विराटनगरः विराटनगरमा २ अर्ब ४२ करोड रकम खर्चेर हालसम्मकै ठूलो क्षेत्रीय विमानस्थल बन्ने भएको छ ।
सोमबार नयाँ टर्मिनल भवन निर्माणको शिलान्यास भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किराँतीले नयाँ बन्ने टर्मिनल भवनको शिलान्यास गरेका छन् ।
क्षेत्रीय विमानस्थलको कन्सेप्ट तयार पारी नयाँ टर्मिनल भवनको निर्माण शिलान्यास भएको हो । विराटनगर विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल भवन काठमाडौँ बाहिरको पोखरा र भैरहवा विमानस्थलको भन्दा ठूलो हुने नागरिक उड्डयन प्राधिकरणका विराटनगर प्रमुख रेन्जी शेर्पाले जानकारी दिए । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार वर्ग मिटरको छ भने गौतमबुद्ध अन्तराष्ट्रिष् विमानस्थल भैरहवाको टर्मिनल भवन १५ हजार वर्ग मिटरको छ ।
प्राधिकरणका अनुसार, ‘प्रदेश सरकार, विराटनगर महानगरपालिका समेतको साझेदारीमा विराटनगर विमानस्थलमा ए ३२० वा सो सरहको जहाज सञ्चालन हुन सक्ने गरी २५ सय मिटर लामो धावनमार्ग तयार गर्ने गुरुयोजना छ ।
यस आयोजनाअन्तर्गत ‘पिक आवर ट्राफिक’मा पनि १ हजार ८ सय यात्रुलाई सेवा दिन सक्ने गरी टर्मिन भवन डिजाइन गरिएको छ । हालको निर्माणअन्तर्गत टर्मिनल भवन, पार्किङ, एक्सेस रोड, पहुँच सडक, ल्यान्डस्केनिङ आदि निर्माणको हुने छ ।
विमानस्थलको टर्मिनल भवन तीन वर्षभित्र निर्माण सक्नेगरी केसी–डाफे जेभीले ठेक्का लिएको छ । नयाँ भवन बनेपछि पुरानो भवन भत्काइनेछ ।