Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चप्पल किन्न नसक्ने हामी, महल ठड्याउने नेता ?

हाम्रो कोशी आवाज
कार्तिक ४ २०७९, शुक्रबार
चप्पल किन्न नसक्ने हामी, महल ठड्याउने नेता ?

राजनीतिक दलहरुले चुनाव लड्न भन्दै व्यापारी, सरकारी कर्मचारी, वित्तीय संस्था तथा संघसंस्थाहरुसँग चन्दा उठाइरहेको भनेर अहिले बजारमा जताततै सुनिन्छ । यसरी व्यापारी वा संस्थासँग चुनाव खर्च उठाइपछि यिनीहरुले जति जनता ठगे पनि राजनीतिक दलहरुले यसको विरोध गर्दैनन् । राजनीतिक दलहरुले चुनावका लागि सरकारी शिक्षक–शिक्षिकादेखि ठूला ठूला व्यापारीहरुसँग पैसा उठाइरहेका छन् । यसरी अरुसँग पैसा उठाएर आफू चुनाव जित्ने अनि महङ्गीको मारमा जहिलेपनि जनता फँस्ने, यो क्रम जारी छ ।
नेताहरुले चुनाव जितेपछि जनता र राष्ट्रको हितमा भन्दा पनि हिजो चुनाव जित्न पैसा दिएका संघसंस्था, व्यापारी वा कर्मचारीहरुको हितमा काम गर्ने गर्छन् । साथै तिनीहरुकै पक्षमा ऐन, कानुन निर्माण गर्ने गर्छन् । अहिले सरकारी कर्मचारीहरुले पैसा उठाएर राजनीतिक दलहरुलाई चुनाव खर्च दिइरहेका छन् । यता त एउटै सरकारी कर्मचारीले एक महिनाको तलबसमेत राजनीतिक दललाई चुनाव खर्च भन्दै दिइरहेको भनेर समेत सुनिन्छ ।
व्यापारीले राजनीतिक दललाई चुनाव खर्च दिने अनि त्यही पैसा सामानमा जोडेर जनतालाई ठग्ने । यता सरकारी कर्मचारीहरुले पनि राजनितिक दललाई एक महिनाको तलब दिएपछि जनताको काम नगर्ने, कार्यालय नआउने, भ्रष्टाचार गर्ने र वर्षेपिछे तलबभत्ता बढाउन राजनीतिक दललाई दबाब दिने । सरकारी कर्मचारीहरुले नै यस्तो काम गरेपछि कसरी देशमा विकास हुन्छ त ? अहिले जनताहरु आफ्नो काम लिएर सरकारी कार्यालयमा जाँदा त्यहाँ सरकारी कर्मचारीहरु मेरो पार्टी वा तेरो पार्टी भन्दै गफ गरिरहेका हुन्छन् र जनताको सानो काम भएपनि आफू व्यस्त रहेको बताउने गर्छन् । सोझा जनताको हुने काम पनि नगर्ने तर राजनितिक दलको फोन आयो भने नहुने काम पनि तुरुन्तै गरिदिने ।
नेपालको कानुनमा सरकारी कर्मचारीले कुनैपनि राजनीतिक दलको सदस्यता लिन पाउँदैन तर अहिले त सबै सरकारी कर्मचारीले राजनितिक पार्टीको सदस्यता लिएका छन् र पार्टीको झोला बोकेका छन् । यसरी पार्टीको झोला बोकेपछि जनताको काम छिटोछरितो नगर्ने तर जनताले नै तिरेको करबाट तलबभत्ता खाने र सरकारी गाडी चढ्ने । यिनीहरु जनता र राष्ट्रभन्दा आफ्नो पार्टीतिर नै बढी व्यस्त रहेका हुन्छन् । के सरकारी कर्मचारीले यसरी राजनितिक दलको सदस्यता लिन पाउँछन् ? नेपाल विदेशी ऋणमा डुबिसकेको भनेर अर्थविद् तथा विज्ञहरु बताउँछन् र सरकार पनि सरकारी कर्मचारीलाई तलब दिन समेत विदेशी ऋण लिनुपरिरहेको बताउँछ । तर सरकारी कर्मचारीहरु भने जनताको काम पनि छिटोछरितो रुपमा नगर्ने र राज्यको ढुकुटीमा जानुपर्ने राजश्व पनि नउठाउने । अहिले सरकारी कर्मचारीहरु राजनीतिक दलको झोला बोकेर दिन कटाउने र मानो चटाउने काम गरिरहेका छन् । व्यापारीहरुले पनि आफ्नो फाइदाका लागि राजनीतिक दललाई चन्दा दिने र पछि सामानको मूल्य बढाएर जनता ठग्ने र राज्यलाई राजश्व छल्ने काम गरिरहेका छन् ।
यता सरकार भने विदेशी ऋण लिएको लिएकै छ, एक नेपालीको टाउकोमा ७९ हजारभन्दा बढी विदेशी ऋण पुगिसकेको छ र भोलि यसको साँवा र ब्याज कसरी तिर्ने भनेर थाहा छैन तरपनि व्यापारी र सरकारी कर्मचारीहरु जनता ठग्न नै व्यस्त छन्  । पछिल्लो समय राजनीति सेवा नभई व्यापार बनिरहेको छ, जसले गर्दापनि पैसा नहुने सिधासाधी जनताहरु चुनाव लड्नबाट नै वञ्चित भएका छन् । राजनीतिक दलकै कारण अहिले महङ्गी बढिरहेको छ भने राज्यको ढुकुटीमा राजस्व आइरहेको छैन । साथै यता सरकारी कर्मचारी, व्यापारी, वित्तीय संस्था, उद्योग व्यवसाय, संघसंस्था, यातायात व्यवसाय आदि सबै राजनीतिक पार्टीअन्तर्गत रहेर नै चलिरहेको पाइन्छ  । तर देश र जनताको लागि यिनीहरुमध्ये कसैले पनि सोच्दैनन् ।
यिनीहरलाई जसरी भएपनि आफू कमाउनु छ वा माथि पुग्नु छ । यता पार्टीको सदस्यता लिने, व्यवसाय गर्ने र पार्टीकै आडमा जनता ठग्ने र राजस्व छल्ने । पछिल्लो समय राजनितिमा धेरै विकृति फैलिएका कारण राजनीति नै जनताको लागि घृणा बन्न थालिसकेको छ । नेताहरुले पनि जनता र राष्ट्रको हितका बारेमा नसोच्दा आज यो भएको हो  । व्यापारी, संघसंस्था वा व्यवसायीहरुले अहिले राजनीतिक दललाई दिएको चुनावखर्च त पछि सामानको मूल्य बढाएर उठाइने हाल्छन् तर जनता मारमा पर्छन् । राजनीतिक दलहरु अहिले व्यापारीहरुसँग पैसा लिएर चुनाव जित्छन् र पछि व्यापारीहरुकै काम गर्छन् । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एउटा गाउँपालिकाको अध्यक्ष वा नगरपालिको मेयर वा वडाध्यक्ष जित्न मात्र १० करोड खर्च भएको भनेर सुनिन्छ ।
एउटा पद जित्न मात्र १० करोड खर्च भएपछि यिनीहरुले त यसको साँवा र ब्याज ५ वर्षको कार्यकालमा जसरी भएपनि वा भ्रष्टाचार गरेर भएपनि उठाउने गर्छन् नि त । साथै अहिले पार्टीबाट चुनाव लड्न वा टिकट पाउन पनि ३ करोडदेखि १० करोडसम्म खर्च गरिरहेको भनेर सुनिन्छ । यसले गर्दा पैसा नहुने मानिसहरु चुनाव लड्नबाटै वञ्चित भएका छन् । यत्रो पैसा पार्टीलाई दिएर टिकट लिनेहरुमा सबै दलाली, व्यापारी वा गुण्डाहरु रहेका छन् ।
टिकट त यिनीहरुले पैसाकै आडमा लिए तर चुनाव पनि यिनीहरु पैसाकै आडमा जित्छन् । यसरी टिकट लिँदा र चुनाव जित्दा गरेको खर्च यिनीहरुले पछि सामानको मूल्य बढाएर जनतासँग नै उठाउँछन् । अबदेखि पैसा नहुने मानिसहरु राजनीतिमा नलागेपनि हुन्छ र पैसा हुने मानिसले आज राजनीतिक पार्टीको झोला बोकेर भोलि चुनाव लड्न टिकट समेत पाउने गर्छन् । राजनीतिमा नै यस्तो व्यापार भइपछि अब के हुन्छ त । राजनीतिक दलहरु जहिलेपनि आफन्त, गुण्डा र व्यापारीहरुलाई पैसाकै आडमा टिकट दिन्छन् । राजनीतिक दलहरुले देश र जनताको हितमा काम गर्नुभन्दा पनि देश र जनतालाई नै खोत्रो बनाए । तर अझैपनि यी नेताहरु देश र जनताको हितमा काम गर्छुभन्दै जनताको घरघरमा भोट माग्न पुगिरहेका छन् ।
अहिले राजनितिक पार्टीमा टिकट पाउनेहरु कुनै गुण्डा छन्, कुनै कलाकार त कुनै व्यापारी । अब यिनीहरुले देश नै बेचेर खान्छन् । किनभन्दा यिनीहरुलाई न त देशको नै माया छ न जनताको । जनताहरुले पनि अब यस्ता व्यक्तिहरुलाई पैसा लिएर भोट दिनुभन्दा पनि यिनीहरुसँग पैसा लिने तर भोट नदिने गर्नुपर्छ ।
साथै अब जनताहरुमा पनि चेतना आउनुपर्छ र राजनितिक दलहरुले हामीलाई प्रयोग मात्र गरिरहेका छन् भनेर बुझ्रनुपर्छ । जनताले पनि आफ्नो मत विचार गरेर मात्र दिनुपर्छ , किनभन्दा आफ्नो एक मतले नराम्रो मानिसपनि सत्तामा पुग्न सक्छ र राम्रो मानिसपनि गुम्न सक्छ । चुनाव आउँदा नेता पनि जनताको घरमा दौडधुप गर्ने गर्छ तर चुनाव सिधिएपछि जनतालाई हेर्दा पनि नहेर्ने गर्छन् ।
यता चुनाव जितेका नेताहरु एनजीओहरुको झोला बोक्छन्, देश विदेश घुम्छन् र व्यापारीहरुसँग पैसा खान्छन् । व्यापारी र सरकारी कर्मचारीहरु आफ्नो फाइदाका लागि नेताहरुलाई चुनाव खर्च दिएर मैदानमा उतार्ने तर हामी जनताहरु तै तीन घण्टाको उकालोओरालो हिडेर घण्टौं लाइनमा बसेर पानीपनि नखाएर भोकभोकै मतदान गर्नुपर्ने । साथै हामीले नै दिएको मतले जितेर नेताले कमाउने र व्यापारी र सरकारी कर्मचारीले फाइदा उठाउने । भोट भने हाम्रो लिने तर काम भने सरकारी कर्मचारी र व्यापारीको गर्ने । यस्ता नेता तथा राजनीतिक दलहरुको विरोधमा अब जनताहरु पनि सडकमा उत्रिनुपर्छ  । अबपनि नेता वा राजनितिक दलहरु सुध्रिएनन् भने अहिलेको व्यवस्था नै देशमा रहँदैनन् । देशमा महंगी प्रत्येक दिन बढिरहेको छ, व्यापारी घाटा बढिरहेको छ र विदेशी हस्तक्षप सुरु हुन थालिसकेको छ । चुनावपछि देशको अर्थतन्त्र के हुन्छ र देश कुन मोडमा जान्छ भनेर अहिले धेरै जनताहरुले अड्कलबाजी गर्न थालिसकेका छन् । चुनावमा नेता तथा राजनितिक दलहरुले चन्दा लिएको पैसा वा भ्रष्टाचार गरेको पैसा खर्च गर्छन् ।
अहिले नै कति अर्थविद् वा जनताहरु, नेपालको अर्थतन्त्र श्रीलका भइसकेको भनेर बताउँछन्  । बैंकले डिपोजिटको २० प्रतिशत ब्याज भन्दा पनि जनता बैंकमा पैसा राख्दैनन् भने सहकारीले २२ देखि ३६ प्रशितसम्म ब्याज भन्दा पनि पैसा राख्ने कोही छैन । साथै अहिले बैंक, फाइनान्स र सहकारीबाट कर्जा लिएर व्यवसाय गर्ने मानिसहरु पनि महङ्गो ब्याजका कारण आन्दोलन गरिरहेका छन् ।
यता डलरको मूल्य पनि प्रत्येक दिन बढिरहेको छ र नेपाली मुद्रा कमजोर भइरहेको छ भने उता घरजग्गा, गाडी र सेयरमा मन्दी आएको छ । यो क्षेत्रमा लगानी गर्ने मानिसहरुको भगाभाग भइरहेको छ भने वित्तिय संस्था डुबिसकेको छ । हिजो ४ हजारमा किनेको एक कित्ता सेयर आज सय रुपैयाँमा आएको छ , ८० लाख आनामा किनेको जग्गा आज एक लाखमा आएको छ भने २० लाखमा किनेको गाडी आज दुई लाखमा आएको छ ।
बैंक, फाइन्स र सहकारीहरु चुलुम्मै डुबिसकेको छ , दिनहुँ १० ओटा सहकारीहरु भागिरहेका छन् भने बैंकमा पैसा निकाल्नेको लर्को छ । जनताले पनि सरकारलाई कर तिर्न छोडेसकेका छन् भने प्रधानमन्त्रीले पनि सरकारी कर्मचारीलाई तलब खुवाउन विदेशी ऋण लिनुपर्ने अवस्था आएको भनेर बताइसकेका छन् । अहिले त जनता नै कर तिर्न नसक्ने अवस्थामा पुगेका छन् । महंगी वा बरोजगरीका कारण जनता आफ्नो घरको चुलोमा आगो बल्न नसक्ने अवस्थामा पुगेका छन् । दिनमा बिसौँ हजार नेपालीहरु श्रम स्विकृति लिएर नेपालमा रोजगारी नपाएर खाडी मुलुकमा काम गर्न गइरहेका छन् । नेपालको खेतीयोग्य जमिनहरु सबै बाटो र घरमै सिधिँयो । अहिले त खाद्यदेखि लगाउनेसम्म नै हाम्रो देश अरुमा निर्भर रहेको छ र जसले गर्दा अब पैसा हुनेले मात्र खान र लगाउन पाउने छन् ।
शिक्षा र स्वास्थ्य पनि निकै महंगो भइरहेको छ । महंगो शिक्षाका कारण आमाबुबाले बालबच्चालाई पढाउन छोडिसकेका छन् भने रोगीले उपचार गर्न छोडिसकेका छन् । धनी सयको सामान ५ पाँचमा बेचेर झन् धनी भए त गरिब त्यो सामान किन्दाकिन्दै झन् गरिब भए । एक जना धनी वा व्यापारीले सयौँ मानिसलाई ठगीरहेको छ ।
अब जनताले पनि बिस्तारै आन्दोलन सुरु गर्ने छन् र अहिलेको यो व्यवस्था हटाएर नयाँ व्यवस्था ल्याउने छन् । १० वर्षअघि र १० वर्षपछिको महंगीमा आकाश र पताल जतिको नै भिन्नता रहेको पाइन्छ  । अहिले महंगीका कारण जनता बाँच्ने नसक्ने अवस्थामा पुगेका छन् । १५ वर्षअघि एक जोर चप्पल लगाउन नसक्ने नेताले आज काठमाडौंमा ५ ओटा घर बनाए त ५ वर्षअघि मात्र जागिर खाएको सरकारी कर्मचारीले काठामाडौंमा घडेरी किने तर जनता र राष्ट्र भने कंगाल भए । अब देश कुनै अवस्थामा जान्छ भनेर जनता नै अन्योलमा परेका छन् । अब नेपालको अर्थतन्त्र श्रींलका हुन्छ वा बाहिरी देशले नेपालमा हस्तक्षेप गर्छ भनेर जनताहरुको बजारमा बहस चलिसकेको छ ।

प्रकाशित मिति: कार्तिक ४ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend