धरान: सगरमाथाको प्रथम महिला आरोही पासाङल्हामु शेर्पाका श्रीमान् एवम् यती एयरलाइन्सका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोण गरेका छन् । शेर्पाले बुधबार बिहान ७ बजेर ३४ मिनेटमा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् ।
सोनम ५ जनाको टिम लिएर गत अप्रिल १७ मा काठमाडौँबाट सगरमाथाको लागि प्रस्थान गरेका थिए । उनको टिममा जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनी रहेका छन् । मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उनीहरुले हिजो साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गरेका थिए ।
सगरमाथाको आरोहणसँगै लाक्पा सोनाम शेर्पाले विश्वका सात महादेशका सबै अग्ला हिमालको सफल आरोहण पूरा गरेका छन् । ६३ वर्षीय शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ पाङ्गोममा जन्मेका हुन् । ५० वर्षदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न शेर्पाले हजारौं आरोहीलाई नेपालका विभिन्न हिमाल आरोहण गराएका छन् । थमसेर्कु ट्रेकिङका संस्थापक, यती एयरलाइन्सका कार्यकारी अध्यक्षसमेत रहेका उनी होटल तथा जलविद्युतजस्ता व्यवसायमा संलग्न छन् ।