विराटनगर : विराटनगरमा लहरीको ठक्करबाट सुरक्षा गार्डको मृत्यु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय इटहरीका अनुसार विराटनगर १८ स्थित भन्सार कार्यालय (आईसिपी) छेउमा शनिबार राति लहरीको ठक्करबाट स्कुटरमा सवार सुरक्षा गार्डको मृत्यु भएको हो ।
शनिबार साँझ सवा ६ बजे मे १० प ९१६१ नम्बरको स्कुटीलाई भारतीय नम्बर प्लेटको एनएल ०२ जी ८९५२ नम्बरको लहरीले ठक्कर दिएको थियो । ठक्करबाट मृत्यु हुनेमा झापा मेची नगरपालिका-१३ घर भएका ४५ वर्षीय राजन गिरी रहेका छन् ।
उनी आईसिपीमा सुरक्षा गार्डको रूपमा कार्यरत छन् । इटहरी-९ मा रहेको सुदर्शन सेक्युरिटी सर्भिस प्रालिमार्फत उनी त्यहाँ कार्यरत थिए । ड्युटी सकेपछि बैङ्कमा पैसा झिक्न कुटर लिएर गएका थिए । भारतीय नम्बर प्लेटको गाडीले ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । ठक्कर दिने चालक फरार छन् । फरार चालकको खोजी कार्य प्रहरीले तीव्र बनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।