धरानः भेडेटारबाट धरानतर्फ गाँजा ल्याउँदै गर्दा प्रहरीले हवाई फायर गरी गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–९ स्थितबाट प्रहरीले गोली फायर गरी लागूऔषध गाँजा बोकेको मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
चाँदी बजारबाट धरानतर्फ गाँजा लैजाँदै गरेका व्यक्तिहरूले चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएका टोलीमाथि आक्रमणको प्रयास गरेपछि हवाई फायरिङ गर्नुपरेको प्रहरीको भनाइ छ । ‘प्रहरीसँग जम्का भेट भयो’, डिएसपी खनालले भने, ‘उनीहरूले प्रहरी टोलीमाथि नै हातपात तथा ढुंगामुडा प्रहार गरेपश्चात प्रहरीले एसएलआर राइफलबाट एक राउण्ड हवाई फायर गरी उनीहरूलाई पक्राउ गर्न सफल भयौं ।’
लागूऔषध गाँजा बिक्री–वितरण तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी–९ स्थित कच्ची सडक खण्डमा चेकजाँचको क्रममा एक साथ आउँदै गरेको ५ वटा मोटरसाइकल रोकेको थियो । त्यतिबेला नै उनीहरूले हातपात तथा ढुंगामुढाको प्रहार गर्न थालेको प्रहरीले जनाएको छ ।
गाँजा ओसारपसारमा संलग्न रहेका ६ जनालाई उनीहरुले मोटरसाइकलमा बोकेको १२० किलोग्राम गाँजासहित ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा धनकुटा सहिदभूमी गाउँपालिका–१ का ३४ वर्षीय नकुल राई, २१ वर्षीय ओमप्रकाश राई, साँगुरीगढी–८ का २८ वर्षीय मंगलकुमार राई, २९ वर्षीय विसन राई, २६ वर्षीय थामवहादुर राई, २१ बर्षीय सुमन राई रहेका छन् । उनीहरुले प्रयोग गरेको को३८प ३५२२, प्रदेश १–०२–०५३ प ९६६३, प्रदेश १–०२–०५३ प ८६१७, प्रदेश १–०२–०४३ प ९५९६ र को१४प ७७५० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लागूऔषध गाँजासहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

