पछिल्लो समय सहकारी नभागेको वा सहकारीले पैसा फिर्ता नगरेको कुरा थाहा नपाउने कमै मात्र होलान् । तर, सहकारीले बचतकर्तालाई त डुबायो नै तर आफू पनि डुब्यो । बचतकर्ताहरुले विश्वासको भरमा वा साथीभाइको चिनजानको नाताले बुझ्दै नबुझी वा अध्ययन नै नगरी आफूले वर्षौ दुःख गरेर कमाएको पैसा ब्याजको लोभमा परी सहकारीमा राखे । तर त्यँही सहकारीले आज उनीहरुको बिल्लीबाँठ बनायो । सहकारीबाट ऋण खानेहरु मात्र कहाँको मात्र रहदैँन भनेर सुनिन्थ्यो तर अहिले त ऋणी मात्र नभई बचतकर्ता नै घर न घाटको भएका छन् ।
अहिले प्रत्येक दिन सहकारीहरु सर्वसाधारणको रकम लिएर भागिरहेका छन् । झण्डै देशैभरि सञ्चालनमा रहेका आधाभन्दा बढी सहकारी पछिल्लो समय भागिसकेका छन् । त्यस्तै, ९६ लाख सर्वसाधारण जनताले ३५ हजार २ सय ४१ वटा सहकारीमा अर्बौ रकम जम्मा गरे । तर यी सबै पैसा आज डुब्ने अवस्थामा पुगेको छ । सहकारीकै कारण सर्वसाधारणको उठीबास भएको छ । करिब दुई वर्षअघि घरजग्गा वा अन्य सामानहरु बेचेर सर्वसाधारण जनताले बढी ब्याजको प्रलोभनमा सहकारीमा जम्मा गरे । तर, एक वर्ष अघिदेखि कति सहकारी भागिसकेका छन् त कति नभागेकाले पनि पैसा फिर्ता गर्न सकिरहेका छैनन् ।
यता आफूले जीवनभर कमाएको रकम सहकारीले फिर्ता नगरेपछि वा सहकारी नै भागेपछि कति त डिप्रेसनमा गएका छन् भने कतिले आत्महत्या गरेका छन् । सुनिन्छ, अहिले धेरै सहकारीहरुले बचतकर्ताको एक वर्षदेखि साँवाब्याज नै फिर्ता गरेका छैनन् । अहिले पसलैपिच्छे वा घरैपिच्छे व्यक्ति तथा बचतकर्ताहरु कुनै सहकारीले एक लाख खाएर भागेको भन्छन् त कुनैले करोड । पहिलापहिला मिनपावर र कन्सलटेन्सीले विदेश पठाउने नाममा सर्वसाधारणलाई ठगेको सुनिन्छ तर अहिले त जताततै सहकारीकै चर्चा छ । जुनसुकै ठाउँमा पनि अहिले सहकारीले पैसा खाइदियो वा भाग्यो भनेर नै सुनिन्छ । सहकारीले पैसा फिर्ता नगरेपछि कतिको हुन लागेको बिहे पनि रोकियो त कतिको पैसा हुँदाहुँदै पनि सहकारीले पैसा नदिएपछि हुने उपचार पनि रोकियो ।
यता सहकारीले पैसा फिर्ता नगरेपछि कति बचतकर्ताले सहकारी विभाग, प्रहरी चौकी, गाउँपालिका, वडा कार्यालय, नगरपालिकालगायत अन्य ठाउँमा सहकारीविरुद्ध उजुरी गरेका छन् । त्यस्तै, सहकारीमा काम गर्ने कर्मचारीहरु पनि सहकारीले सर्वसाधारणको रकम फिर्ता गर्न नसकेपछि कोही जागिर छोडिरहेका छन् त कोही आफू बसेको ठाउँ । पहिलापहिला सहकारीको ड्रेस र मुखमा मास्क नलगाई हिँड्ने सहकारीका कर्मचारीहरु अहिले बचतकर्ता देख्नेबित्तिकै भाग्छन् । तर, यिनीहरुले पनि एक वर्षदेखि तलब नपाएको सुनिन्छ । यति मात्र नभई सहकारी सञ्चालन गर्न आफ्नो घर भाडामा दिने घरधनीले समेत भाडा नपाएको गुनासो गर्छन् । सहकारीलाई घर त भाडामा दिइयो तर अहिले सहकारीले पैसा फिर्ता नगरेपछि प्रहरीसम्मै आउन थालेपछि घरधनीहरुले भाडा नै माया मारेर आफ्नो घरबाट धपाइरहेका छन् ।
सहकारी सञ्चालन गर्ने भन्यो भने अहिले कुनै घरधनीले आफ्नो घर भाडामा लगाउँदैन । यता बजारमा आउने सहकारीका कर्मचारीहरु अहिलेपनि पैसा त उठाउन आउँछन् तर रकम माग्नेबित्तिकै बेपत्ता हुन्छन् र सहकारीमा जाँदा अहिले पैसा छैन भनेर नवाफ आउँछ । व्यापारीदेखि सर्वसाधारण जनताले सहकारीमा पैसा राख्न छोडिसकेका छन् र ९५ प्रतिशत बचतकर्ताले आफ्नो भएको खाता पनि बन्द गरिसके । सहकारीमा पैसा निकाल्नेको त लाम छ तर राख्ने कोही छैन । कतिबजार प्रतिनिधिले त सहकारीले लामोवधिदेखि तलब नदिएपछि बजारबाट उठाएको रकम घरतिर लैजान्छन् । त्यस्तै, कति सहकारीले त पासबुक चेकजाँच गर्नुपर्छ वा ब्याज चढाउनुपर्छ भनेर बचतकर्ताबाट पासबुक लिए र कार्यालयमा गएर खाल्टोमा पुर्नेदेखि जलाउनेसम्म गरे ।
पछिल्लो समय धेरै सहकारीहरुले आफ्नो प्रमाण मेटाउनका लागि बचतकर्ताबाट पासबुक संकलन गरेर जलाउने गरिरहेका छन् । अहिले धेरै सहकारीमा पैसा निकाल्नेको भिड छ तर सहकारीसँगै बैंकमा पनि डिपोजिटकर्ताहरु पैसा निकाल्न लाम लागिरहेका छन् । यसरी जनताको विश्वास गुमाएर वित्तीय संस्थाहरु टाट पल्टिँदा आज देशकै अर्थतन्त्र नाजुक अवस्थामा पुगेको छ । यता वित्तीय संस्थामा पैसा राख्नेहरुलाई आफ्नो पैसा फिर्ता नपाएर चिन्ता छ त पैसा नराख्नेलाई देशको अर्थतन्त्र के हुन्छ ? भनेर पीर छ । मानिसहरुले ब्याज खान त पैसा राखे तर अहिले ब्याज त के साँवा नै फिर्ता नआउने अवस्थामा पुगेको छ ।
दुई वर्षदेखि वित्तीय संस्थामा घरजग्गा, गाडी र सेयर धितो राखेर कर्जा लिएकाहरुले पनि वित्तिय संस्थालाई न साँवा तिर्न सकेका छन् न ब्याज । यसरी ऋण तिर्न नसकेपछि कतिहरुले धमाधम आत्महत्या गरेका छन् त कति भागिरहेका छन् । यता आन्दोलन गर्नेहरुको छुट्टै संख्या छ । वित्तीय संस्था डुबेको कुरा अहिले कसलाई चाहिँ थाहा छैनन होला र । तीन वर्षअघि आनाको ६० लाख मूल्य बराबर पर्ने जग्गा अहिले पैसाको खाँचो परेर आधा मूल्यमा बेच्छुभन्दा पनि बिक्दैँन । त्यस्तै, एक किस्ताको ३२ सय हालेर किनेको सेयर अहिले बेच्दा १८ सयसमेत आउँदैन भने २० लाख हालेर किनेको सवारी अहिले ५ लाखमा पनि बिक्दैँन । तर, वित्तीय संस्थाको सबै लगानी यीनै क्षेत्रमा छ । अहिले वित्तीय संस्थाबाट ऋणीले लिएको साँवाब्याज दुवै बढ्यो तर धितोको मूल्य घट्नसमेत घट्यो । ६० लाखको जग्गामा वित्तिय संस्थाहरुले ३५ देखि ४० लाखसम्म लगानी गरे । तर अहिले त्यो ३५ लाखको साँवाब्याज नतिर्दा ५० लाख पुग्यो तर धितोको मूल्य १५ देखि २० लाखमा आयो ।
त्यस्तै, ३२ सयको सेयर धितो राखेर २५ सयसम्म कर्जा लिइयो तर २५ सयको साँवाब्याज नतिर्दा ३ हजार पुग्यो तर सेयरको मूल्य १८ सयमा झप्यो । यता २० रुपैयाँ किलोमा बिक्री नहुने फलामलाई भारतले गाडी बनाएर नेपाललाई लाखौँ रुपैयाँ किलोमा बेच्यो । गाडी बेच्ने शोरुमहरुले पनि गाडीको मूल्य आफैँले राखेर २० लाखमा गाडी बेचे। जसमा ४ लाख उपभोक्तासँग लिए त १६ लाख वित्तिय संस्थाबाट कर्जा मिलाइदिए । तर त्यो १६ लाखको कर्जा नतिर्दा २० लाख पुग्यो र २० लाखको गाडी बिक्री नहुने अवस्थामा पुग्यो । बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर दलालीहरुले ३२ सयमा सर्वसाधारणलाई बेचे ।
यता सरकारले आनाको एक लाख तोकेको जग्गा दलालीले आनाकै ६० लाखमा बेचे । जसले गर्दा अहिले सर्वसाधारण जनता र वित्तिय संस्था दुवै चुलुम्मै भए । दुई वर्षअघि तीन करोडमा बिक्री हुने घर अहिले आधा मूल्यमा बेच्छुभन्दा कोही किन्ने भेटिदैँन । अहिले घरजग्गा किनबेच ठप्प छ । बेच्ने त यतिकै छन् तर किन्ने तै ? घरजग्गा, गाडी र सेयरमा लगानी गर्नेका वित्तिय संस्थाहरु पछिल्लो समय डुबिसकेका छन् । जसले गर्दा कति त भागिसकेका छन् त कति भाग्न ठिक परेर बसेका छन् । बैंकमा आफुले राखेको पैसा लिन गएमा १० हजारसमेत दिन गाह्रो मानिन्छ । झन् सहकारीले त एक कौडी दिदैँन ।
सहकारीमाथिबाट सर्वसाधारण जनताको विश्वास उठ्न थाल्यो र कति सहकारीका सञ्चालकहरुले घुस खाएर कर्जा लगानी गर्दा वा कति सहकारीका सञ्चालकहरुले आफैँले जग्गामा लगानी गरेर प्लानिङ गर्दा उनीहरु डुब्ने अवस्थामा पुगे । पछिल्लो समय कमै वित्तिय संस्था मात्र अलिअलि डुब्नबाट जोगिएका छन् नभए अहिले सबै सहकारी डुबिसकेको वा भागिसकेको सुनिन्छ ।
सहकारीले ४८ प्रतिशत र बैंक १८ प्रतिशतसम्म ब्याज दिन्छुभन्दा पनि बचतकर्ताले रकम राख्न छोडिसकेका छन् । ९५ प्रतिशत ऋणहरुको घरजग्गा, गाडी र सेयर वित्तिय संस्थाको नाममा रोक्का छ । तर यी क्षेत्रको किनबेचमा अहिले पूरै मन्दी छाएको छ । साथै, वित्तिय संस्थाबाट ऋण लिनेहरुमध्ये कतिले त ऋण तिर्न सक्दिँन भनेर भनिसकेका छन् त कति डरले भागि वा आत्महत्या गरिरहेका छन् ।
आफ्नो पैसा वित्तीय संस्थाबाट निकालेर धेरैजसो घरघरमा लुकाइसकेका छन् । त्यसैले, अब सरकारले लुकाएको पैसा बाहिर ल्याउन पहल गर्नुका साथै पाँचसय र हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्छ । तीन दशकअगाडि रोपनीको एक लाखमा बिक्री नहुने जग्गा करिब दुई वर्षअघिसम्म आनाकै करोडसम्ममा बेचियो । जसले गर्दा करोडमा किन्ने र त्यस्ता जग्गा धितो राखेर ऋण दिने दुवै चुलुम्मै भए । घरजग्गा, गाडी र सेयर दलालीहरुले आफू कमाउनका लागि वित्तिय संस्थालाई समेत डुबाए । वित्तीय संस्था त डुबाए नै तर सर्वसाधारणको समेत बिल्लीबाँठ बनाए । अब नेपालको अर्थतन्त्र श्रींलका हुन धेरै बेर छैन । विदेश ऋण तिर्न नसक्ने अवस्थामा सरकार पुगेको छ जसले गर्दा अब सरकारी कर्मचारी र ज्येष्ठ नागरिकले तलबभत्ता, पेन्सन कहाँबाट खान्छन् ?
रुषा अहिले पत्रकारिता विषय अध्ययनरत छिन् ।