Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पुलिस र युनाइटेड गोर्खालाई उपाधि

हाम्रो कोशी आवाज
माघ ६ २०७९, शुक्रबार
धरानको पुलिस र युनाइटेड गोर्खालाई उपाधि
धरानः धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले आयोजना गरेको ९ औं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता २०७९ अन्तर्गत छात्रतर्फको उपाधि धरानस्थित नेपाल पुलिस स्कुलले जितेको छ ।
यस्तै, छात्रातर्फको उपाधि आयोजक युनाइटेड गोर्खा एकेडेमीले हात पार्न सफल भएको छ । शुक्रबार भएको फाइनल खेलमा छात्रतर्फ धरानको पुलिस स्कुल र इटहरीको तरहरास्थित ज्ञानदर्पण एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो । यस्तै, छात्रातर्फ धरानको युनाइटेड गोर्खा एकेडेमी बी र हाम्रो बोर्डिङ स्कुल इटहरीबीच प्रतिस्पर्धा भएको थियो । पुलिस स्कुलले ज्ञानदर्पणमाथि २५–१४, २५–१५, २५–१४ को सेटमा जीत निकालेको हो । यस्तै, छात्रातर्फ आयोजक युनाइटेडले हाम्रोलाई २४–२६, २१–२५, २१–१७, २५–१३, १५–१३ सेटले पराजित गरेको हो ।
यस्तै, तेस्रो उपाधिका लागि छात्रतर्फ धरानको युनाइटेड गोर्खा एकेडेमी र इटहरीको नमूना बोर्डिङ स्कुलबीच भएको प्रतिस्पर्धामा २५–१९ २५–१८, २५–१६ को सेटमा जित निकालेको थियो भने छात्रातर्फ तेस्रो उपाधिका लागि सेक्रट हार्ट इ.बो. इटहरी र धरानको आइडियल बोर्डिङबीचको प्रतिस्पर्धामा सेक्रेटहार्टले २५–१६, २५–१८, २५–१५ को सेटमा जीत निकालेको थियो ।
छात्रछात्रा दुवैतर्फका बिजेताले २३ हजार रुपैयाा, मेडल साथै प्रमाणपत्र प्राप्त गरे । यस्तै, उपबिजेता अर्थात् दोस्रो हुनेले १८ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, छात्रछात्रा दुवैतर्फ वेष्ट सर्भिस, वेष्ट डिफेन्स, वेष्ट लिफ्टर, वेष्ट स्पिकर, वेष्ट ब्लकर, वेष्ट प्लेयरलाई १२ सय रुपैयाँ, प्रमाणपत्र र ट्रफी दिइएको थियो । यस्तै, छात्रछात्रा तुवैतर्फ अनुशासित टिमलाई ५ हजार नगद र प्रमाणपत्र साथै उत्कृष्ट टिम प्रशिक्षकलाई १५ सय रुपैयाँ प्रदान गरिएको प्रिन्सिपल पेम्बा शेर्पाले जानकारी दिए ।
बिजेता, उपविजेता र तेस्रो हुने टिमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल भलिबल संघ प्रदेश १ का अध्यक्ष खेम राई, युनाइटेड एकेडेमीका प्रिन्सिपल पेम्बा शेर्पा, एनप्याब्सन धरान नगर कमिटी अध्यक्ष विष्णु प्रधान, पुलिस स्कुलका प्रिन्सिपल डिकेन्द्र रायमाझी, हाम्रो बार्डिङ तेज निरौला, कामना बैंकका शाखा प्रमुख राम साम्पाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद राई, युनाइटेड गोर्खा एकेडेमीका खेल प्रशिक्षक तुलाराम राई, मारुती इम्पोरियम धरानका प्रोप्राइटर ललितकुमार अग्रवाललगायतले पुरस्कार, प्रमाणपत्र र मेडल वितरण गरेका थिए । विधागत पुरस्कार भने स्कुलका शिक्षक, शिक्षिकाहरुले वितरण गरेका थिए ।
युनाइटेड गोर्खा एकेडेमीको स्कुल मैदानमा आयोजित प्रतियोगिता वर्षेनी आयोजना गर्दै आएको प्रिन्सिपल शेर्पाले जानकारी दिए । शुरुमा पहिलो हुने टिमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारबाट शुरुवात गरिएको प्रतियोगिताको राशी पनि वृद्धि गरिँदै लगिएको उनले जानकारी दिए । प्रिन्सिपल शेर्पाले बालबालिकाहरुमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन वर्षेनी यो प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले विशेषतः पढाइका साथै खेलकुद र मानसिक विकासका लागि यस्तो प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले विद्यालयले पुरस्कारमा मात्रै अढाइ लाख रुपैयाँ बढी खर्चिर्दै आएको बताए । आगामी संस्करण अझै सभ्य, भव्य तरिकाले आयोजना गर्ने उनले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि राईले खेल र शिक्षण सिकाई एक अर्काको परिपुरक भएकोले यस्तो प्रतियोगिता आयोजना हुनु सुखद् रहेको बताए ।
यसपटक प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १४ गरी १९ विद्यालयका विद्यार्थीको टिमले सहभागिता जनाएका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

\

प्रकाशित मिति: माघ ६ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend