Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तिहारको चौथो दिनः आज गाई, गोरु, गोवर्द्धन र हली पूजा गरी मनाइँदै

हाम्रो कोशी आवाज
कार्तिक १७ २०८१, शनिबार
तिहारको चौथो दिनः आज गाई, गोरु, गोवर्द्धन र हली पूजा गरी मनाइँदै

धरानः कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरुको पूजा गरी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। तिथि घटबढका कारण आज गाई पूजा पनि परेको हो।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
यसैगरी वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ।
गोवर्द्धन पूजा
आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदा/सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
बडा दसैंको १५ दिनपछि सुरु हुने तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। तिहारका पाँच दिन क्रमशः काग, कुकुर, गाई (लक्ष्मी), गोरु (गोवद्र्धन) र अन्तिम दिन कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा भाइटीका लगाएर मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । पाँच दिन मनाइने काग, कुकुर, गाई (लक्ष्मीपूजा), गोरु (गोवर्द्धनपूजा) र भाइटीकाबारे हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजाआजा गर्ने र सप्तरंगी टीकाका साथै कहिल्यै नओइलिने मखमली फूलको माला लगाइदिने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने गरिन्छ। हिन्दू धर्मशास्त्रअनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई पाँच दिनसम्म बिताएकाले तिहारलाई यमपञ्चक भनिएको हो।
शास्त्रअनुसार बहिनीको घरमा रहँदाबस्दा उनको सत्कारबाट प्रसन्न भई यमराजले बहिनी यमुनालाई वर माग भनेका थिए। यमुनाले हरेक वर्ष आजकै दिन भेट्न आउनुपर्ने, दिदीभाइ र दाजुबहिनीको प्रेम र सद्भाव सदा अटल रहनुपर्ने साथै दाजुभाइको आयु, कीर्ति सदा उच्च हुनुपर्ने वरदान मागेकी थिइन्। यमराजले तथास्तु भन्दै मन, वचन र कर्मले शुद्ध चित्त बनाएर भ्रातृपूजा गर्ने र गराउनेको सदा उन्नति हुनेजस्ता वर दिएका थिए।

प्रकाशित मिति: कार्तिक १७ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend