बृक्षारोपणको औचित्य साथै अन्य प्रेरणादायी कुरा गर्दा गर्दै उनी भावुक बनेर रोए ।
यसक्रममा उनले आफ्नो गीत ‘देश सोच्न सकूँ म, देश बोल्न सकूँ’ का पंक्ति उच्चारण गरेका थिए । तर उनीबीचमै भक्कानिए । भक्कानिएर रुन पुगेका उनले केही सम्हालिएर गीत पूरा गर्न खोज्छन् । तर पनि उनले सकेनन् । गीतका बाँकी पंक्ति सुनाउँदै गर्दा उनी उसैगरी भक्कानिएपछि एकाएक सन्नाटा छाएको थियो ।
आफूजस्तो सानो मान्छेलाई प्रेरणा मानेर भेट्न आएको, देशविदेशदेखि सहयोग आएको हुनाले आफू भक्कानिएको बताए । उनले श्रमदानमा जनता आएको देखेर अत्यन्तै हर्षित भएको बताए । उनले भने, ‘बिहान त हर्षविभोर, भावविभोर पनि भएँ भनौं हर्षका आँशु झरेछ । तर अहिले अत्यन्तै खुशी छु, माया गर्नु भएको छ, म सानो मान्छे, मजस्तो साधारण मान्छेलाई असाधारण किसिमले चित्रण गरिदिँदा भावुक भएकै हो ।’
उनले आफूले केही गर्न नसकेपनि जनतालाई विकास के हो र विकासमा कसरी जोडिनुपर्छ भनेर सिकाइदिएको बताए । ‘अब धरान यसरी नै चल्दै जान्छ, चाहे हर्क साम्पाङ होस् या नहोस् साथै धरानमात्रै नभएर देश नै यो किसिमले विकास गर्नुपर्छ भन्ने लाग्छ ।’
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: साउन १४ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend