Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघाद्वारा प्रदेश १ स्तरीय बास्केटबलको उपाधि कब्जा

हाम्रो कोशी आवाज
फाल्गुन १० २०७९, बुधबार
धरान मेघाद्वारा प्रदेश १ स्तरीय बास्केटबलको उपाधि कब्जा

बास्केटबलले धरानलाई चिनायोः मेयर साम्पाङ

धरानः धरानमा भएको प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधि धरान मेघा हिमालयन कलेजले कब्जा जमाएको छ ।
धरान बास्केटबल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा भइरहेको प्रतियोगिताको धरान उपमहानगरपालिका प्रमुख मेयर हर्कराज साम्पाङ राई प्रमुख अतिथि थिए । कार्यक्रममा बोल्दै मेयर साम्पाङले धरान शिक्षा, स्वास्थ्य र खेलकुदमा कहलिएको सहर भएको बताउँदै बास्केटबल खेलले धरानलाई चिनाउन सहयोग गरेको बताए । उनले नेपालमै पहिलोपटक धरानदेखि बास्केटबल खेल्न थालेको जानकारी पाएको समेत बतँए ।
प्रतियोगिताको फाइनल खेलमा छात्रातर्फ सियोन स्कुललाई २९–११ र छात्रातर्फ राष्ट्रिय जनसहयोग कलेज इटहरीलाई ४२–३९ अंकले पराजित गर्दै धरान मेघाले उपाधिमाथि कब्जा जमाएको हो ।
धरान मेघाले उपाधिसँगै छात्रतर्फ नगद ३० हजार र छात्रातर्फ २० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी छात्रतर्फका उपबिजेता राष्ट्रिय जनसहयोग कलेजले नगद २० हजार, छात्रातर्फको उपबिजेता सियोन स्कुलले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल बनेको छ । उनीहरुलाइ कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, अल्फा बिटा कोयला एजुकेसनका अध्यक्ष लोकेन्द्र श्रेष्ठ , म्यानेजिङ डाइरेक्टर सञ्जीव बान्तवा राई, बास्केटबल संघका कोषाध्यक्ष गौरव श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
फाइनल खेलमा छात्रातर्फ सहज जीत निकालेका धरान मेघा र सियोन स्कुलले प्रत्येक क्वाटरमा ३–१, ६–४, ८–० र १२–६ अंक जोडेका थिए । पुरुषतर्फ अत्यन्त प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा धरान मेघा हिमालयन र राष्ट्रिय जनसहयोगले १३–१२, १३–७, ७–१४ र ९–६ अंक जोडेका थिए । फाइनल खेलमा धरान मेघाका सितल तामाङले १० र धरान मेघाका युवाहाङ राइले १९ अंक जोडे । प्रतियोगिताको फाइनल खेल प्रमुख अतिथी मेयर हर्कराज साम्पाङ राईले बास्केटबल सट गरेर गरेका थिए । उनले एकै सटमा बास्केटबल रिङमा बास्केट गरे पछि फाइनल खेल प्राविधिकहरुले शुरु गरेको थियो ।
दिदी भाइले जिते एमभिपी पुरस्कार
प्रतियोगिताको उत्कृष्ट खेलाडी उपाधि मोस्ट भ्यालुएबल पुरस्कारको उपाधी दिदीभाइले जितेका छन् । धरान मेघा कलेजको १२ कक्षामा अध्यनरत योगेश राई र ब्याचलर पहिलो वर्षमा अध्ययनरत तनु राइले उपाधी जितेका हुन् ।
उनीहरुले उपाधिसँगै नगद २ हजार ५ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उनीहरु दुवैजना धरान बास्केटबल संघ सुनसरी बास्केटबल संघको सिफारिसमा छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । यसैगरी प्रतियोगिताको हाइ स्कोरर उपाधि छात्रातर्फ धरान मेघा कलेजका सितल तामानग घोषित भए । उनले तीन म्याचमा ब्यक्तिगत २५ अङ्क जोडेका थिए । छात्रतर्फ राष्ट्रिय सनसहयोग कलेजका अस्मिल राई घोषित भए । उनले ४ म्याचमा ४२ अङ्क जोडेका थिए । उनीहरुले नगद २ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको उदयीमान खेलाडी धरान मेघाका सविन राई र सियोन स्कुलका सेरिना लिम्बू घोषित भइन् । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रकाश पौडेल ३ पोइन्ट कम्पिटिसन
प्रतियोगिताको फाइनल खेलअघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन सम्पन्न भएको थियो । प्रकाश पौडेल ३ पोइन्ट कम्पिटिसनको उपाधि छात्रतर्फ धरान सिटी कलेजका हेमराज लिम्बू र धरान मेघाका तनु राइले जिते । हेमराजले तीस सेकेन्डमा ४ र तनुले ३ बास्केट गरेका थिए । उनीहरुले जनही नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । ३ पोइन्ट कम्पिटिसनको प्रायोजक चर्चित कलाकार एवं धरानको पुर्व बास्केटबल खेलाडी प्रकाश पौडेलले गरेका हुन् । प्रतियोगिताको पहिलो संस्करणमा समेत पौडेलले नै प्रायोजक गरेका थिए ।
सुनसरी बास्केटबल संघको प्राबिधिक सहयोग तथा अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजनमा धरान रंगशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा धरान १८ वडाध्यक्षा प्रविन राई, १० न. वडाध्यक्ष विवेक राई, १६ न. वडाध्यक्ष मुरारी भट्टराई, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ, धरान फुटबल क्लबका अध्यक्ष किशोर राई लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: फाल्गुन १० २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend