Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइई मौका परीक्षा साउन २३ देखि हुने, सबै ‘अनुत्तीर्ण’लाई मौका परीक्षाको अवसर

हाम्रो कोशी आवाज
असार १७ २०८१, आइतबार
एसइई मौका परीक्षा साउन २३ देखि हुने, सबै ‘अनुत्तीर्ण’लाई मौका परीक्षाको अवसर

धरानः एसइई मौका परीक्षा आगामी साउन २३ देखि सञ्चालन गर्ने निर्णय गरिएको छ ।
आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको हो । परीक्षा तालिका भोलिमात्र सार्वजनिक हुनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशव दाहालले परीक्षा साउन ३१ गतेसम्म सञ्चालन हुने जानकारी दिए । गत बिहीबार २०८० सालको एसइईको नतिजा सार्वजनिक भएको थियो । लेटर ग्रेडिङ निर्देशिकाले बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेकाले मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । तर मन्त्रालयले आइतबार नै निर्देशिका संशोधन गरी जतिसुकै विषयमा एनजी भए पनि मौका परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरेपछि त्यस्ता सबै विद्यार्थीका लागि बाटो खुला भएको छ ।
२०८० सालको एसइईमा जतिसुकै विषयमा ननग्रेडेड प्राप्त गरेको भए पनि एक पटकका लागि मौका परीक्षामा सबै विद्यार्थीलाई सम्मिलित हुन दिने शिक्षामन्त्रीस्तरीय निर्णय भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दाहालले एक पटकका लागि मात्र जतिसुकै विषयमा एनजी आए पनि मौका परीक्षामा सम्मिलित हुन दिने व्यवस्था गर्न लागिएको जानकारी दिए ।
यसैगरी मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्डलाई एनजी उल्लेख भएका सबै विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था गरिदिन निर्देशन दिएकी छिन् । लेटर ग्रेडिङ निर्देशिकाअनुसार एनजी प्राप्त गरेका विद्यार्थीले तीन पटकसम्म परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ । मौका परीक्षामा पनि एनजी प्राप्त गरेका विद्यार्थीले आगामी वर्ष जेजति विषयमा एनजी प्राप्त गरेको हो सोही विषयमात्र दिए पुग्छ ।

प्रकाशित मिति: असार १७ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend