धरानः धरान–१२ स्थित पब्लिक हाईस्कुलको कक्षा–११ मा अध्ययन गर्नका लागि भर्ना भएका नव आगन्तुक बिद्यार्थीहरुलाई बुधबार अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको हलमा बिहान ७ देखि ८ः२५ बजेसम्म र ८ः३० देखि १० बजेसम्म गरी दुई समूहमा अभिमुखीकरण तथा स्वागत गरिएको हो । पहिलोदिन आएका विद्यार्थीहरुलाई प्रधानाध्यापक इन्द्रमोहन झाले विद्यालयमा पालना गर्नुपर्ने नियमहरुको बारेमा जानकारी गराए ।
विद्यार्थीहरुको विद्यालयमा आउने समय, जाने समय, पोशाक, पठनपाठन, अतिरिक्त क्रियाकलापलगायत विस्तृत रुपमा प्रअ झाले विद्यार्थीहरुलाई जानकारी गराए । विज्ञान, ब्यवस्थापन, मानविकी, शिक्षा र इलेक्ट्रिकल इन्जिनियरिङ गरि अहिलेसम्म ७ सय ५० विद्यार्थीहरु भर्ना भएको प्रअ झाले बताए ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किरातिले रुटिन र योजना बनाएर पढ्न बिद्यार्थीहरुलाई सुझाए । बिद्यालय ब्यवस्थापन समिति(बि.ब्य.स.)का अध्यक्ष हरिबहादुर कार्कीले विद्यार्थीहरुलाई राम्रोसँग अध्ययन गरी सुनौलो भबिष्य निर्माण गर्न शुभकामना ब्यक्त गरे ।
विद्यालयका शिक्षक एवम् पूर्व प्रअ लेखनाथ भट्टराईले विद्यार्थीहरुलाई पढाइमा कसरी सफलता हासिल गर्ने भन्ने बारेमा जानकारी गराए । कृति टेलिभिजनका कार्यक्रम संयोजक मोहन श्रेष्ठले विद्यार्थीहरुलाई कसरी अध्ययन गर्ने भन्ने बारेमा टिप्स दिए ।
सञ्चारकर्मी तिर्थ कार्कीले विद्यार्थीहरुलाई उत्प्रेरणामूलक कुराहरु सुनाए । अध्ययनमा कसरी आकर्षण ल्याउन सकिन्छ भन्ने बारेमा कार्कीले विद्यार्थीहरुलाई जानकारी गराए । कार्यक्रममा प्रअ झा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्कीलगायतले नवआगन्तुक विद्यार्थीहरुलाई अविर लगाएर स्वागत गरे। कार्यक्रममा विद्यालयका इन्चार्ज वीरेन्द्रबहादुर शाह लगायतको उपस्थिति रहेको थियो ।


